ad

‘एनआरएनए अदृश्य शक्ति र भूमिगत गिरोहको पोल्टामा जाने खतरा देखिएको छ’

बिहीबार, मङ्सिर १८ २०७७
image

 लण्डन-- गैरआवासीय नेपाली संघमा फ्री मेम्बरशिपदेखि अनलाइन भोटिंग सम्मका विषयमा चर्को बहस भैरहंदा संघका  सल्लाहकार विश्व आदर्श पण्डित भने सामाजिक संजालमा त्यति देखिएका छैनन्।  संघभित्र  प्रजातान्त्रिक धारको एकजना अगुवाको रुपमा चिनिने पण्डितले सन् २०१५ मा नेपालमा  भूकम्प गएको दुखद खवर आएको घन्टा नवित्दै पिडितलाई एक लाख सहयोग गर्ने घोषणा गरेर तत्कालिन अध्यक्ष शेष घलेलाई सम्बोधन गरेर तुरुन्त फन्ड कलेक्सन गरेर पठाउन आह्वान गरे।  त्यस पछि अध्यक्ष घलेको नेतृत्वमा सिंगो एनआरएन परिचालित भएको थियो। संघभित्र विभिन्न पदमा हुंदा वा नहुंदापनि संस्थाका सदस्य र सरोकारवालाहरुको पक्षमा आवाज बुलन्द गर्दै आएका पण्डितसंग ग्लोबल नेप्लिजले गरेको कुराकानीको सम्पादित अंश :

सल्लाहकारको रुपमा संस्थाको भूमिकाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

गत वर्ष गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनका दौरान काठमाडौँमा नयाँ नेतृत्व चुन्न चुनाव  भयो।  जे जसरी नतिजा आयो त्यसलाई मान्ने कि नमान्ने भन्ने तीव्र बहस चल्यो । चुनावलाई मानेर जानुको विकल्प छैन मान्न पर्छ र सृजनात्मक सहयोगमा लाग्न पर्छ भनेर मैले नै कुल जी, शेष घले ज्यू  लगायत थुप्रै साथीलाई अनुरोध गरें । नतिजा मानेर अगाडि बढ्ने निर्णय भयो। त्यसैले पनि होला संस्थापन शुरुका दिनमा उदार बन्न खोजेर भट्टाभट हामीलाई समेत नियुक्ति गरियो ।

तर, केही दिनमै चलखेल गर्ने र संस्थालाई साँघुरो घेरा भित्र राख्न पर्छ भन्नेहरुको तीव्र दबाबका कारणले होला शायद गलत गरिए छ कि क्या हो भन्ने परेछ जस्तो लाग्छ । सम्पर्क गर्न खोज्दा कम्युनिकेशन बन्द नै गर्न खोजे जस्तो अनुभूति हुन थाल्यो।  महासचिवलाई यसरी जाऔं भन्नका लागि फोन गर्दा दÞशौं कलको पनि जवाफ आएन बरु पछिका दिनमा अपवादलाई छोड्दिने हो भने पहिला गल्ती गर्यौं भन्ने ‘गिल्ट’ लिएर भटाभट एकतर्फी रुपमा संसारभर मनोमानी ढंगले टास्कफोर्स बनाउने र नियुक्ति गर्ने गर्न थालियो।  यस्तो एकलौटी  नगर्न मैले टेक्स्ट पठाएर अनुरोध पनि गरेँ। जे जति हामीसँग नजिकको साथी थिए तिनको नियुक्ति त परै जाओस् नाम पनि लिन रुचाइएन।  

