ad

त्रेता युगकी ‘शबरी’ को कलि युगमा अवतार

नारायण अर्याल
शनिबार, पौष २५ २०७७
image

काठमाडौँ।  नेपाल छुवाछुत मुक्त भएको वर्षौं भइसक्यो । जातीय विभेद दण्डनीय छ । तर, समाज ?

समाज न कानुनले कल्पनाले गरे जस्तो छ न कागजमा लेखिए जस्तो । पुरातन र परम्परावादी संस्कारमा अभ्यस्त समाजले अझै पनि जातको आधारमा मानिसलाई तौलिने गरेको छ । तल्लो र माथिल्लो जाति, पानी चल्ने र नचल्ने अनि विहेबारी चल्ने र नचल्ने जस्ता थुप्रै सीमारेखा तोकेको छ संस्कारले अनि पछ्याइरहेको छ, समाजले । संसारले जति फड्को मारे पनि समाजले त्यसरी फड्को मार्न सकेको छैन । समय उडिरहेको छ, समाज घिस्रिरहेको छ । उड्नेलाई घिस्रिनेले कसरी भेट्टाउन सक्ला र ?

वर्गका आधारमा विभेद । खानपानका आधारमा विभेद । विलासी वस्तुको उपभोगका आधारमा विभेद । पोशाकका आधारमा विभेद । विभेदका रुप कति छन् कति । विभेद कहाँ छैन ? संसारभर विभेद छ, त्यसका स्वरुप फरक छन् । तर, हाम्रो समाजमा यस्तो विभेद छ कि मान्छे मान्छे बीचमा अन्य सबै कुरामा समानता भएर पनि जातका आधारमा छुट्टयाइन्छ । यो विभेद अन्यत्रको भन्दा फरक छ । यो यस कारणले पनि भिन्न छ कि यसले आफ्नो विभेद पुष्टि गर्नै सक्दैन । कानुनले विभेद गर्दैन । मान्छे मान्छेबीचको फरक चिन्दैन तर, समाजले यस्ता सबै तर्कलाई शौचालयको सेफ्टि ट्यांकीमा मिल्काइदिन्छ ।

यो विभेद नयाँ होइन । निकै पुरानो हो । त्यसैले त हाम्रो समाजमा यति गहिरो र फराकिलो जरा गाडेको छ यसले । कागजमा लेखिएका कानुनका अक्षरले यो जरा उखेल्नै सकेको छैन । बरु कानुनलाई नै यसले उखेल्न बेर लगाउँदैन ।

हिजोआज अन्तरजातीय विवाहको चर्चा हुन थालेको छ । अन्तरजातीय विवाह पहिले पनि नभएका होइनन् । कति मानिसलाई अन्तरजातीय विवाहले पलायन नै बनाइदियो । कतिपय समाजबाट पलायन भए त कतिपय जीवनबाटै । निर्धक्क आफ्नो घर समाजमा बसेर गरी खान पाउने सुविधालाई चटक्कै माया मारेर मान्छेहरु भाग्न विवश भए, भइरहेका छन्, हुँदै छन् । ठाउँ छाड्ने त एउटा कुरा, जीवन नै त्याग्नुपर्ने वाध्यता हेरौं त । कति कहालीलाग्दो छ ?

हो, समाजमा हुने गरेका र हुँदै आएका यस्तै घटनाहरुको सँगालो हो ‘शबरी’ ।
आधुनिकता पछ्याइरहेको तर, पुरातनलाई छोड्न नसकेको समाजको ऐना हो ‘शबरी’ ।
अनि, समाजमा चेतना पनि बढ्दै छ, रुपान्तरण पनि हुँदैछ भन्ने मार्ग दर्शन पनि हो ‘शबरी’ ।

धार्मिक दृष्टिले हिन्दू धर्ममा कायम रहेको जातिवाद बुझेका र राजनीतिक दृष्टिले समाज पढेका एकजना अध्येता तथा पाका राजनीतिज्ञ बलदेव मजगैयाँले धर्मग्रन्थ र नेपाली समाजलाई गज्जबसँग तुलना मात्रै गरेका छैनन्, समाज कसरी जकडिएको छ भन्ने यथार्थ यसमा पस्केका छन् ।

हिन्दूहरुको प्रमुख  ग्रन्थ रामायणबारे जानकारी नहुने शायदै होलान् । त्रेता युगका भगवान रामचन्द्रसँग जोडिएको ग्रन्थ हो यो । भगवान रामचन्द्रसँग जोडिन्छ शबरीको प्रसंग पनि । शबरी एक दलित नारी थिइन् । विभेद त्यतिबेला पनि थियो भन्ने ग्रन्थहरुबाटै स्पष्ट हुन्छ । मर्यादापुरुष राम यो विभेद हटाउन चाहन्थे । त्यसैले त माता शबरीको आश्रममा गएर जुठो बयर खाए । भगवानले दलितको रुपमा शबरीलाई लिएनन् । तर, उनका अनुयायीहरुले लिइरहे आजपर्यन्त ।

