ad

‘नेपाली सेनाले शासन सत्तामा हस्तक्षेप गर्दैन, लोकतान्त्रिक छ’

नारायण अर्याल
शुक्रबार​, माघ ३० २०७७
image

काठमाडौं : नेपालमा राजनीतिक तरलता देखिनासाथ अधिकांशले भन्ने एउटै कुरा छ, अब आर्मीले लिन्छ होला ? 

आर्मीले के लिन्छ त ? सबैले सहजै बुझ्छन्–मुलुकको शासन सत्ता । तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा कदम चाल्नुमा एउटै भरपर्दो शक्ति थियो ‘शाही नेपाली सेना ।’ राजाको कदम लगत्तै सेना सडकमा मात्रै ओर्लिएन, दैनिक प्रशासनिक काममासमेत हस्तक्षेप गर्‍यो ।

त्यतिबेलाको शाही नेपाली सेना नै अहिलेको नेपाली सेना हो । यसबीचमा नेपाली सेनाको ‘राजनीतिक’ चरित्रमा धेरै परिवर्तन आइसकेको छ । सैनिक नेतृत्वमा गरिएको राजनीतिक ‘हस्तक्षेप’ले पनि नेपाली सेनामा खासै असर पारेन । ऊ आफ्नै गतिमा अगाडि बढिरह्यो ।

५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित प्रतिनिधिसभा भंग गरिदिएपछि मुुलुकको राजनीति फेरि तरलता बनेको छ । प्रतिनिधिसभा विघटन सदर वा बदर अबका केही सातामा टुंगो लाग्ने छ । सदर भएमा केही महिना चुनावको प्रतीक्षामा बित्ने छ । बैशाखमा तोकिएको चुनाव सफल भए त मुुलुक फेरि लयमा फर्केला, चुनाव नै नभए शून्यतामा जाने हो कि भन्ने आशंका उत्तिकै छ ।

यस्तै आशंका र संविधानको उल्लंघन भएको दावीका साथ मुुलुक यतिबेला आन्दोलित छ । सत्तारुढ नेकपाको एक समूह बाहेक राजनीतिको ठूलो हिस्सा र नागरिक समाज सडकमा छ । दैनिक जसो धर्ना, जुलुस, प्रदर्शन र विरोधसभाहरु भइरहेका छन् । 

यही अवस्थामा भिन्न भिन्न पक्षहरु सल्बलाएका छन् । एउटा पक्ष ‘राजा आऊ देश बचाऊ’ भनिरहेको छ भने अर्को पक्ष ‘नेपाली सेना नै भरोसा’ भन्न थालेको छ । राजा र सेनालाई उक्साउने पक्ष उस्तै उस्तै छन्, जो यसअघि नै ‘टेस्ट’ भइसकेका हुन् । 

सेनालाई राजनीतिमा आह्वान गर्ने मनशायले सेनाका पूर्व र बहालवाला अधिकारीहरुको ढोका ढोका चाहर्ने क्रम पनि शुरु भइसकेको छ । सेनाले सार्वजनिक रुपमा यस विषयमा कुनै टिप्पणी नगरेपनि बजारमा यत्रतत्र चर्चा चलिरहेको छ । 

हालै पूर्वी एशियाली मुलुक म्यानमार (बर्मा) मा त्यहाँको सेनाले शासन सत्ता हातमा लिएको घटनाले नेपालमा पनि त्यस्तै हुने त होइन भन्ने आशंका उब्जाएको छ । के साँच्चै नेपाली सेना शासन सत्ता हातमा लिन उद्यत  छ त ?

'बर्मासँग चरित्र नै मिल्दैन'

राजनीतिक संक्रमणकालिन अवस्थामा नेपाली सेनाको नेतृत्व गरेका तत्कालिन प्रधानसेनापति रुक्मांगद कटवाल भने यसलाई ठाडै अस्वीकार गर्छन् । 

'नेपाली सेनाको चरित्र कहिल्यै त्यस्तो छैन,' उनको भनाइ छ, 'नेपाली सेना लोकतन्त्रप्रति प्रतिबद्ध छ, यसबाट तलमाथि गर्दैन ।'

No description available.

