अकारण
जवान छात्राको
पीठ थपथप्याइरहेका
ज्ञानी हातहरुले
गरिरहेका हुन्छन बलात्कार !!
सकारण
बजार बाट फर्किंदा
घर नपुगी छिमेकमा पस्ने
चम्किला चकलेटहरुले
गरिरहेका हुन्छन बलात्कार !!
महानतम आदर्श
सुललित सिद्धान्त
र
अग्ला चिप्ला उद्घोषहरुको
विकारमा चिप्लिएर
‘जूनियर स्टाफ’ का
वक्ष-नहरमा गोता लगाइरहने
विद्वान आँखाहरुले
गरिरहेका हुन्छन बलात्कार !!
केशलाई बादल-ओंठलाई बदाम,
आँखालाई मृगनयन-जवानीलाई गंगा,
अनेकन शकुनी-शब्द, विम्ब र प्रतीकहरु !
शरीरका विज्ञापन लेख्ने
‘कर्पोरेट’ कलमहरुले
गरिरहेका हुन्छन बलात्कार !!
आवरणमा मखमलको वस्त्र ओढाएर
पृष्ठहरुमा नङग्याउने
‘ब्रान्डेड’ पुस्तकहरुले
गरिरहेका हुन्छन बलात्कार !
हवसले क्यानभास रङग्याउने
दोअर्थी ‘स्केच’हरुले
गरिरहेका हुन्छन बलात्कार !
आड देखाए जस्तो गरी
आख्यानहरुले गरिरहेका हुन्छन बलात्कार !
कष्ट लेखिदिए जस्तो गरी
कथाहरुले गरिरहेका हुन्छन बलात्कार !
आवाज उठाइदिए जस्तो गरी
कविताहरुले गरिरहेका हुन्छन बलात्कार !
केही कप कफीका प्रस्तावहरुले
गरिरहेका हुन्छन बलात्कार !
केही आकर्षक प्रोजेक्टका प्रलोभनहरुले
गरिरहेका हुन्छन बलात्कार !
‘मेसेज’का दुई थरी अर्थले
गरिरहेका हुन्छन बलात्कार !
प्रशंसाका चार थान शब्दले
गरिरहेका हुन्छन बलात्कार !
हामी ठान्छौं,
बलियो शरीरले
कमजोर वदनलाई गर्छ बलात्कार !
बलिया हातहरुले
कमजोर कम्मरहरुलाई गर्छन बलात्कार !
बलिया अंगहरुले
कमजोर आत्माहरुलाई गर्छन बलात्कार !
छाडा र अनियन्त्रित लिङगले
बिचरा र बेसहारा योनीलाई गर्छ बलात्कार !!
होइन !
चिल्लो गत्तामा लपेटिएको
सभ्य र आधुनिक भनाउँदो
समाज नामको किताब भित्र
दिनहूँ गरिरहन्छन बलात्कार-
देब्रे पानाका अक्षरहरुले
दाहिने पानाका चित्रहरुलाई !
न यो किताबलाई
पूरै पढ्ने हिम्मत गर्यो कसैले !
न यो किताबका
पाना च्यात्ने साहस जुटायो कसैले आजसम्म !
घरका ऐना लुकाई
बजारमा ऐन मागिरहेछौं हामी !
युगौं देखि ‘ब्रान्डेड बलात्कार’लाई
यसै गरी ‘सर्टिफाई’ गरिरहेछौं हामी !!
✍️हेमन्त गिरी, जापान