यदि तपाईं पेट्रोलियम कारबाट प्रदूषणरहित इलेक्ट्रिक कारतिर जान चाहनुहुन्छ तर चार्ज गरिरहनुपर्ने समस्याले रोकिनुभएको छ भने तपाईंका लागि खुशीको खबर छ ।
तेल हाल्ने या चार्ज गर्ने झन्झटबिनै सौर्य ऊर्जाबाट चल्ने अप्टेरा-3 कार बजारमा आउने भएको छ । 'नेभर चार्ज' भन्ने नाराका साथ अमेरिकाको एउटा स्टार्ट-अप कम्पनी अप्टेरा मोटर्सले विकास गरेको तीन पाङ्ग्रे कार आफै चार्ज हुनेछ र चाहिएको बेला तयार हुनेछ । आगामी वर्ष डेलिभरी दिने गरी खोलिएको यो कारको पहिलो लटको बुकिंग २४ घण्टाभित्रै सकिएको थियो । दुई सिट रहने यो कारको मूल्य कम्तिमा २६ हजार अमेरिकी डलर तोकिएको छ ।
नारामा भनिएजस्तो यो सधैँ बिना चार्ज नै चल्ने भने होइन । तपाईंले यो सोलार कारलाई खुला र घाम लाग्ने ठाउँमा पार्क गर्नुपर्नेछ र बाहिरी भागमा रहेको सोलार प्यानलले यसमा रहेको ब्याट्री चार्ज हुनेछ । एक पटकको चार्जले चालीस माइल अर्थात् ६४ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार एक वर्षमा १८ हजार किलोमिटरसम्मको यात्रा तेल या बिजुली बिना गर्न सकिने हुनाले यो अन्य कारभन्दा सस्तो र वातावरणमैत्री हुनेछ । आवश्यक पर्दा बिजुलीबाट समेत यसलाई चार्ज गर्न सकिन्छ ।
यो कार सफल भयो भने स्वच्छ ऊर्जातर्फको विश्वव्यापी यात्रामा ठूलो मद्दत पुग्ने विश्लेषकहरूको राय छ ।