संस्थामा सामन्ती मानसिकता हाबी भएको छ । सल्लाहकारको भूमिकालाई पनि खुम्च्याइएको छ। तल पार्न खोजिएको छ। म एऊटा कार्यक्रममा भाग लिन गएँ तर वैधानिक प्रवधान विपरीत तल देखाउने कोशिस भयो। त्यसैले काम गर्ने जाँगर पनि मर्दै गएको छ । तर पनि आम साथीहरुसंग संसारभर नै निरन्तर सम्पर्क र सहयोग आदान प्रदान गर्ने काम गरिरहेको छु ।  आम एनआरएनका सवालका कार्यक्रम जो सुकैले ल्याओस् सहयोग गरेर जानपर्छ भन्ने नै छ । यो त भयो मेरो भुमिकाको कुरा।  

जहांसम्म संस्थाको भुमिकाको कुरा छ त्यो सन्तोषजनक छैन । केही मान्छेहरुलाई चुनावकै भोलिपल्टबार्टे अर्को चुनाव लागेको छ । शुरुका दिनमा कोभिडका कारण जसरी विदेशमा साथीहरु प्रभावित हुनु भयो, केन्द्रकौ ध्यान अर्कैतिर गयो। सरकारको ताबेदारी गर्ने, हामी तिम्रा साथमा छौ भन्दै वक्तव्य  निकाल्ने, तर सरकारले गर्न लागेका गल्तीप्रति खबरदारी गर्न साहस नगर्ने काम भयो। सहयोग वितरण एकजना व्यक्तिको निर्णयले मनोमानि ढंगले भै रहेको छ भन्ने सुनेको छु।  जसले सहयोग जुटाउन पहल गर्यो तिनलाई समेत बेवास्ता गरेर अगाडि बढिरहेको भन्ने आइरहेको छ । कोभिडका कारण समय कठीन छ, तर, यसैलाई बाहना बनाएर आफ्नालाई पोस्ने र जति गल्ती गरेपनि ढाकछोप गर्ने काम भएको गुनासो आइरहेको छ। जसरी सरकार पपुलिष्ट कुरा गरेर फेल हुँदै गइरहेको आभाष हुंदै छ, त्यसरी नै हाम्रा साथीहरु पनि पपुलिष्ट कुरा गर्नमा माहिर हुंदै गइरहेको भन्ने छ। केही व्यक्तिगत लहडमा कार्यक्रम घोषणा गर्ने र हामीसंग सामान्य कुरामा मतान्तर भएका साथीहरु उचालेर वक्तव्यबाजी गराउने काम भइरहेको छ । केही साथीहरुको आर्थिक कमजोरी र वाध्यता उपर सामन्तीहरुले विचौलियाहरु लगाएर खेल्न खोजेको प्रमाणहरु प्राप्त भइरहेछन्। यो सब बन्द गरेर आम एनआरएनको हितमा लागौं भन्ने आव्हान गर्न चाहन्छु।

कोरोनाको समयमा गैर आवासीय नेपालीसंघको भूमिका कस्तो पाउनु भएको छ ?
सजिलै सहयोग पठाउन सकिन्छ भन्ने साथीहरुलाई कारवाहीको धम्की दिइयो, तर पनि केही एनसीसीहरुले जसरी भुमिका निर्वाह गरे त्यसको ऊच्च प्रशसा गर्नैपर्छ। अरुले गरेको कामहरुलाई दाबी गर्नुभन्दा आफै कार्यक्रम घोषणा गर्न हामीले दबाब सिर्जना गर्यौ । संसारभरबाट सहयोग संकलन भयो।  मैले पनि सानोतिनो जति सकिन्छ सहयोग गरेको थिएँ ।

यसरी केही हदसम्म भनेपनि राहत दिने काम भयो । शुरुमा यो सहयोग नेपालतिर मात्रै तेर्सिए पनि वास्तविक रुपमा विदेशमै एनआरएनहरुलाई सहयोग चाहिएको भन्ने कुलजी लगायतको वक्तव्यपछि भने  स्पेन, इटाली, अमेरिका, बेलायततिर पनि केही सहयोग पुग्यो तर त्यो कसरी खर्च भयो त, अनुगमन गर्ने काम भयो भएन त्यो हेर्न बाँकी नै छ । तर अरब मुलुकहरुमा पर्याप्त सहयोग गर्न नसकिएको भन्ने छ । हेरौ कोभिड  कहर अझै सकिहालेको पनि त छैन नि। 

गैरआवासीय नेपाली संघमा पछिल्लो पटक पेचिलो बन्दै गरेको निःशुल्क सदस्यता सम्बन्धि बहसलाई कसरी हेर्नु भएको छ ?

