ad

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

मङ्गलबार, फागुन ११ २०७७
image

काठमाडौं : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको स्पष्ट पारेका छन् । मंगलबार बिहानैदेखि महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा दिएको भनेर गलत समाचार सम्प्रेषण भएको भन्दै आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् ।

उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको जिकिर गरे । उनले भने, ‘मैले राजीनामा दिएको छैन, राजीनामा दिने परिस्थिति पनि होइन र राजीनामा दिने मेरो सोच पनि छैन ।’

आफ्नो राजीनामाको बारेमा एकपटक पनि नसोधी समाचार बनाउँदा दुःख लागेको उनले बताए । उनले भने, 'महान्यायाधिवक्ताको राजीनामा जस्तो गम्भीर विषयमा एकपटक पनि नसोधी समाचार बनाएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, यसप्रति म दुःख व्यक्त गर्छु ।'

महान्यायाधिवक्ता खरेलले आफ्नो र सरकारको बदनाम गर्नका लागि अनावश्यक हल्ला फैलाइएको बताए । अहिलेको परिस्थितिलाई आफ्नो अनुकुल बनाउन चाहनेहरुले यस्तो दुश्प्रचार गरेको उनको भनाइ थियो ।

महान्यायाधिवक्ता खरेलले भने, ‘मेरो र सरकारको बदनाम गर्न केही मान्छेले षड्यन्त्र गरेर राजीनामाको हल्ला फेलाए ।’

त्यस्तै महान्यायाधिवक्ता खरेलले आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाउ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

उनले केही मिडियामा आएको प्रधानमन्त्रीले असन्तुष्टि जायर गरे भन्ने समाचारको कतै स्रोत नखुलेको समेत जिकिर गरे ।

संवैधानिक इजलासमा खरेलसहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस गरेका थिए ।

ad
ad ad