ad

अहिले नै नेपालीले कोरोना पचाए भनेर निस्कर्षमा पुग्नु आलोकाँचो हुन्छ : डा. दिनेश न्यौपाने

बुधबार, पौष २२ २०७७
image

विगत १५ वर्षदेखि नेपाललाई मूल कार्यक्षेत्र मानेर अध्ययन र अनुसन्धान गर्दै आएका डा. दिनेश न्यौपाने हाल संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्को रुपमा  कार्यरत छन् ।  डा. न्यौपानेसँग ग्लोबल नेप्लिजले गरेको कुराकानीको सम्पादित अंशः 

नेपालमा अहिले कोरोनाको संक्रमण घट्दै गएको भनिएको छ ।  तपाईंले कसरी हेर्नु भएको छ ?

अहिलेसम्म परीक्षण गरिएको संख्याको आधारमा हेर्ने हो भने संक्रमितहरुको संख्या घट्दै गएको देखिन्छ । घट्दै जानु सकारात्मक कुरा हो । नेपालको मृत्यु दर अन्य धेरै देशको तुलनामा कम पनि देखिन्छ । अस्पतालहरुमा कोरोनाका सिकिस्त बिरामीहरुको चाप कम हुनु तथा संक्रमितहरुको दर केही समय अगाडि भन्दा कम देखिनुले केही आशाका किरणहरु भने अवश्य जगाएका छन्। तर पनि यी नतिजाहरुलाई निकै सावधानीपूर्वक हेर्नु अत्यन्त जरुरी छ। अहिले नै नेपालीले कोरोना पचाए वा सोंचे जस्तो कोरोना रैनछ भनेर निस्कर्षमा पुग्नु आलोकाँचो हुन्छ । पहिलो कुरा त कोरोना भाइरसविरुद्ध लामो समयसम्म लड्नु पर्ने देखिन्छ। यो बीचमा कहिले घटे जस्तो त कहिले बढे जस्तो देखिरहन सक्छ। त्यसैले घटेकै भए पनि रोकथामका मापदण्डहरुलाई निरन्तरता दिन सकिएन भने संक्रमितहरुको संख्या जुनसुकै बेला पनि ह्वात्तै बढ्न सक्छ।

उदाहरणको लागि लामो समय संक्रमणलाई नियन्त्रणमा लिन सकेका थाइल्याण्ड र जापानमा अहिले संक्रमण बढ्दो क्रममा छ।  बेलायतमा पनि केही समय संक्रमितहरुको संख्या घट्दै जाँदा अब त नियन्त्रणमा आउंछ कि भन्ने धेरैलाई लागेको थियो। तर, त्यस्तो हुन सकेन। दोस्रो कुरा, नेपालमा हामीले कहिले पनि पर्याप्त मात्रामा टेस्ट गराउन सकेका छैनौं। स्वास्थ्य मन्त्रालयले नियमित प्रकाशित गर्ने कोरोनाको अवस्थाको रिपोर्ट अनुसार ८१ वटा पिसिआर जाँचको लागि अनुमति पाएका सस्थाहरुमध्ये जनवरी ४ मा ३४ वटा प्रयोगशालाले शून्य परीक्षण गरेको तथ्यांक प्रस्तुत गरिएको छ।  कन्ट्याक ट्रेसिंग हुनै सकेन भन्दा पनि हुन्छ। अधिकांश  टेस्टहरु अहिले पनि काठमाण्डौ उपत्यकामा मात्र भएको छ। संक्रमितहरु कता छन् भनेर खोज्दै जानुको सट्टा जो टेस्टको लागि इच्छुक छ उसको मात्र टेस्ट हुनाले पनि संक्रमितहरु पत्ता लगाउन नसकिएको पनि हुन्छ। तेस्रो कुरा, छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण घट्दो क्रममा छ। भारत बाहेक तेस्रो मुलुकबाट नेपाल छिर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएकोले नेपालमा आयातीत संक्रमणको संख्या पनि घट्दो क्रममा नै रहेको हुनसक्दछ। 

नेपालमा पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा जुलुस, सभाहरु आयोजना भै रहेका छन्। धेरै मानिसहरुले  मास्क लगायतका व्यक्तिगत सुरक्षाको उपाय अपनाएको देखिंदैन। यसले कस्तो असर पर्ला ?