ल एकछिन मानौं फ्री मेम्वरसिप हुने भयो ठिकै छ ।  तर, कार्यक्रम घोषणा गर्ने र ल्याउनेले संस्था कसरी चलाउने हो स्पष्ट, ठोस र विश्वासनीय आधार दिन पर्दैन ? मुखले बोल्दिएर मात्रै संस्था चल्छ ? संस्थाका ८२  कन्ट्री च्याप्टर चलाउन मात्रै लगभग १८, १९ करोडको हाराहारी पैसा चाहिँदो रहेछ ।  त्यो पैसा कताबाट कुन बाटो कस्को खल्तीबाट आउने हो कार्यक्रम चाहिएन र? यत्तिकै निर्णय गर्ने हो भने त संस्था अझ अदृश्य  शक्ति र भुमिगत गिरोहको पोल्टामा जाने खतरा देखिन्छ ।  

संस्था सञ्चालनको आधार खोज्दा विरोधी भन्न मिल्छ ? जथाभाबी नाम संकलन गर्ने र डेटावेसमाथि खेल्ने खतरा हुँदैन भनेर कसरी ग्यारेन्टि गर्ने ? हामीले आधार र औचित्य खोजेका हौं । धेरै पपुलिष्ट हुनुको औचित्य छैन।  ल ठीक छ, फ्रि सदस्यता  केन्द्रले गरोस् आफ्ना सदस्यता शुल्क नलिओस् तर एनसिसिहरुलाई किन आर्थिक भार थोपर्न खोज्या हो स्वतन्त्र छोडिदिए हुन्न ? कि यत्रो रेमिटेन्स भित्र्याएर देशको आर्थिक ऊन्नतिमा टेवा पुर्याइरहेको विशाल जनमानसलाई सानो वर्षको अढाइ डलर, पांच डलर  पनि तिर्न सक्दैनन् वा त्यो हैसियत पनि राख्दैनन् भन्ने सामन्ति मानसिकता त हैन होला निश्चय पनि । त्यसैले मैलेबवोले हुनैपर्छ भन्न भन्दा पनि  व्यावहारिक पक्षलाई हेरेर बोलेका कुरा सच्याउन पनि त सकिन्छ नि हैन र?
नागरिकताको विषयमा संविधान प्रदत्त दोहोरो नागरिकता दिन यत्रो प्रचण्ड बहुमत प्राप्त सरकारले किन नैराश्यता देखाएको होला ?

दोहोरो नागरिकता वा नागरिकताको निरन्तरता मुद्दा हामीले संस्थाको जन्म कालदेखि निरन्तर रुपमा उठाउंदै आएको मुद्दा हो । यो विदेशमा रहेकाहरुलाई युगौं युगसम्म देशसंग जोडिराख्ने अभियान हो। शुरुमा थुप्रै व्यवधानका वावजुद पनि एनआरएन परिचय पत्र दिने व्यवस्था गरियो तर हाम्रो अल्टिमेट गोल नागरिकताको निरन्तरता हुनाले सिम्बोलिक विरोध स्वरुप धेरै मानिसहरुले यसलाई अस्वीकार गरे पनि अत्यावश्यक ठानेका बाहेकले लिएनन् पनि । यो अनपपुलर भयो । हामीले यो मुद्दालाई निरन्तर उठायौं । राजनीतिक लविङ पनि गर्यौ ।

