ad

खोपको साथै सावधानीका उपाय त अब हाम्रो दैनिक जीवनको पाटो नै बनाउनु पर्ने हुन्छ :  डा. आचार्य

शुक्रबार​, पौष १७ २०७७
image

करिब ३ दशक देखि ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत डा. शम्भु आचार्य हाल लिभरपुलमा कन्सल्टेन्ट एनेस्थेसिस्टको रुपमा कार्यरत छन् । कोरोना संक्रमणमा फ्रन्टलाइनमा बसेर सेवा गरिरहेका डा. आचार्यसँग गरिएको कुराकानी :

जाडो याममा कोरोना भाइरसबाट बच्न केकस्ता सावधानी हुन सक्छन् ?
अरु मौसम जस्तै जाडोले कोरोनालाई त्यति धेरै फरक त पार्ने हैन,  अरुबेलाको जस्तै सावधानी लिनु पर्छ ।  तर जाडोको बेला फ्लु र अन्य स्वास प्रस्वास सम्बन्धि रोगले बढी चाप्ने  हुनाले यसको प्रभाव बढी रहन सक्छ । यसर्थ हामीले अहिले गरिरहेका उपायहरु मास्क लगाउने , सामाजिक दुरी कायम राख्ने, २० सेकेन्ड लगाएर साबुन पानीले हात धुने अथवा सेनिटाईजर पनि प्रयोग गर्न सकिन्छ ।

हाल बेलायतमा देखा परेको भाइरसको नयां रुप कस्तो हो ?
भाइरसहरु म्युटेसन् हुने गर्दछन्  नेपालीमा यसलाई उत्परिवर्तन भनिन्छ,  तर भाइरसहरु  परिवर्तन भैरहन्छन भन्नु उपयुक्त  होला । कोरोनाको  नाम क्राउन अथवा मुकुटबाट आएको हो । यो भाइरसको आकृति मुकुटको जस्तो छ । यसको माथि  तिखा घोच्ने काँडा जस्ता आकृति तस्विर देखिन्छ । यी काँडाहरुबाट  भाइरसले बीचबीचमा असर र प्रकृतिमा परिवर्तन गर्न सक्ने गर्दा छ । हरेक भाइरसहरु समय र वातावरणको असर संगै परिवर्तन हुने हुन्छन, त्यो सामान्य फ्लुमा पनि हुने गर्छ ।  अहिलेको भाइरस करिब ७० प्रतिशत बढी संक्रमणशील अर्थात सर्न सक्ने गुण रहेको बताइएको छ ।  यो सर्ने र फैलने गुण संगै १०० जना बिरामी क्षमताको अस्पताललाई १७० जनाको मार पर्न सक्छ र संक्रमण बढे संगै बढी मृत्युदर हुन सक्ने हुन्छ  । यसर्थ अस्पताल तथा स्वास्थ्य सेवामा चाप पर्न सक्छ जसलाई हामीले नकार्न सकिन्न । यसले अहिलेको  भ्याक्सिनलाई कति फरक पार्छ भनेर यकीनका साथ भन्न सक्ने अवस्था पनि छैन । धेरै जस्तो अलि अलि परिवर्तन भएको अवस्थामा पुरानै भ्याक्सिनले कामगर्न सक्ने देखिन्छ ।

 के खोप नै यो संक्रमणको पूर्ण समाधान हो ?
खोप पूर्ण नभए पनि प्रमुख समाधानको औजार हो । कुनै पनि कुरा शत प्रतिशत प्रभावकारी  हुन्छ भन्न सकिन्न ।  यो अहिले फ़ाइजर भन्ने कम्पनीले निकालेको भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी भनिएको छ । पुरानो हिसाबले हेर्ने हो भने हरेक रोग आए पस्चात समाजमा रहि  रहने गर्छन् ।  पूर्ण रुपमा हटेको भनेको त बिफर मात्र हो । कोरोना पनि खोपले निमिट्यान्न हराउने भन्ने हुंदैन यसर्थ खोपको साथै सावधानीका उपाय त अब हाम्रो दैनिक जीवनको पाटो नै बनाउनु पर्ने हुन्छ ।  साफ सफाई , मास्क, सेनिटाइजर इत्यादी ।