जनस्वास्थ्यका मापदण्डहरुलाई प्रयोग नगर्ने हो भने संक्रमणको संख्या बढ्दै जाने अनुमान सहजै गर्न सकिन्छ । तर पनि संक्रमित को छ को छैन भनेर पत्ता लगाउनको लागि पर्याप्त मात्रामा उच्च जोखिममा रहेकाहरुको टेस्ट गरिनु जरुरी छ। यो विषम परिस्थितिमा सरकार र राजनीतिक पार्टीका शिर्ष नेतृत्वबाट नै जुलुस र सभाहरुको आह्वान हुनु अस्वाभाविक छ। जनस्वास्थ्यको यति संवेदनशील विषयलाई यति हल्का रुपमा लिनु हुँदैनथ्यो  । चाडबाडको वरिपरि लकडाउनलाई खुकुलो बनाउँदा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको दृष्टान्त हाम्रै अगाडि छ। जुलुस र सभाहरुमा आउने व्यक्तिहरुले घरघरमा उच्च जोखिम भएका व्यक्तिहरुलाई संक्रमण सार्ने जोखिम बढेर गएको छ। संक्रमितको संख्या ह्वात्तै बढ्यो भने सरकार फेरि लकडाउन जस्ता अप्रिय निर्यणहरु गर्न वाध्य हुनुपर्ने अवस्था पनि आउन सक्दछ। यसले पार्न सक्ने प्रत्यक्ष वा अप्रत्यक्ष असरलाई  हामीले नजरअन्दाज गर्नु हुँदैन।

नेपालमा खोप कहिले आउने भन्ने निश्चित देखिँदैन। खोप भित्र्याउनको लागि नेपाल सरकारले कस्तो कूटनीति अपनाउनु पर्ला ?

नेपालमा ढिलो चांडो खोप आउंछ। मूल कुरा जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर जति सक्दो छिटो खोप ल्याउने कि अरुले जहिले दिन्छन् त्यतिबेलै हात थाप्ने भन्ने हो। एक स्तरको कोशिस  त सरकारबाट अवश्य पनि भएको छ। तर पनि सतहमा देखिने गरी अहिलेसम्म सन्तोषजनक प्रगति भए जस्तो देखिँदैन। खोपको तयारी हाम्रो शुरुदेखि नै फितलो भयो।  सीमित स्रोत र साधन भएकोले पनि हाम्रा कार्यक्रमहरु कोरोनाको नियन्त्रणमा केन्द्रित भए। नेताहरु कोरोनाप्रति जति संवेदनशील हुनु पर्ने हो त्यति नभएको त पछिल्ला घटनाक्रमले छर्लंगै पारेको छ। संसारभरि नै खोपको आवश्यकता भएकोले जुन देशको पहुँच छ त्यो देशले शुरुमा खोप पाउन पहल गर्ने नै भए। यसको लागि सरकारले दक्ष जनशक्ति लगाएर सबै माध्यमहरु प्रयोग गरेर घनिभूत रुपमा खोप उत्पादकहरुसँग निरन्तर सम्वाद, बुकिङ्ग र खरिद प्रक्रिया अगाडि बढाउनु जरुरी हुन्छ। यहाँ समस्या खोप आएन भन्ने मात्र होइन। खोपको भण्डारण र ढुवानी पनि नेपालको लागि चुनौतीपूर्ण छ। यो संगै खोपहरु कम्तीमा दुई पटक लगाउनु पर्ने भएकोले पनि थप चुनौती थपिन्छन्।  गाउँ गाउँसम्म कसरी खोप पुर्याउन सकिन्छ, कसरी वृद्ध र रोगीहरुलाई खोप दिन सकिन्छ भनेर आवश्यक रणनीतिहरु बनाउन आवश्यक छ।

नेपालमा खोप आउन अझै एक, डेढ वर्ष लाग्न सक्छ भनिएको छ। त्यस बेलासम्म कोरोनाको संक्रमणबाट कसरी सुरक्षित रहनु पर्ला?