पछि संविधान जारी हुंदा यसलाई संविधानमै दर्ज गराउन सफल भयौं । अर्थात नेपाली नागरिकताको निरन्तरता दिने कुरा संविधानमै लेखाउन हामी सफल भयौं । हामीसँग नजिक रहेको दलको नेतृत्वमा सरकार हुँदा हाम्रो लविङको सुनुवाइ भएकै हो । कसैले माने पनि नमाने पनि यो छर्लङ्ग छ । मुद्दा उठानमा यस संस्थाका संस्थापकहरुको लगाव पनि उत्तिकै महत्वपूर्ण छ । 

तर, अहिले संविधानमा भएको व्यवस्थालाई अपव्याख्या दोस्रो दर्जाको गैरआवासीय नेपाली नागरिकता स्वीकार गर्ने भनेको सुन्दा दुख लागेको छ। कुन स्वार्थका कारण अहिलेको नेतृत्वले यसलाई स्वीकार गर्ने निर्णय गर्यो रहस्यमय छ। यो त पहिलेको  परिचय पत्र भन्दा पनि कमजोर व्यवस्था हो । कम्तीमा परिचय पत्र लिँदा त आफ्नो नागरिकता सरेन्डर गर्नु पर्दैनथ्यो । मैले केही महिना पहिल्यै नै वक्तव्य निकालेर नागरिकता सम्बन्धी विषय हामीले हाम्रा पालामा संविधानमा दर्ज गराउन सफल भएको र अब तपाईंहरुको पालो आएको छ, विदेशमा रहेका तपाईं नेकपा सम्वन्धित साथीहरुको कांधमा यो दुईतिहाईको सरकारलाई विश्वास दिलाउने र संविधानको मर्म बमोजिम कानूनमा व्यवस्था गर्न अनुरोध गर्दै चुनौति दिएको थिएँ । तर थाहा छैन किन हो नेपालको वर्तमान सरकार जसरी हुन्छ कमजोर नागरिक अधिकारका पक्षमा उभिएको छ भन्ने सुनिएको छ । एउटा कुरा भनौं,  तत्कालिन प्रधानमन्त्री सुशील कोइरालासँग कुरा हुँदा उहांले तत्कालिन अवस्थामा संविधानमा लेखिएको व्यवस्था नै नागरिकताको निरन्तरता हो भन्नु भएको थियो । तर खोई किन हो अहिलेको सरकार र हाम्रो नेतृत्व पनि यो उपलब्धीप्रति उदासिन देखिन्छ ।

अब राजनीतिक अधिकारका लागि संघर्ष गर्नु पर्ने बेला भइसक्यो । अहिलेको सरकार त संविधान नै संशोधन गर्न सक्षम छ । तर उल्टो दुईतिहाइले भइरहेको अधिकारलाई नि खोस्ने त हैन भन्ने आशंका उब्जिएको छ । तर हामी कुनै पनि हालतमा त्यस्तो अवस्था आउन दिने छैनौं । आखिर नागरिकताको निरन्तरताले देशले पाउने वाहेक गुमाउने त केही छैन । गैरआवासीयहरुको सिप र शक्तिबाट कैयौं देशले समृद्धि र प्रगतिमा छलांग मारेको उदाहरणहरु त हामीले पढेकै छौं। विदेशमा रहेपनि हामी देशकै उन्नति चाहन्छौं, तपाईं हाम्रो कानमा, मनमा, मुटुमा देश नै गुन्जिरहेको छ,  देश नै धड्किरहेको छ । होइन र ? 

