ad

राजनीतिक भ्रम समाप्तिको एक युग

डा जगन कार्की
शनिबार, पौष ११ २०७७
image

तत्कालिन बाइसे चौबिसे राज्यमा विभक्त नेपाल सन् १७६७ मा गोरखाका राजा पृथ्वी नारायण शाहले ठूलो देशको राजा बन्ने  महत्वाकांक्षाबाट थालनी भएको भौगोलिक एकीकरणसंगै शाह वंश  र नेपालको जग बसेको देखिन्छ  । सन् १८४६ मा एउटा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छाए । उनले नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवारिक शासनको जग बसाले  । यो  उनको चरम शक्तिशाली हुने व्यक्तिगत महत्वाकांक्षाबाट नै निर्देशित देखिन्छ ।

प्रजातन्त्र संग खड़ा गरिएका  भ्रम

कांग्रेस पार्टीभित्र चलेको सत्ता खिचातानीको फाइदा २०१७ मा राजा महेन्द्रले उठाए ।  महेन्द्रले पनि जनताकै लागि भनेर मुलुकमा निरंकुश पञ्चायती शासन व्यवस्था लागू गरेर विकासको मूल फुटाउने अर्को भ्रमको महल खड़ा गरिदिए । यो उनको चरम शक्तिशाली शासक बन्ने ब्यक्तिगत महत्वकांक्षाद्वारा नै निर्देशित देखिन्छ । जब नागरिक स्वतन्त्रता खोसिएर पंचहरूको दाईं शुरु भो पंचायतप्रतिको भ्रम भंग भएको देखीन्छ । त्यसपछिका राजनीतिक आन्दोलनहरूमा गणतन्त्र मार्फ़त रामराज्य ल्याउने अर्को  भ्रम  सुरुमा कांग्रेसका केही नेता र पछि कम्युनिस्टहरूको एजेन्डा बन्दै आयो ।

प्रकारान्तरमा सुरु भएका स्वतन्त्रता,  प्रजा र लोककातन्त्रका नामका शासन ब्यवस्था नाम मात्र फेरीए चरित्र बदलिएन ।

फेरी लोकतन्त्र आए सारा देश कायापलट हुने भ्रमजाल बुनियो ।

२०४६ सालमा पंचायत ढल्यो, प्रजातन्त्रका नाममा नव सामन्तको उदय भयो लुट शृंखला नया ढंगले चले । बिश्व परिवेशमा हुर्कंदो लोकतन्त्र , मानव अधिकार र स्वतन्त्रताको लहरसंग़ै नेपालमा सुरु गरिएको स्वतन्त्रता संग्रामका मुद्दा र उद्देश्य जायज़ भए पनि ग़लत प्रवृति र पात्रहरूले सत्तारोहणको भर्यांगको रुपमा मात्र प्रयोग गरेको देखियो ।

गरीव , शोषित, उत्पीड़ितको उत्थान भएन।   भयो  त केवल जनताको प्रजातन्त्रका नाममा रहेको रामराज्यको सपनाको भ्रम नेता र नेतृत्वको चरित्र र कार्यशैलीले भंग गरीदियो ।

गणतन्त्र र संविधानसभाको नयां भ्रम

माओवादीले २०५२ सालमा सशस्त्र संघर्ष गर्दा गणतन्त्रात्मक संविधान निर्माणको एजेन्डा उठायो, नयां संविधान र  गणतन्त्र पछि सबै समस्या फु मन्तरले हराउने हौवा पिटियो र नयां भ्रमको महल  सृजना गरियो । त्यती मात्र हैन प्रजातन्त्रको लड़ाई संग़ै कम्यूनिस्टहरूले बुनेको अर्को भ्रम कम्युनिस्ट, सर्वहाराको शासन आएपछी गरिवी घटछ , मजदुरलेले भनेका कुरा लागु हुने , जसको  जोत उसकै पोत हुने , सर्वहाराको सरकार यावत भ्रम पनि खड़ा गरिएका थिए ।

