ad

बर्थ डे सोलिलोक्यु

आइतबार​, फागुन ९ २०७७
image

– सँसार नेपाली

सुत्न सकिरहेको थिइनँ । कोल्टे फेर्दै ऐँठन यताउती सारीरहेको थिएँ । त्यस सन्देशले दिमागमा झन तनाव थपियो। हुन त त्यसमा खास केही थिएन, बस् ह्याप्पी बर्थ डे लेखिएको थियो र साथमा एउटा स्माइली इमोजी! त्यत्ती नै त हो! यो दिमागलाई पनि के के सोच्नुपरेको ? बिहानदेखी अहिलेसम्म छाडा गोरुझैँ दौडेर पनि थाकेको छैन यो, म सुतेको बेला झन कता कता पुग्छ होला? फेरी के के नै भयन्कर खतरै  कुरामा घोत्लिए जस्तो! तर सोचोस् पनि कसरी , बरा! उठेदेखी सुतुन्जेल मोबाइल र ल्याप्टपका स्क्रीनहरुले देखाएका रङ्गिन रङ्गहीन दुनियाँका चलखेलमै डुब्नुपर्या छ , त्यो सब बाहिर निस्केर कसरी बुझ्दो हो उसले ?

“कसले?“

मेरो दिमागले ।

“कुन दिमाग? जो अहिले प्रश्न गर्दै छ, या त्यो, जो उत्तर दिँदै छ ? या दुवै?“

के म मेरो दिमाग हुँ ? म मेरो दिमाग मात्रै त पक्कै होइन । तर के दिमाग मेरै हो त? हो भने खै हामीबीच कुनै तादात्म्यता  नै छैन । होइन भनौँ पनि कसरी? हरदिन, हररात मसङ्गै छ , मभित्रै छ! अहिले बोलिरहेका हामी दुवै पनि यस भित्रका पात्रहरु त हौँ । मेरो दिमाग एउटा भाईरस हो, र म चैँ उसको प्रिय होस्ट!

अँ, कहाँ थिएँ म?

“ह्याप्पी बर्थ डे ...   “

ए, अँ ! कस्तो बिडम्बना छ, कुनै व्यक्तीले सिसामा थिचेर पठाएका अक्षरका प्रतीकभित्र मैले आफुले सोचेजस्तो संवेदना खोज्नुपर्ने ! कस्तो गाह्रो  काम!

“अनी अहिलेको जमानामा पनि  कागजमा मसीले कोरिएका पत्र सन्देशहरु चाहियो त ?“

होइन, बरु म यी यस्ता शुभकामनाहरु बिना नै ठीक छु भन्न खोजेको! उहिले सानोमा पनि त कहिल्यै त्यस्ता पत्र पाएको होइन ! तर पनि कती खुसी थिएँ म त्यतिबेला! शायद बाल्यकाल भएर पनि हुनसक्छ । तर अघिल्लो पटक मैले जब जन्मदिन मनाएँ, त्यतिखेर पनि म खुशी नै थिएँ । २ वर्षअघी गाउँको स्कुलमा मेरा विद्यार्थीहरुसँग मनाएको थिएँ, त्यतिबेला पनि आफ्ना सामु बच्चाहरु भएर नै हुनुपर्छ! मलाई बच्चाहरु किन यती बिघ्न प्रिय लाग्छन? शायद मेरो आफ्नो बाल्यकाल छिट्टै बितेको भएर पो हो कि ?

तर त्यसदिन म साँच्चै खुशी थिएँ। मेरा विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मेरा लागि केक किनिदिएका थिए। केकको स्वाद भने मैले बिर्सिसकेँ । त्यसरी नै म र मेरा यादहरु पनि उनीहरुले बिस्तारै बिर्सिजानेछन्। केही वर्षमै ती भुरा केटाहरु जसका काँचा दिमागमा बिल गेट्स र इलोन मस्क थोपरेँको थिएँ, उनीहरु छिट्टै कोही टिप्परका ड्राइभर, खलासी त कोही घरछेउका टोले गुण्डा हुनेछन भने बाकीँ सबै अरब भासिनेछन। त्यस्तै, ती साना सिँगाने केटीहरु जसलाई मैले टेरेसा र मेडम क्युरीका कहानी सुनाएँ , तीमध्य आधाउधीले त बिहे पनि गरिसके होलान, बाँकी गर्ने तयारीमा होलान। मैले पढाएका ती सयौँ जनामध्य एक जना मात्रैले पनि मैले भन्न खोजेका कुरा बुझेर अङ्गीकार गरेछ भने म त्यतिमै आफुलाई सफल ठान्ने थिएँ ।