नेपालमा कुनै न कुनै प्रकारको खोप भित्रिन एक वर्ष पनि नलाग्न सक्छ। तर समस्या यहाँ कति मात्रामा भित्रिन्छ भन्ने हो। यही अनुसार हामी अगाडि बढ्यौं भने सुरुवाती चरणमा नेपाल भित्रिने खोप हात्तिको मुखमा जिरा जस्तो हुने देखिन्छ। सरकारले खोपलाइ पूर्ण निशुल्क गर्छ कि सशुल्क बनाउँछ र यसको पहुँचमा कसरी प्राथमिकता निर्धारण गर्दछ भन्ने कुराले पनि ठूलो भूमिका खेल्दछ। भ्याक्सिन आउन त केही समय लाग्छ नै तर भ्याक्सिन लगाए पनि लामै समय हामीले जनस्वास्थ्यका मापदण्डहरुलाई निरन्तरता दिन जरुरी हुन्छ। पहिलो कुरा त खोपले कति समय हामीलाई बचाउंछ भन्ने अहिले पनि थाहा छैन। दोस्रो कुरा खोप लगाउदैमा  कोरोनाबाट १०० प्रतिशत बच्ने ग्यारेन्टी हुंदैन। तेस्रो कुरा खोप लगाउने व्यक्ति सुरक्षित भए पनि विभिन्न माध्यमद्वारा अरुलाई सार्ने सम्भावना कायम नै रहन्छ।  चौथो कुरा संक्रामक रोगहरुको रोकथाम जनस्वास्थ्यको दृष्टिकोणबाट हेरिनु पर्दछ। मैले खोप पाएँ म त बच्ने भए अरुलाई जे भए पनि होस् भनेर समाजबाट कोरोनालाई निर्मुल गर्न सकिंदैन। जबसम्म एक जना पनि संक्रमित रहिरहन्छ तबसम्म हामी सबै कोरोनाको जोखिममा रहिरहन्छौँ। 

यूरोप, अमेरिका लगायतका मुलुकमा खोप दिन शुरु गरिएको छ, तर संक्रमण दर पनि बढीरहेको छ।  यो ट्रेन्डलाई कसरी हेर्नु भएको छ?  

विज्ञानले अनुमान गरेजस्तै जाडोको मौसम कोरोना भाइरसलाई अनुकूल भएको देखिन्छ।  त्यस्तै पश्चिमाहरुका मुख्य चाडहरु थ्यांक्स गिभिंग, क्रिसमस र नयाँ वर्षले मानिसहरुको आवतजावत बाक्लिएको कारणले पनि संक्रमणको दर फैलिन मलजल गर्यो। अमेरिकामा भने ट्रंप  सरकारको कोरोनालाई  हेर्ने दृष्टिकोण शुरुदेखिनै जनस्वास्थ्यको नजरमा विवादास्पद र कमजोर रह्यो। पटक पटक भएका आमसभा, जुलुश र प्रदर्शनले संक्रमणको दर फैलाउन मद्दत गरिराख्यो। मानिसहरु खोप आयो भनेर उत्साहित हुँदै जनस्वास्थ्यका मापदण्डहरु खुकुलो बनाउनुले धेरै ठाउँमा संक्रमणको दर बढेको हुन सक्दछ। तर, वास्तविकता के हो भने खोप त सीमित मात्रामा भर्खर मात्र लगाउन शुरु भएको छ। दोस्रो पटक खोप लगाउनेको संख्या त ज्यादै न्यून छ। हालसम्म  खोप पाउनेको संख्या पनि धेरै सानो छ।  अधिकांश देशमा स्वास्थ्यकर्मीहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको छ । त्यसैले खोपको प्रभाव सतहमा देखिन केही समय कुर्नु नै पर्दछ। अर्को कुरा खोपले मात्र कोरोनाको संक्रमणलाइ निर्मुल पार्न सकिँदैन। खोप संगसंगै जनस्वास्थ्यका मापदण्डहरुलाई पनि सगँसगै लैजानु जरुरी हुन्छ । 

ad
ad ad