उनी अहिले सेनाको आधिकारिक अधिकारी होइनन् । तर, राजनीतिक नेतृत्वदेखि सैनिक नेतृत्वसँग नियमित सम्पर्कमा रहने तत्कालिन महारथी कटवाल राजनीतिक रुपमा सेना सक्रिय हुने संभावना नरहेको बताउँछन् ।      

यो वा त्यो बहानामा नेपाली सेनालाई उक्साउने प्रयास भने भइरहेको उनले बताए । खुमलटारस्थित उनकै निवासमा ग्लोबल नेप्लिजसँग भएको कुराकानीमा कटवालले केही व्यक्तिहरु आफ्नो घरमासमेत आएको जानकारी दिए । ती को थिए ? उनले खुलाउन चाहेनन् । 

तर, कसैले उचाल्दैमा नेपाली सेना नउचालिने उनले स्पष्ट पारे । 'नेपाली सेना लोकतन्त्रप्रति प्रतिबद्ध छ,' उनले भने, 'संसारभरको अध्ययन गरेको नेपाली सेनाले लोकतन्त्रमाथि हस्तक्षेप गर्छ भन्ने विश्वास मलाई लाग्दैन ।'

२०६६ कार्तिकमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उनलाई पदबाट हटाउन गरेको निर्णय  तत्कालिन राष्ट्रपति रामवरण यादवले उल्टाइ दिए पछि प्रचण्डले आफ्नो पदबाट राजिनामा दिएका थिए।  

अवकासपछि देशभरको भ्रमण गरिसकेका कटवालले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई आफूले पनि नियालिरहेको जानकारी दिए । 

‘कसैले कानेखुसी गर्दैमा, कोही अनसनमा बस्दैमा वा कसैले जुलुस निकाल्दैमा नेपाली सेनाले सत्तामा हस्तक्षेप गर्छ भन्ने सोच्नु नै गलत रहेको उनको भनाइ छ ।

म्यान्मारमा नि ? 'त्यहाँको परिस्थिति र अभ्यास नै फरक हो, नेपाल र नेपाली सेनासँग तुलना नै गर्न मिल्दैन,' उनले दुबै मुलुकको फरक परिवेश र चरित्रको तुलना गरे ।

'राष्ट्रिय अखण्डता र स्वाधीनतामा समस्या आयो भने सेनाले संविधान अनुसारको आदेश आयो वा आएन भनेर पर्खिदैन, तर, अन्य अवस्थामा नेपाली सेनाले संविधान र ऐनको अक्षरश: सम्मान तथा पालना गरेर अगाडि बढ्छ,' उनले सेना परिचालनको विधि सुनाए ।

५ पुष पछि मुलुकमा बढेको राजनीतिक तरलता र प्रदर्शन संविधानमा नै रहेको कमजोरी हो कि भन्ने देखिएको उनको तर्क छ ।

'संविधानमै कमजोरी'

'परिस्थितिले संविधानमा नै कमजोरी छ भन्ने देखियो,' उनले भने, 'संविधानलाई नेपाल सुहाउँदो बनाउन सकिएन कि भन्ने स्पष्ट भएको छ ।'

पहिले नै संविधान सर्वस्वीकार्य हुन सकेन, संविधान जारी हुँदाको समयको उनले  स्मरण गरे । संविधानको मस्यौदा तयार भए लगत्तै आफूले त्यसबारेमा टिप्पणी गरेको बताउँदै उनले भने, 'हामीले नेपाल र नेपालीको भावनालाई संविधानमा समावेश गर्न सकेनौ र त्यसैको नतिजा अहिले भोग्दै छौं ।' 