फलस्वरुप जनताले साथ दिए आन्दोलन उत्कर्षमा पुग्यो । शान्ति वार्ता, संविधानसभा हुंदै  वि.सं २०६५ जेठ १५ देखि वि.सं. २०६९ जेठ १५ सम्म ६०१ सभासदले भत्ता पचाए । त्यस पश्चात फेरी अर्को कार्यकाल पनि खाएर सुरु भएको संघीय संरचनासंगै थपिएका मन्त्रिहरु अनि बढेका मुख संगै बढेको अनियमितताले मुलुकलाई काम गर्ने भन्दा नगर्ने तर्फ धकेल्यो ।

नयाँ संविधान : नयां नेपालको भ्रम

१७,००० जनताको  रगतले पोतिएको वर्तमान संविधान र व्यवस्था अनुरुप नयाँ चुनाव भयो । मुलुकले त्यति लामो हत्या , हिम्सालाई अन्त्य गरेर ठूलो धनरासी खर्च गरेर ल्याएको संविधानले उत्कृस्ट नतिजा हासिल गर्ने हौवा पिटियो । गणतन्त्रको नाममा गरिएको त्याग र बलिदान केवल सत्ता हत्याउन मात्र थियो भन्ने कुरा क्यान्टोनमेन्ट र शहिद परिवारका नाममा तिनैका कमाण्डहरुबाट सुरुभएको घोटालाबाट प्रस्ट हुन थालीसकेको थियो । त्यस पश्चात अकस्मात संसदीय भासमा पसेर गर्न थालिएका नीति र  सिद्धान्तहीन गठबन्धनले एक पछी अर्क़ो भ्रमको पर्दा खोलेर गयो ।

कम्युनिस्ट सरकार र शासनको लामो समय देखिको भ्रम

स्थिर सरकार र सम्वृद्धिको नारा दिने भनी रातारात एक भएका दुइ ठूला कम्युनिस्ट पार्टीको एकताले चुनावमा प्राप्त गरेको जनमतलाइ संसदको हठात् विघटनले घोर अपमान गरेको छ ।

हाल केपी ओलीले चालेका कदम संविधानको मर्म र भावना विपरित भन्दै सर्वत्र  विरोध चलेको छ । ओली जस्ता स्वतन्त्रता र जनअधिकारको नाममा जेल/नेल खेपेका,  नेपालमा  राष्ट्रवादी  छवि बनाइसकेका मानिसले यति तल गिरेर यो अलोकप्रिय कदम चाल्नुको पछाडी  निम्न कारण रहेका देखिन्छन् :

१. उनले गरेका १ पछि अर्का बदमासी , लगाम विनाको बोली र असंवैधानिक विधेयकसंगै विकसित राजनीतिक घटनाक्रमले उनको पद जाने निश्चित थियो, साथै उनी लगायत राष्ट्रपति  पनि महाभियोगमा पर्ने । मर्नु भन्दा बहुलाउनु निको भन्ने भावना प्रमुख देखिन्छ ।

२. ओलीसंग घाँटी जोडिएका गोकुल बाँस्कोटा, ओम्नी, यति,  इश्वर पोखरेल, बिष्णु पौडेल,  भानुभक्त ढकाल लगायतका पात्रहरुले कुम्ल्याएको अकुत सम्पत्तिको सेफलेन्डिंग गर्न  ती पात्रहरुको उक्साहट ।

३. सके र भएसम्म दुनियाको कुनै ताकतसंग नझुक्ने अहंकार

४. संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिको अविस्वास

५. दोस्रो पटक किड्नि फेरेपछि पाएको बोनसको जीवन संगै अति आत्मविश्वास

६. ओलीलाई भजाएर अकुत फाइदा लिएको माफिया समुह ओलीलाई पार्टी संग झुक्न भन्दा  एकलौटी संबैधानिक भ्याकुम सिर्जना गरेर राष्ट्रिय ढुकुटीको लुटपाट गर्न

७ भू राजनीति 

उनका सामु सुन्दर विकल्प थिए । अध्यक्ष छोड़ेर पूरा अवधि प्रम बन्ने पार्टीसंग सुझाव र सहयोग लिएर सरकारलाई उचाइमा पुर्याउने या राज़ीनामा दिएर सम्मानित जिवन जिउने ।  तर चरम स्वार्थकेंद्रित भएर चालिएको  मूर्खतापूर्ण असंवैधानिक कदमले ब्यवस्था प्रति नै वितृष्णा जगाई दिएको छ ।

“ब्यवस्था” खराब कि नेतृत्व  ?