सामाजिक उपन्यास हो शबरी किनभने यसले समाजको चित्रण गरेको छ । एक जोडीको प्रेम प्रसंगबाट शुरु भएर अर्को जोडीको विवाहसम्म पुगेर टुंगिने उपन्यास पढ्दै जाँदा श्रंगारिक उपन्यास हो कि भन्ने लाग्छ । आरम्भदेखिका केही पन्नाहरुले यसैको संकेत गर्छन् । तर, जब माता शबरीको कथा शुरु हुन्छ, उपन्यास बल्ल आफ्नो विषयमा प्रवेश गर्छ ।

साहित्य सिर्जना र कृति प्रकाशन आफैमा महत्वपूर्ण विषय हो । त्यो भन्दा महत्वपूर्ण कृतिले लिएको विषय हो । यो उपन्यास विषयका आधारमा अब्बल छ । समाजका लागि मार्गदर्शन बन्न सक्छ । यो एउटा ऐना हो, जसले समाजको तस्वीर देखाउँछ ।

यो एउटा निको नभएको घाउ हो, जुन बेला बेलामा चहर्याउँछ । अनि यो एउटा शल्यक्रिया हो, जसले वर्षौदेखि समाजमा व्याप्त रोग निको पार्न मद्दत गर्छ ।

उपन्यासका प्रमुख पात्र हुन्, दुष्यन्त र शबरी । शीतल आमा, सुमन, गुरुकुलका स्वामी, प्राचार्य, दुष्यन्तका बाबु आमा, दुष्यन्तकी भाउजु रचना र दुष्यन्तको दाजुको छोरा रन्जन अनि शीतल आमाकी भाइ विदुर र उसकी छोरी रक्षाले यस उपन्यासलाई जीवन्त बनाएका छन् । पुरानो पुस्ता र नयाँ पुस्ता अनि पुरानो पुरातन सोंच र नयाँ सोंच पनि यिनै पात्रहरुले बोलिरहेका छन् ।

उपन्यासको आरम्भमा दुष्यन्त र शबरीको भेट जसरी भयो, त्यसको कथा अलि काल्पनिक लाग्छ । घना जंगलको बीचमा एउटा सुन्दर तलाउ हुनु, त्यो तलाउको छेउमा एउटी सुन्दरी रहनु, नदेखिकनै एकले अर्कोलाई परीक्षा लिनु अनि क्षणभरमा अलप हुनु जस्ता घटना नाटकीय लाग्छन् । दैवी कालमा मात्रै संभव हुने कुरालाई उपन्यासकारले वर्तमान समयमा भएको घटनाका रुपमा देखाएका छन् ।

गुरुकुलमा पढ्ने दुष्यन्त जडिबुटी खोज्दै वनमा जाँदै गर्दा जब वनदेवी (शबरी) भेटिइन् अनि विस्तारै उनीहरुको प्रेमभाव पलायो, त्यसपछि मात्रै कथाले गति लिन्छ । उपन्यासको विषयवस्तु जव शीतल आमा (शबरीकी आमा) मा पुग्छ, तब कथाले रोचक र कारुणिक मोड लिन्छ । माथिल्लो जातकी कन्या, दलित युवकसँगको प्रेमपछि गन्धर्व विवाह गरी माइती नै नफर्की बसेकी शीतलकी छोरी हुन् शबरी । जब शीतलले आफ्नो कथा सुनाउँछिन्, पाठकहरु खुराक भेट्छन् ।

लामो समय राजनीतिमा सक्रीय लेखकले शीतल आमाको नाममा आफ्नो धारणा पस्केको धेरै ठाउँमा अनुभूति हुन्छ । लेखक आफैले समाज चिनेका छन् । उनलाई विभेद के हो राम्ररी थाहा छ, त्यसैले उनले कतै कतै राजनीतिक मन्तव्य जसरी विषयलाई उठाएका छन्, जुन पात्र भन्दा बढी परिस्कृत छ ।
बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकोत्तर मजगैयाँले जातीय विभेद र समानताका बारेमा ग्रन्थहरुमा लेखिएका धार्मिक श्लोकहरुलाई टपक्क टिपेर ल्याएका छन् । पात्रहरुको क्षमता भन्दा धेरै माथि देखिने यी श्लोकहरुले सन्देश त दिएका छन्, तर, पात्र बोलेको कि लेखक भन्ने खुट्याउन मुस्किल छन् ।
‘धर्मले त प्रार्थना सिकाउँछ, प्रताडना सिकाउँदैन’ (पेज ६२) बडो मार्मिक सन्देश दिन खोजेका छन् लेखकले यसमा । त्यस्तै जसले गल्ती गर्छ, सजाय पनि उसैले पाउँछ भन्ने सन्देश पनि उपन्यासमार्फत दिन खोजेका छन् ।