बेलायतमा हालसम्म खोप कत्तिको प्रभावकारी देखिएको छ ? खोप लिए पछिको यहाँको अनुभव कस्तो छ  ?
अहिले खोप लगाउँदाको कुरा गर्दा मैले पहिलो खोप  लगाएको तीन  हप्ता भयो र दोस्रो खोप पनि लगाएको छु।  मलाई हाल सम्म  यसले  कुनै दुख दिएको छैन  । ज्वरो पनि आएन,  हल्का दुखे जस्तो चाहीं भएको थियो, तर पारासिटामोल सम्म पनि खानु परेन । फ्लुको भ्याक्सिन लगाउंदाको जस्तै अनुभव रहयो , त्यसमा थोरै बढी मात्र हो कि जस्तो लाग्यो ।  जहाँसम्म यसको प्रभावकारिताको कुरा छ यो खोप  ९५ % प्रभावकारी भनिएको छ।  त्यसको लागि पहिलो खोप लिए पछि ३  हप्ता देखि एक महिनामा दोस्रो खोप पनि लिनु पर्ने भनिएको थियो   ।   बुधबार (३० डिसेम्बर)  मात्र अक्सफोर्डमा  विकास गरीएको खोपले पनि मान्यता पाएको छ । यसको प्रभावकारिता ७० प्रतिशत भनिएको छ यो पनि राम्रो हो ।  रोग नै लागिहाले पनि खोप लगाएको मानिसलाई चाहीं कम चाप देखिने भनिएको छ, अलिक हलुका किसिमको मात्र लक्षण आउने गर्दछ  । अरु खोप लगाउनेलाई पनि त्यस्तै हुने गर्छ, जस्तै फ्लु को खोप लगाएको व्यक्तिलाई फ्लु लागे पनि हल्का मात्र लाग्ने हुन्छ ।  बेलायत सरकारको नयां योजना अनुसार अब एउटा खोप सकेसम्म बढी मानिसहरुलाई दिने र दोस्रो खोप ३ महिना पछि दिने योजना छ । जसले गर्दा समाजमा धेरै जनालाई कुनै न कुनै हदसम्म सुरक्षित बनाउन सकिन्छ ।

एकपटक कोरोना लागेको व्यक्तिलाई  पुनः लाग्ने सम्भावना कत्तिको रहन्छ  ? उत्तिकै सावधान हुनु पर्ने हो ?
थोरै मानिसलाई कोरोना लागे पछि दोस्रो पटक पनि संक्रमण भएको पाइएको छ । कतिलाई कति समयसम्म रोगलाई प्रतिरोध गर्न सक्छ अहिले सम्म ठोस रुपमा भन्न सक्ने अवस्था छैन,  तसर्थ सावधानी  जरुरी छ ।  कोरोना लागि सकेपछि रोग लड्न सक्ने क्षमता चाहिं कति हुन्छ भनिएको छ र एन्टी बडी कति उत्पादन हुन्छ भन्ने ठोस भनिएको छैन ।

No description available.परिवारमा कसैलाई कोरोना लागे कसरी आइसोलेसन मेन्टेन गर्ने  ?