रिङ्टोन बज्यो। फेरी अर्को सन्देश ! यसमा भने उही ह्याप्पी बर्थ डेका साथै एउटा केक पनि एक्सट्रा थियो। सिधै नेपालबाट अमेरिकाको सिलिकन भ्याली हुँदै केही मिलिसेकेन्डमै जर्मनीको मेरो कोठाभित्र आइपुगेको केक, जो जसले जहाँ, जसलाई, जति पनि पठाउन मिल्छ।  उहिले बच्चा हुँदा केक कति ठूलो कुरा लाग्थ्यो ! सानो हुँदा मैले आफ्नो घरमा कहिल्यै केक काटिन, पछी ठूलो भएपछी काट्ने रहर पनि जागेन।

सानोमा बर्थ डे आउनु भन्दा एक महिना अगावै उत्साहित हुने गर्थें  म ! दशैँ , तिहारको समयमा पर्ने भएर हुन सक्छ, बर्थ डेको समयको मौसम नै भिन्न लाग्थ्यो। बर्थ डे पनि कहिले घटस्थापनाको दिन, कहिले दशैंको टीकाको दिन, कहिले भाईटीकाको दिन पर्थ्यो, ठेगान हुन्थेन। २ पटक त कुकुर तिहारको दिन पनि परेको याद छ । जे होस्, मेरो बर्थ डेको बेला स्कुल सधैँ बिदा नै हुन्थ्यो, र त्यसैकारण मैले कहिल्यै स्कुलमा चकलेट बाँड्न पनि परेन। तर अरुको बर्थ डेको दिन स्कुलमा चकलेट खान भने सधैँ मज्जा नै लाग्यो।

फेरि अर्को नोटिफिकेसन आयो। घरबाट बाले पठाउनु भएको रहेछ । अहिले फेसबुकलाई फेस नगरेका मानिस कमै होलान ! हैन... नेपालमा त बल्ल ५ बज्दै छ, होइन र ? बिहान बिहानै के फेसबुक हो त हाम्रा बा पनि? हुन त आफ्नो छोराको बर्थ डे भनेपछी मनले के मानोस! तर मलाई मेरा बा आमाको बर्थ डे याद छैन। मेरा आफ्ना छोरा छोरी भए भने उनिहरुको बर्थ्डे चै मलाई पक्कै याद हुनेछ। मानिसहरु यस्तै हुन । प्राणीमध्यकै सबैभन्दा शक्तीशाली भएर पनि सबैभन्दा कमजोर प्राणी मानिस, जो आफ्नो जीवनकालको प्रत्यक क्षण अर्काको भर बाँच्न खोज्छ। बालक छँदा बाआमाको भर , किशोरावस्थामा साथीको भर, विवाहपश्चात पति रपत्नीको भर , केही समयपस्चात् छोरा छोरीको भर! यो भरैभरमा बाँचिने जिन्दगीले मानिस आफैलाई कमजोर बनाउँछ।

कहिलेकाहीँ सोच्छु, म त्यस दिनको नजन्मिएर अरु कुनै दिन जन्मिएको भए, के म अहिले यहाँ हुन्थेँ ?