लामो रक्तपात अनि राजनीतिक लडाईसंगै स्थापना गरिएको  संबैधानिक ब्यबस्थामा दुई तिहाइको  सरकार हुँदा पनि स्थिरता दिन नसक्नु बिडम्बना मात्र हैन गहिरिएर सोच्नु पर्ने बेला पनि आएको छ । 

संसदीय प्रणालीसंग़ै सुरु भएका मिलीजुली सरकारले मिलीभगतमा खाने क्रममा सुशासन भएन भन्ने थियो । तर झन्डै दुई तिहाई बहुमतको  सरकार हुँदा भ्रस्टाचार नियन्त्रण  र  शासकीय ब्यबस्थामा सुधार त के झन् उग्र बेथिति बढेर जानुले  बहुमतको सरकार नै समाधान हो भन्ने अर्क़ो भ्रम पनि चिरिएको छ । कांग्रेसको बहुमत सरकारका पालामा पनि संसद विघटन र सांसदका टाउका ख़रीद बिक्रिले यस अघि पनि भ्रम भंग गरीदिएको अवस्था हो ।

नया परिस्थितिमा दरिलो सरकार, एकलौटी हुदाँ पनि पुरानै संरचना र सामाजिक रुपान्तरणमा कुनै परिवर्तन नआउनुले व्यवस्था खराब कि नेतृत्व ?  गम्भीर समीक्षाको घडी आएको छ । तर यो समीक्षा गरेर कोर्स करेक्सन गर्न राज्यले फेरी अर्को प्रयोग, साधन स्रोत र समयको बर्बादी गर्नु पर्ने भएको छ ।

यी तमाम क्रियाकलाप हेर्दा यो ब्यवस्था नाम मात्रै फेरिएको छ । गणतन्त्र पछि राजाका ठाउँमा राष्ट्रपतिको प्रतिस्थापन गरियो तर रहनसहन फेरिएन । राजनीतिज्ञको सोच पुरातन प्रवृतिबाट  मुक्त हुन सकेको छैन ।  शासकहरुका  सोच नै  नफेरिँदा मुलुकको मुहार बदलिने सम्भावना नै भएन । दलका नेताहरु पुराना  सामन्ती प्रथाको प्रतिनिधि झैँ देखिन्छन् । जंग बहादुरदेखी ओलीसम्म आइपुग्दा राज्य संचालकको सोच शक्तिसाली बन्ने,  अधीनमा राख्ने, आफुलाई समर्थन गर्नेका ७ खुन माफ़ी दिने विपक्षीलाई सिध्याउने सोचले नै निर्देशित देखीनु प्रमुख हो भने ।

पछिल्लो कालमा शक्ति, सत्ता, पैसा र गुंडागर्दीको बलमा चुनाव जितेर राज्य सत्ता क़ब्ज़ा गर्ने पक्ष बलियो हुनु नेपाली समाजको शक्ति पुजन र ग़लत परिपाटीलाई मतदान गरी सत्तामा पुर्याउने प्रवृति पनि ज़िम्मेवार देखिएको छ ।

समस्याको जड़

धुलो अनुहारमा छ, ऐना फुटालेर हुन्न । ‘ओलीले बदमासी गरे, ब्यवस्था खत्तम’ भन्ने अधिकार ती जनतामा रहेन जसले उनलाइ जिताएर पठाए ।