 अहिले बेलायत सरकारको गाइडलाइन चाहीं कोरोना लागेको व्यक्ति र परिवारका सदस्यहरु १० दिन घरमै बस्नु पर्ने भनिएको छ ।  घरमा धेरै परिवार हुँदा गाह्रो  त हुन्छ, धेरै ट्वाइलेट बाथ रुम सुविधा नहुँदा अलि टायम ग्याप राखेर प्रयोग गर्ने या सफाइ र सेनीटाईज गर्नु पर्यो । टेबल , कुर्सि ढोकाका हेन्डलहरु  डेटल स्प्रे, वाइप , सेनीटाइज गर्ने, सके सम्म कन्ट्याक्ट कम गर्ने । कसैलाई ज्वरो १० दिन भन्दा बढी अर्थात १२- १४ दिन सम्म भएको खण्डमा अलि बढी नै आइसोलेसन गर्नु पर्ने हुन्छ । कसैलाई १० दिन पछि पनि डाइरिया भयो भने डाइरिया रोकिए पछि  कम्तिमा ४८ घण्टा चाहीं आइसोलेसन मेन्टेन गर्नु पर्ने हुन्छ ।
आधिकारिक जानकारीको लागि सरकारी एनएचएसको सूचनाहरु, बिबिसीका सूचनाहरुलाई आधार मानेर फलो गर्दा राम्रो हुन्छ ।  कसैलाई भाषागत समस्या भए,  कन्फ्युजन भए, हामी नेपाली मूलका डाक्टर, नर्सहरु स्वयंसेवा गर्दै आएका छौं  र अहिले पनि तत्पर छौं ।
 
अडियो लिंक :  https://www.podbean.com/eu/pb-md92p-d85c57

भूतपूर्व गोर्खा वृद्ध बुवा, आमाले के के कुरामा ध्यान दिनु पर्ला?
कोरोनाले जति बढी उमेर भयो उति चाप्ने गरेको छ । ७० वर्ष बढी उमेर समूहलाई बढी चापेको छ । यसर्थ उमेर बढी भएकाले अझ बढी  सावधानी अपनाउनु पर्ने हुन्छ ।  उमेर बढे संगै दीर्घ रोगहरु बढ्न सक्ने  भएकोले त्यो अर्को जोखिम हुन जाने छ । यसर्थ आफ्नो समस्या अनुसार सावधानी अपनाउनु पर्छ ।  त्यसै गरेर एसियन, अफ्रीकन र क्यारेबियनहरुलाई यसले बढी  चापेको पाइएको छ, यसर्थ हामी  नेपालीहरु अझ सजग हुनु पर्छ ।   जवानहरु संग धेरै समय नबिताउने , अनावस्यक बाहिर नजाने, सके सम्म सामाजिक दूरी कायम गरेर बस्ने , मास्क , सेनीटाइजर , हरु प्रयोग गर्ने इत्यादी कायम राख्नुपर्छ ।   अब सरकारले चांडै खोप पनि दिने नै छ,  तर पनि सावधानी अपनाउन छोड्नु हुन्न । भूपू गोर्खाहरुका घरमा स्वास्थ्यकर्मीहरु हुनुहुन्छ भने स्वास्थ्यकर्मीहरुलाई अहिले अरुलाई भन्दा ७ गुणा बढी यो रोग लाग्ने सम्भावना छ।  त्यस्तै केयर होममा काम गर्नेहरुलाई पनि धेरै समस्या देखियो । मार्च , अप्रिल, मे महिनामा धेरै मानिसहरुको मृत्यु पनि भयो  । आफ्नो उमेर र शारीरिक समस्या अनुसार सावधानी हुनुपर्छ ।

खोप नलगाउंदासम्म कोरोन संक्रमणबाट  कसरी जोगिने?
व्यक्तिले आफुले गर्न सक्ने ३ ओटा कुरा भए - एउटा मास्कको प्रयोग , दोस्रो सामाजिक दूरी अनि अर्को सेनीटाइजर र हात समय समयमा धुने ।
बेलायत सरकारले दिएको सुझाव 'टेस्ट एण्ड ट्रेस' भन्ने एपले कसैसंग सम्पर्कमा आयो कि आएन भन्ने देखाउन सक्छ । चाहिएको खण्डमा बेलाबेला या शंका लागेको भए घरमा नै कोरोनाको टेस्ट मगाएर टेस्ट गर्न सकिन्छ ।  खोप लगाए पछि पनि  २ -३  हप्ता पछि मात्र बढी  प्रभावकारी  हुने भनिएकोले खोप लगाउने बित्तिकै जोगिएँ भन्ने अवस्था छैन । सबै नागरिकलाई खोप लगाई सक्न त धेरै महिना पनि लाग्ने हुनाले हामीले कोरोनाबाट बच्ने सावधानी अपनाउन छोड्न हुन्न ।

ad
ad ad