काठमाडौँ -- सरकारले देशभरका ३०९ वटा पालिकामा सोमबार ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरेको खबर मिडियामा आएका छन् । सरकार समर्थित केहि व्यक्तिहरुले त्यसलाई स्वास्थ्य क्रान्तिको जग भनेका छन् भने केहिले सामाजिक संजालमा यस अघि प्रम ओलीले उद्घाटन गरेका पानीजहाज, रेल, तेल र हावाको बिजुली जस्तै प्रोजेक्टको रुपमा पनि टिप्पणी गरेका छन् ।
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले ३९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरेर शुरु गरिएको भनेको उक्त परियोजनाको बीजारोपण तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का पालामा भएको हो ।
पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्री गगन थापाको योजनालाई मन्त्रिपरिषदले पास गरेर मोडालिटि तथा सर्वे समेत पुरा गरिएको थियो ।
प्रचण्डले नेपाली कांग्रेससहितको गठबन्धन सरकारको नेतृत्व गर्दा स्वास्थ्य मन्त्री थिए गगनकुमार थापा । छोटो समय मन्त्रालय सम्हालेका थापाले स्वास्थ्य क्षेत्रमा थुप्रै नीतिगत जग बसाल्ने प्रयास गरेका थिए ।
एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना
त्यसमध्ये एक हो, एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना । हरेक नागरिकले आधा घण्टाको दूरीमा आधारभूत स्वास्थ्य सेवा पाउन सक्ने गरी प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने गुरुयोजना त्यसबेला बनेको थियो । अस्पताललाई बेडका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ बनाएपछि २१ वैशाख २०७४ मा मन्त्रिपरिषद् बैठकले त्यसलाई स्वीकृत पनि गरेको थियो । भवनको पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका बनाउनुका साथै कुन स्थानीय तहमा कहाँ र कस्तो अस्पताल बनाउने टुंगो लगाएको थियो । तर, बजेट ल्याउन नपाउँदै स्वास्थ्यमन्त्रीबाट थापा बिदा भए ।
कांग्रेस र माओवादीको समझदारीअनुसार चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरे । दीर्घकालिन योजना भएकाले चुनावी सरकारको प्राथमिकतामा पर्ने कुरै थिएन, निर्वाचन आचारसंहिताले पनि दिएन । त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका हरेक मन्त्रीलाई यो योजनाबारे सम्झाउन पूर्वमन्त्री थापा मन्त्रालयमा आउने गरेको एक सहसचिवले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णय र स्वास्थ्य मन्त्रालयको निर्देशिका जस्ताको तस्तै :