-जगन कार्की
प्रणय दिवस प्रेमका रंगहरुसँगै प्रेममय तरङ्ग बनि
सामाजिक संजालका भित्ताहरुमा छचल्किएर,
प्रेमका बाछिटाले प्रेममय हृदयहरु मलिन बन्ने सुन्दर प्रहर
कुरेर बसेका वैश्य युगका गुलाब ब्यापारीहरुको
बजार प्रवर्द्धनको महोत्सव जस्तो प्रणय दिवस,
त्यहि देखावटी बजारका उपभोक्ता एकथरी,
खोक्रो रंग पोतिएको उपहार किनी
मनभित्र रिस, राग,घृणा र डाहको पोको बोकेर
ठुलो स्वरमा प्रणय दिवसको शुभकामना भन्दै
पवित्र प्रेमको देखावटी नाटक उपाहस गरे झैँ लाग्ने ।
अर्काथरी अर्ति उपदेश अनि प्रेमको परिभाषा सिकाउदै,
अरुको निन्दा र आलोचना गर्नेहरु,
प्रेमको देखावटी व्यापार चलाउनेहरु देखि
प्रेमलाइ स्वार्थको संकीर्ण घेरामा कैदगरेर
घृणाको छुरा चलाउनेहरु,
स्वार्थ संकुचित विलासी विचारहरुसंगै
हृदयको बिर्को बन्द भई
प्रेमको परिभाषा नै भुली सडकमा अल्मलिएर
प्रेमको डाहा गर्दै छटपटीएका दुखी आत्माहरु झैँ लाग्ने ।
प्रविधिको वेगसँगै भौतिक सुखको प्रेममा फसेको मानिसलाई
भावना र व्यवहारको प्रेम फिक्का लाग्न थालेर हो कि ?
वार्षिक रुपमा स्मरण गर्ने दिवस जस्तो,
प्रेमको दिवस एकदिन धुमधाम मनाइनु बिडम्बना झैँ लाग्ने ।
प्रेम न गरेर गरिन्छ, न भनेर हुने गर्छ
निस्वार्थ हृदयबाट हुने चिज हो माया,
हुर्काउने, फक्र्उने फलाउने दैनिक अभ्यास हो माया,
स्त्री र पुरुषबीच हुने मात्र हैन प्रेम,
पक्कै ! जीवन जगतलाइ माया गर्ने जीवत आत्माहरुको
दैनिक जिउने अधार हुनु पर्छ प्रेम !
गीतरुपी जीवनको सुमुधुर संगीत हुनु पर्छ प्रेम,
यस गीतको धुन जगाई जीवन लिनेदिने प्रेमीहरुबीच
प्रेमको स्वार्थ नै प्रेम बनेर,
भनिने, लेखिने र देखिने मात्र भन्दा
ब्यबहार र भावनामा पोखिदै,
सदा प्रेममय दैनिकी बन्नुपर्छ प्रेमीहरुको प्रेम |
जय निश्चल, निर्मल, अविरल, बिमल प्रेम !
लन्डन