“पक्कै हुने थिएनौ !“

त्यसोभए म कहाँ हुन्थेँ ? म... म नै हुन्थेँ , या अरु कोही नै बन्थेँ ? त्यो अरु कोही मेरै सानो अंश हुन्थ्यो कि म बाहेकको एक बेग्लै स्वरूप? अनी यो ’म’ भनेको चाहिँ के? मानिसहरु आफ्नो स्वाभिमानमा कत्ती घमण्ड गर्छन्! जबकी उनीहरुको स्वाभिमान वर्षौँअघी उनीहरुको साथ छोडेर फरार भैसक्यो ! एक पलमा एक भैरहेको मानिस , अर्को पल अर्कै सोचिरहेको हुन्छ, बोलिरहेको हुन्छ, गरिरहेको हुन्छ! के शरीर एउटै बोकिरहेकै भरमा हिजोको मानिस आज पनि त्यही छ भन्न मिल्छ? शरीरले पनि १० वर्षमा सम्पूर्ण कोषिकाहरु पुनः उत्पन्न गराउँछ । यसको मतलब प्रत्यक १० वर्षमा शरीरले बेग्लै रुप धारण गर्छ । मानसिक रुपमा  झन् सयौँ गुणा चाँडो फेरिएला ! प्रेममा चुर्लुम्म डूबी बिहे गरेका जोडीहरु डीभोर्सका लागि त्यसै मरिहत्ते गर्ने होइनन्। एउटा औसत समय बाँच्ने मानिसले उसको जीवनमा कती रुप धारण गर्ला ?

निरस बर्थ डे

उमेर त मेरो त्यती धेरै भन्न नमिल्ला , तर यो अवस्थामा भएर पनि मलाई यो बर्थ डे निरस लागिरहेको हुन सक्छ। पश्चिम जर्मनीको एउटा शहरको पुरानो बिल्डिङ्गको चौथो तल्लाको एउटा सानो कोठाभित्रको पलङमा पल्टिरहेको म, अहिले नवलपरासी, गैँडाकोटको मेरो जन्मघरको आँगनमा बसिरहेको भए, के खुसी हुने थिएँ त? झट्ट सोच्दा त्यसमा कुनै शंका लाग्दैन। हुन पनि यो अजीबको निर्जीव शहरको गल्लीसँग मेरो गाउँको माटोको तुलना कसरी हुन सक्छ? त्यो छेउको टेबलमाथि राखिएको रङ्गीन प्लास्टिकभित्रको रङ्गहीन बासी पाउरोटीको, तुलना अहिले सम्झँदै नाकैमा बसाउने गुन्द्रुकसँग कसरी गर्न सकिएला र ? तर यी सब मेरा शुद्ध भावना हुन कि नोस्टाल्जिक आनन्द प्रतिको मेरो लालसा? मातृभूमि, हिमाल, पहाड, खोलानाला, झरनाको पानी ... यी सब अक्सर विदेसिएका नेपालीहरुको रोमन्टिसाइज्ड संवेगहरु मात्रै हुन। हाम्रा यस्ता देशभक्ति काठमाण्डुको विमानस्थलबाट निस्केर नेपाल यातायातको दर्शन गर्नेबित्तिकै ज्युँका त्युँ स्वाहा भइ जानेमा कुनै दुईमत छैन ।

आज मेरो २८ औँ बर्थ डे !

आधा उमेर नजिकिँदै जाँदा मैले सोचिरहेका यी कुराहरु, अहिले मलाई जतिसुकै परीपक्व लागेपनी आइन्स्टाइनको रीलेटीभिटी यहाँ पनि लागु हुनेछ र अर्को वर्षनै म आफ्नो यही लेख हेरेर लाज मानिरहेको हुनेछु। हुन त म त्यसबेलासम्म परिपक्व भैसक्छु भन्ने पनि ग्यारेण्टी छैन । शायद मेरो हुर्काइ यहीँसम्म मात्रै पनि हुन सक्छ, र शायद यो नै मेरो अन्तिम बर्थ डे पनि ठहरिन सक्छ।  प्रत्येक सेकेन्ड विश्वमा ४ जना जन्मिन्छन, म जन्मेको दिन त्यस हस्पिटलमा मेरै छेउ जन्मिएकाहरु, जसलाई म मेरो जिन्दगीभर नभेटुँला वा भेटे पनि नचिनुँला, उनीहरु अहिले कहाँ होलान, ज्युँदै छन कि मरिसके ? उनीहरु पनि त आज जन्मदिन मनाइरहेका होलान ! जो जहाँ, जस्तो अवस्थामा भएपनि आज जन्मदिन पर्ने म लगायत सबैलाई ह्याप्पी बर्थ डे! ... र तिमीलाई पनि!

ए, सुतिसक्यौ? 

(लेखक कम्प्यूटर इन्जिनिएरिङ्गका विद्यार्थी हुन् र हाल जर्मनीमा अध्ययनरत छन् ।)

ad
ad
ad