ad

नेपाल आउन गैरआवासीय नेपालीलाई सहज, विदेशी पर्यटकलाई भने पुरानै व्यवस्था

ग्लोबल नेप्लिज संवाददाता
मङ्गलबार, माघ २० २०७७
image

काठमाडौं : सरकारले गैरआवासीय नेपालीहरुलाई नेपाल आउन सहज बनाइदिएको छ । यसअघि नेपाल आउन सशर्त प्रावधान राखेको सरकारले अब भने त्रिभुवन विमानस्थलमा नै बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ ।

यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेकोमा अब भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै अनअराइभल भिसा दिइने छ । अध्यागमन विभागले नयाँ सूचना जारी गर्दै गैरआवासीय नेपालीहरुको हकमा यसअघिको व्यवस्था हटाइएको जनाएको छ ।

विभागका महानिर्देशक रमेशकुमार केसीले गैरआवासीय नेपालीसँगै कूटनीतिक नियोगका कर्मचारीहरु, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि यो सुविधा दिइएको छ । नयाँ व्यवस्थाबाट नेपाली मूलका विदेशी नागरिकहरु तथा नेपालमा आफन्त वा नातेदार भएकाहरुलाई सुविधा पुग्ने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने कुनै प्रतिबन्ध छैन । स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाल आउन सक्छन् ।

‘पछिल्लो व्यवस्थाबाट गैरआवासीय नेपालीहरु र नेपालमा कार्यरत यूएन र आइएनजिओका कर्मचारीलाई सुविधा पुग्नेछ’ महानिर्देशक केसीले ग्लोबल नेप्लिजसँग भने, 'तर, यी बाहेकलाई भने यो सुविधा हुने छैन ।'

उनका अनुसार नेपालका कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि विदेशमा रहेका आफ्ना प्रतिनिधि तथा सहयोगीहरुलाई नेपाल बोलाउन सक्नेछन् । तर, त्यसका लागि सम्बन्धित विभागीय मन्त्रालयको सिफारिस अनिवार्य हुने छ ।

पर्यटकलाई विदेशबाटै भिसा

नेपाल आउन चाहने विदेशी पर्यटकहरुले भने विदेशस्थित नेपाली नियोगबाट नै भिसा लिनुपर्ने छ । भिसा लिएर आएमा मात्र उनीहरुलाई नेपाल प्रवेश दिइने महानिर्देशक केसीले जानकारी दिए ।

उनका अनुसार, नेपाली नियोग नभएका देशका नागरिकहरुले भने नेपाल आउनुपर्नाको कारण खुल्ने गरी सम्बन्धित देशको सिफारिस लिएर आउनुपर्ने छ । सिफारिस बाहकलाई मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा अन्य प्रवेश विन्दुमा भिसा उपलब्ध गराइने छ ।

अध्यागमन विभागले प्रवेश अनुमतिमा केही खुकुलो बनाएपनि स्वास्थ्य मापदण्डमा हेरफेर गरेको छैन । नेपाल आउनु अगाडी बढीमा ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ आएको रिपोर्ट र १० दिने क्वारेन्टिन भने अनिवार्य बस्नु पर्नेछ ।

विदेश जाने नेपालीलाई पनि राहत

नेपालबाट कुनै औपचारिक कार्यक्रममा भाग लिन विदेशमा गई पाँच दिन वा सो भन्दा कम अवधिमा नेपाल र्फकने पदाधिकारीले भने विदेशमा थप कोरोना परीक्षण गर्नु नपर्ने भएको छ ।

नयाँ सूचना अनुसार, उनीहरुलाई नेपालमै गरिएको यसअघिकै परीक्षण मान्य हुने छ । नेपाल फर्किएपछि पनि उनीहरुले क्वारेन्टिनमा बस्नु नपर्ने गरी छूट दिने निर्णय सरकारले गरेको छ ।

कोरोनाको संक्रमणसँगै सरकारले २०७६ चैत ११ मा लकडाउन घोषणा गरेपछि हवाइ वा स्थलमार्गबाट नेपाल आउने वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली, कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत कर्मचारी तथा प्रतिनिधि र विदेशी पर्यटकहरुलाई नेपाल आउन विभिन्न मापदण्ड तोकेको थियो । कोरोना भाइरसविरुद्धको खोप आविश्कार भई दिन थालिएपछि नेपाल सरकारले आफ्नो मापदण्डलाई विस्तारै लचिलो बनाउँदै लगेको छ ।

एक वर्षको आँकडा

पछिल्लो एक वर्षमा स्थल तथा हवाइ मार्गबाट नेपाल भित्रिनेको संस्था ६ लाख ७१ हजार ९ सय ४० छ भने नेपालबाट बाहिरिनेको संख्या ६ लाख ३३ हजार ५५१ रहेको अध्यागमन विभागले जनाएको छ ।

त्यस्तै, सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म जम्मा २ लाख ३० हजार ८५ विदेशी नागरिक नेपाल आएका छन् भने २ लाख ४५ हजार ५५७ जना बाहिरिएका छन् । त्यसैगरी यस बीचमा ४ लाख ९१ हजार ४४८ जना नेपाली स्वदेश फर्किएका छन् भने ३ लाख ८७ हजार ९९४ जना नेपाली नेपालबाट विदेश गएका छन् । 

ad
ad ad