विवाह गरेर घर पुगेका छोरा बुहारीलाई के गरिन्छ ? स्वागत गरिन्छ र भित्र्याइन्छ । तर, दुष्यन्त र शबरीले यति घृणा भेटे कि मानौं त्यो भन्दा ठूलो अर्को कुनै गल्ती नै हुँदैन । मध्यरातमा घरबाट बाहिरिनुपर्ने अवस्था जब आउँछ, पाठकको पनि आँखा रसाउँछ । ‘आमा मलाई एक पटक बुहारी त भनिदिनुस्’ भन्दै शबरीले दुष्यन्तकी आमासँग गरेको बिलौनाले धेरैको मन छुन्छ ।

दुष्यन्तको परिवार राजनीतिक चेतयुक्त छ । उनका दाजु आन्दोलनमा मारिएका थिए र शहीद बनेका थिए । राजनीतिक चेतयुक्त परिवारलाई यस उपन्यासमा राखेर उपन्यासकारले चेतना भएको परिवारमा पनि दलित र गैर दलितबीचको विभेद छ है भन्ने सन्देश दिएका छन् । बाहिर भन्ने एउटा र भित्र गरिने अर्कै हुन्छ भनेर राजनीतिकर्मीहरुलाई पनि सबक सिकाएका छन् ।

मिलनबाट शुरु भएको उपन्यासको अन्त्य मिलनमै हुन्छ । तर, एउटा मिलनबाट अर्को मिलनसम्म पुग्न ११५ पृष्ठको यात्रा गर्नुपर्छ । कतै दया लाग्छ, कतै जिज्ञासा अनि कतै अब के हुन्छ भन्ने चासो यो उपन्यासको यात्रामा पाइन्छ ।

उपन्यासले करिव बीस वर्षको अवधि बोकेको छ । त्यसबीचका घटनाक्रम समेटेको छ । र, यसबीचमा हुन सकेका चेतनाका उपलब्धीलाई पनि समेटिएको छ । जब दुष्यन्तका दाजुको छोरा रन्जनको विवाह विदुरकी छोरी रक्षासँग हुने चर्चा चल्छ, त्यसले तीन परिवारबीचको मिलन गराउँछ । दलित युवकसँग भागेकी विदुरकी दिदी शीतल, उच्च ब्राह्मणको छोरा दुष्यन्तसँग विवाह गरेकी शबरी अनि यिनीहरुसँगै पारिवारिक रुपमा जोडिएका रन्जन र रक्षा । अन्तिममा रन्जन र रक्षाको जोडबलका कारण शीतलले विदुरको घरमा प्रवेश पाउँछिन् त दुष्यन्त र शबरीले सुवासको घरमा ।

दलित र गैरदलितबीच विवाह भए के मात्र हुँदैन भन्ने उदाहरण पनि उपन्यासमा दिइएको छ । घरबाट निकालिएका दुष्यन्त र शबरी दुवै मेहनेती थिए । आयुर्वेदिक औषधि विज्ञानमा अब्बल थिए दुष्यन्त । दुष्यन्त र शबरी मिलेर शहरमा स्वास्थ्य केन्द्र खोले । राम्रै आम्दानी पनि गरे । तर, गैर दलित समुदायले जब थाहा पायो, उनीहरुमाथि आक्रमण शुरु भयो । दलित र गैर दलितबीच विवाह भए दम्पत्तिले गरिखाने अवस्था पनि हुँदैन भन्ने समाजको चित्रण पनि मजगैयाँले गरेका छन् ।

त्रेतायुगकी शबरीलाई आधार बनाएर तयार पारिएको यो कृति दलित आन्दोलनका लागि महत्वपूर्ण खुराक पनि हुन सक्छ । धार्मिक अतिवाद र कुसंस्कार पछ्याउनेका लागि गतिलो झापड पनि हुन सक्छ । त्यसैले जबसम्म नेपालमा जातका आधारमा विभेद रहिरहन्छ, तबसम्म यो कृति बलियो अश्त्र बनेर उभिइरहने छ ।

शमी साहित्य प्रतिष्ठान अनामनगर, काठमाडौंले प्रकाशन गरेको यो कृतिमा साहित्यकार डोलिन्द्रप्रसाद शर्माले प्रकाशकीय लेखेका छन् । शर्माको प्रकाशकीय र मजगैयाँका दुई शब्दले नै उपन्यास कति बलियो छ भन्ने स्पष्ट पार्दछ ।

लेखकले आफ्ना कुरामा लेखेका छन कि बेलायत बसाइका क्रममा यो कृति तयार पारिएको हो । तर, यो चेत नेपालकै अनुभव हो र यसलाई नेपाली समाज रुपान्तरणमा उपयोग गरिनुपर्छ ।
संक्षेपमा
कृति : शबरी (उपन्यास)
लेखक : बलदेव मजगैयाँ
मूल्य : नेरु १९९
पृष्ठः ११५ (गाता, प्रकाशक र लेखकको भनाइ बाहेक)
संस्करण : प्रथम २०७७

ad
ad
ad