यहाँ पद र शक्तिको लागी जे सुकै गर्ने नेतृत्वले मुलुक र जनताको बारे सोचेनन् । रास्ट्र संचालन गर्नु , नेतृत्व गर्नु भनेको सेवा र त्यागको भावबाट समर्पित हुनु हो । तर हाम्रा नेता पद र शक्तिका भोका भए । देशको राजनीतिक संस्कार नै शक्तिपूजक देखियो । लामो संघर्ष र बिभिन्न आज़ादीका आंदोलन अनि लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाले निर्देशित गरेको नेताको चरित्र भनेको उच्च नैतीकता, ब्यावहारिक, भविस्यलाई हेरेर नीति निर्माण, अध्ययनशील, सबैलाई बिश्वासमा लिन सक्ने, समानुपातिक, समावेशी सिद्धांतलाई ब्यावहारिक तहमा लागू गर्न सक्ने हो । लोकतन्त्रमा चुनाव, तिकडम र जसरी पनि ज़ित्ने हो भन्ने अभ्यास नै ग़लत हो । एकपटक चुनाव हारेपछी बाहिरीने, उच्च नेतृत्वमा पुगेपछि, परीक्षित भएपछि अवकास लिएर सम्मानको जीवन जिउने नैतिक मूल्यमान्यता लोकतन्त्रले खोज्छ । तर नेपालमा काग़ज़ र ब्यवस्थामा लोकतन्त्र ल्याइए पनि ब्यवहारमा अझै आएको छैन । यो नै अहिले नेतृत्वमा बसेका अधिकांश दलका नेताहरूको  ग़ैर ज़िम्मेवारीपन र ग़द्दारी हो ।

जनता र नागरिक समाजमा देखिएको विकृति

रक्सी, मासु र पैसामा भोट दिने, उम्मेदवारलाई नाता या पार्टीको हिसाबले मत दिने । युवा समूहदेखी आमा समूह मिलेर उम्मेदवारसंग पैसा माग्ने अनि गुंडानाइके देखी हत्यारासम्म जो पायो त्यहीलाई जिताएर सम्सद पुर्याउने अनि काम भएन भन्ने परिणाम खोज्ने ग़लत संस्कार छ । दल र स्वार्थमा निर्देशित नागरिक समाज र बौद्धिक वर्ग़पनि राजनीतिलाई दिशानिर्देश र हस्तक्षेप गर्न अक्षम हुनु विकृतिलाई मलजल गर्नु मुख्य कारक देखिएका छन् ।

आख़िर कस्तो ब्यवस्था ?

हामीले अंगीकार गर्न खोजेको लोकतन्त्र नयां तानाशाह र सन्की शासक जन्माउने हैन शक्तिलाई पृथकीकरण गरेर एक अर्कालाई ब्यालेंस गर्ने हो, जनताको पक्षमा प्रयोग गर्ने हो ।

पार्टी भित्रबाट नेतृत्व नियंत्रित हुने हो, संसदबाट नियंत्रित र परीक्षित हुने हो । परीक्षा सामना गरेर, पास भएर जनपक्षमा काम गर्ने हो । संबिधानको सर्वोच्चताले गुण्डानाइके शैलीमा संवैधानिक भ्याकुम सृजना गरेर, राज्य शक्ति क़ब्ज़ा गरेर, भ्याएसम्म लुटने नियत कदापि स्वीकार्य गर्दैन  । सरकार, कार्यपालिका, न्यायपालिकाको शक्ति संतुलन, समझदारी  र बिश्वासमा जनपक्षमा काम गर्न राज्य संयन्त्र चलुन् भन्ने हो । तर उल्टो आफनै खल्तीको राष्ट्रपति, अर्क़ो पार्टी आउने कारण उपसभामुख नै नियुक्ती नगर्ने, सत्ताको उन्मादले संवैधानिक परिषदलाई, पार्टीलाई बिश्वासमा लिन नसक्ने अनि हठात् संसद बिघटन गर्दिने काम भएको छ ।

