ad

आर्थिक अपचलन भएको छैन: पासांग शेर्पा

आइतबार​, फागुन ९ २०७७
image

युएइ : गैरआवासीय नेपाली संघ युएइका उपाध्यक्ष पासांग शेर्पाले मिडियामा आए जस्तो आफुहरुले कुनै आर्थिक अपचलन नगरेको दावी गरेका छन्।

ग्लोबल नेप्लिजसंग कुरा गर्दै शेर्पाले कार्यसमितिले आफुहरुलाई निलम्बित गरेको नभै आफुहरु निष्क्रिय मात्र बसेको जनाए।

"आइएलओको सहयोगमा संचालित कार्यक्रम युएइमा खुल्लारुपमा संचालन गर्न सम्भव थिएन। त्यसैले आइसीसीको निर्देशन अनुसार गैरआवासीय नेपाली संघ युएइका अध्यक्ष प्रकाश कोइरालाले काठमाडौँमा ब्यांक खाता खोल्नु भएको हो।  अध्यक्षलाई सघाउने उपाध्यक्षको कर्तव्य हो।  त्यसैले उहांकै अनुरोधमा म खाता संचालकको रुपमा बसेको हुं।  यो कुरा अध्यक्षले पनि पटक, पटक बताई सक्नु भएको छ," उनले भने।

उपाध्यक्ष शेर्पाले उक्त रकम ब्यांकमै रहेको र कुनै अपचलन नभएको पनि बताए।

आफु कथित अपचलनमा संलग्न रहेको भन्ने समाचारहरु आए पछि व्यक्तिगत रुपमा र आफ्नो परिवारले पनि तनाव व्यहोर्नु परेको शेर्पाले बताए।

"म एक समाजसेवी व्यक्ति हुँ।  तीन पटक शेर्पा केदुंग युएइको अध्यक्ष भै सकेको छु, अरु संघसंस्थासंग पनि आवद्ध छु। छानबिन समितीले सत्य तथ्य बाहिर ल्याउने नै छ।  मैले कुनै भ्रस्टाचार गरेको छैन र गर्ने पनि छैन," उनले भने।

उपाध्यक्ष शेर्पाले एनआरएन युएइले कोभिड-१९ बाट रोजगारी गुमाएका १०० जना भन्दा बढीलाई आवास उपलब्ध गराएको, झन्डै ७० जनाको पीसीआर परिक्षण गरिएको र झन्डै २५ जनालाई  नेपाल फर्कन निशुल्क हवाई टिकट उपलब्ध गराइएको जनाए।  यो सबै हिसाबकिताब अध्यक्षज्यूसंग छ," उनले भने।

यसैबीच एनआरएन युएइका महासचिव निश्चल दाहालले शनिबार एक विज्ञप्ति प्रकाशित गरी छानबिन समितिको निर्णय नआउन्जेल सम्म अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासांग शेर्पा कार्यसमितिमा निस्क्रिय रही छानबिन समितिलाई सहयोग गर्ने निर्णय भएको जनाएका छन्। कार्यसमितिको निर्णय उपर उपाध्यक्ष शेर्पाले ‘नोट अफ डिसेन्ट’ लेखेको तर उनले छानबिन समितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि अध्यक्ष कोइराला तथा उपाध्यक्ष शेर्पाको नाममा काठमाडौँस्थित माछापुच्छ्रे बैंकमा संयुक्त खाता खोलिएको सार्वजनिक भए पछि कार्यसमितिको बैठक बसेको थियो।

छानबिन समिति गठन

गत शुक्रबार गैरआवासीय नेपाली संघ केन्द्रिय कार्यालयले एनआरएन युएइ प्रकरणबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

संघका कार्यकारी निर्देशक राजेश शमशेर राणाद्वारा जारी विज्ञप्तिमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाइएको छ। समितिका सदस्यहरुमा भुवानी प्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरि, लक्ष्मण खनाल तथा महेश मोक्तान रहेका छन्।  छानबिन समितिका सबै सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलहरुका युएइस्थित भ्रातृसंस्थाहरुसंग आबद्ध छन्। 

ad
ad ad