कतिपय विषयमा प्रक्रियागत त्रुटि  रहेको उनले औंल्याए । 

'शासकहरु संविधानमा रहेको छिद्र खोज्ने र त्यसैलाई ठूलो बनाउने गर्दछन् । अहिले पनि त्यस्तै भएको छ,' उनको ठम्याइ छ । अहिले पक्ष र विपक्षमा देखिएका राजनीतिक नेतृत्व पटक पटक परीक्षण भइसकेकाले उनीहरुबाट दीर्घकालिन निकास भने संभव नरहेको उनको दावी छ ।

दिनदिनै रत्यौली, दिनदिनै गाईजात्रा

५ पुष  यता समर्थन र विरोधमा सडकमा देखिएको प्रदर्शनलाई कटवालले रत्यौलीको संज्ञा दिएका छन् । 

यस्तो पनि हुन्छ ? उनले प्रश्न गरे, दिन दिनै रत्यौली छ, दिनदिनै गाईजात्रा छ । कस्का विरुद्ध शक्ति प्रदर्शन हो ?

सरकारमा रहने र सरकार छाड्ने दुवै पक्ष शक्ति प्रदर्शनमा उत्रिएको उनलाई चित्त बुझेको छैन ।

‘संसद पुनर्स्थापना वा चुनाव जे भए पनि नेतृत्वमा आउनेहरु यिनै हुन्,’ उनले आक्रोश पोखे, ‘यिनका यस्तै सोंचले मुलुकले निकास पाउँदैन ।‘

मुलुकलाई स्थायी निकास दिन त ‘भिजन’ सहितको नयाँ पुस्ता आउनुपर्छ, नयाँ पुस्ता राजनीतिमा भन्दा विकास निर्माण र जनताको हितमा केन्द्रित हुनुपर्छ, कटवालले नयाँ पुस्ताप्रति आशा व्यक्त गरे ।

आन्तरिक झगडाले बाहिरी चासो 

नेपालमा पछिल्लो समय दुई छिमेकी मुलुकका तर्फबाट देखिएको चलखेललाई उनले घर झगडाको परिणाम भने । ‘हामी नमिलेपछि उनीहरुले ठाउँ पाउने नै भए’, उनले भने ‘हामी एकताबद्ध भयौं भने विदेशी चलखेल बढ्यो भनेर भन्नै पर्दैन ।’

नेपालको राजनीतिमा भारतीय चासो हावी हुनुमा भौगोलिक र सांस्कृतिक कारण मुख्य रहेको उनको विश्लेषण छ । पछिल्लो समयमा उत्तरी छिमेकी चीनका तर्फबाट देखिएको चासो ‘कम्युनिष्ट पार्टी’ नामले गर्दा भएको  उनले दावी  गरे । 

अवकासपछि पनि नेपाली राजनीतिलाई नियाली रहेका कटवाल अचेल बेला बेलामा देश दौडाहामा निस्कन्छन् । कतिपयले यसलाई राजनीतिक अभियान भने पनि उनले भने समाजसेवाको नाम दिएका छन् । 

No description available.अवकासपछि पनि सक्रिय रहन उनले ‘रुक्माङ्गद कटवाल ट्रष्ट’ स्थापना गरेका छन् । यही ट्रष्ट मार्फत कटवाल पूर्वदेखि पश्चिमसम्म पुग्ने गर्दछन् । पहिले सैनिक अधिकारी र सेना प्रमुखका रुपमा देश दौडाहा गरेका कटवाललाई यो ट्रष्ट गज्जबको माध्यम बनेको छ । 

'राजनीतिमा आउने मेरो सोंच छैन,' उनले भने, 'समाजसेवाबाटै जनताको दुःख पीडामा सहयोग गर्ने हो ।'

सैनिक जीवनदेखि राजनीति र समाजसेवासम्मको कुराकानीपछि अर्को प्रसंग निस्कियो, राजसंस्थाको पुनरागमन । तर, कटवालले यो संभावनालाई भने नकारे ।

ad
ad ad