कहिले राष्ट्रवादका नाममा , कहिले लोकतन्त्रका नाममा  , कहिले लाल फेटा बाँधेर क्रान्तिका नाममा ,  कहिले शान्तिका नाममा गरिएका हरेक क्रान्ति सफल भए पश्चात  तिनै क्रान्तिका नायक हरुबाट उपलब्धि धरापमा पार्ने काम भए,  पटक-पटक गद्दारी भए । अब नेपालमा जनता ठग्नलाई कुनै  वाद र व्यवस्था नै बाँकि रहेन ।  यसर्थ यहाँ समस्या वादमा  हैन हाम्रा प्रवृति र हामीले नै मलजल गरेर हुर्काएका नेताहरुको नियत नै खराब देखियो । यो प्रवृति रहुन्जेल जुनसुकै व्यवस्था आए पनि सफल नहुने स्पस्ट देखिएको छ । लगभग दुइ तिहाइको गणतान्त्रिक कम्युनिस्ट सरकारलाई रद्दीको टोकरीमा मिल्काएर यी तमाम भ्रमहरुबाट मुक्त गरिदिएकोमा कम्तिमा अहिलेलाई  केपी ओलीलाई धन्यवाद भनौं ।  

अब पुरानो पुस्ताको  फेरो समातेर राजनीति गर्ने नया पुस्ताले त्यो  गरिब सोच त्यागेर स्वावलम्बि राजनीति गर्ने, राजनीतिको शक्ति केन्द्र जनता हुन् नेता हैनन् भन्ने मूल्य मान्यता स्थापित गर्न हरेक दलहरु लोकतान्त्रिक बन्नलाई प्रोत्साहन गर्न  नागरिक दवाव जरुरि देखिएको छ । पार्टीले नै भ्रस्ट र अक्षमहरुलाई फिर्ता बोलाउन सक्ने व्यस्था लागु गर्न सबै पार्टीहरुमा दबाब दिने जुझारु कार्यकर्ताको हस्तक्षेप जरुरि देखिएको छ ।    

परम्परागत राजनीति गर्ने भ्रम त्यागेर यत्रो तीन पुस्ताको निरन्तर संघर्षबाट प्राप्त व्यवस्था र संरचना जोगाउन जरुरी देखिएको छ   । राजनीति भनेको पैसा कमाउने  र तानाशाहहरुले झैँ  शक्तिको भोग विलास गर्ने, सत्तामा पुगेर सनक र आवेग देखाउने  साधन हैन, यो विशुद्ध समाज सेवा गर्ने माध्यम हो भन्ने मान्यता स्थापित हुन जरुरि छ ।  दलहरु भनेका धर्म जस्तो आजीवन धारण नगरेर नीति, नेता र कामका आधारमा दण्ड र पुरस्कृत गर्ने स्वतन्त्र नागरिक सोच र विचारको जन्म हुन जरुरि देखिएको छ ।   अबको समय र राजनीतिले त्याग, सत्याग्रह , इमान र सच्चाई सहितका नेता खोजेको छ । क्षणिक कुर्सीमा पुगेर रमाउने , जाल झेल गर्ने , राजनीतिकालागी मात्र राजनीति गर्ने परम्परागत नेता र प्रवृतिको अन्त हुनु पर्ने भएको छ ।  हरेक पार्टीभित्र रहेका तानाशाही र अलोकतान्त्रिक प्रवृतिको अन्त्यको लागी तत् तत् दलका कार्यकर्ता र सचेत नागरिक समाजले सचेत हस्तक्षेप गर्नु पर्ने उपयुक्त बेला आएको छ ।
लोकतन्त्रको,  नैतिकता र सदाचारको मार्ग कठिन र जतिबेला पनि अपहरणमा पर्न सक्ने हुनाले हरेक नागरिक सचेत हुनुपर्ने बेला आएको छ ।  राजनीति गरेर कमाउने हो,  लुट्ने हो भन्ने भाष्यलाई संरक्षण गर्ने हाम्रो समाजको सोच र आचरणमा नै आमूल परिवर्तन आउन जरुरी देखिएको छ ।  लोकतन्त्रको विकल्प अझ परिस्कृत लोकतन्त्र नै हो ! 

 

लेखकलाई फलो गर्न  Twitter @Jaganbimal  email:   jnkarki@gmail.com

ad
ad
ad