बेलायत लगायत केही एनसीसीहरुमा आर्थिक पारदर्शिताका कुरा उठेका छन्। कसरी हेर्नु भएको छ ?         
पारदर्शिता र सूचनाको अधिकार (Right to Information)   कुनैपनि  लोकतान्त्रीक पद्धतिका आधारभूत मान्यताहरु हुन्। पारदर्शिताले नै कर्तव्य, उत्तरदायित्व र जिम्मेवारीको बोध गराउंछ र तलमाथि  हुन दिन्न जस्तो लाग्छ।  सदस्यता शुल्क लगाउनुको मुख्य कारण निर्वाचन खर्चमात्र व्यहोर्नका लागि ऊठाइएको खर्च भन्ने मानसिकता  भन्दा वाहिर निश्कन जरुरी छ । त्यसैले हिसावकितावमा भटाभट विना विल भर्पाई वा बनावटि विल तयार गरेर निर्वाचन खर्च व्यहोर्नकालागि खर्च गरियो भन्ने आरोप लाग्या छ भन्ने सुनेको छु । हुन त यो अहिलेको समितिलाई लागेको आरोप नभएर होला, तर पनि स्पष्ट हिसाव  किताव लिने र राख्ने जिम्मेवारी यहि समितिकै हो । खै किन हो यो समितिले हामीलाई, खासगरी म जस्ता सदस्यहरुलाई, त्यति वास्ता गरे जस्तो लाग्दैन भनौं वा यस सन्दर्भमा ईन्भल्भ गर्न नखोजेकोजस्तो लाग्छ । हुनत म केन्द्रिय सल्लाहकार भएपनि अरु कुरामा पनि पर राख्न  वा एभ्वाईड गर्न खोजिएको  कुरा त त्यति लामो कोविड छलफलमा पनि म स्वयं प्रारंभिक  र सवैभन्दा वढि कोविड कहर र त्रास छाएको बेला  कोविड पीडित भएको मान्छेलाई समेत सामान्य अनुभव शेयर गराउन समेत एनआरएन युकेबाटै संचालित कोविड छलफलमा नवोलाइएको बाटै थोरै नियत स्पष्ट हुन्छ जस्तोलाग्छ, यद्यपि अध्यक्षको स्वास्थ्यलाभको कामना ईनवक्समा  नआएको चाहिं होइन। अहिले पनि अध्यक्षले समस्या समाधान गर्न नचाहेको भन्नु भन्दापनि कुनै  बाहिरी शक्तिको  दबाबका डरले केहि गर्न नसकेको त हैन भन्ने आशंका सर्वसाधारण एनआरएन जमातमा परेको जस्तो लाग्छ।  जिम्मेवारीपूर्वक पूर्व समितिले हिसावकिताव बुझाउने र त्यसको स्पष्ट हिसाव नयां समितिको  पहिलो बैठकबाटै सार्वजनिक गरिनु पर्ने हो । के भैरहेको छ, म त्यति अपडेटेड छैन । अदालतसम्म कुरो  पुग्यो भन्ने  सुनेको छ, त्यसबारे  आधिकारिक रुपमा मलाई कुनै पक्षले पनि जानकारी गराएको छैन।

तर ठोस कुरा के हो भने सदस्यता शुल्कको मुख्य कारण सदस्यलाई संगठनमा अपनत्व अनुभूति गराऊनु हो । ओनरसिपले मात्र संगठन भित्र के भैरहेको छ भन्ने जान्ने वुझ्ने इच्छा हुन्छ । हुन त कतिपय सदस्यले पैसा तिरेनन् वा उम्मेदवारहरुले नै पैसा तिरिदिए  भन्ने आरोप पनि छ, तर  यो केहि सत्य हुंदाहुंदैपनि पूर्ण सत्य चाहिं हैन। एउटा ठूलो समूह छ जसले  आफै पैसा तिरेर सदस्य बनेका छन् । तर चाहे तिरेका हुन् या नतिरेका हुन् जसरी सुकै जम्मा भएको पैसाभएपनि त्यस्को स्पष्ट हिसाव किताव राख्नु र  दुरुस्त राखेर सदस्यहरुलाई बुझाऊनु अनिवार्य हुन्छ।यदि भएन भने वा सदस्यहरुको चित्त बुझेन भने के गर्ने भन्ने कुरा विधानमै स्पष्ट खाका दिइएको छ । त्यसलाई फलो गरे सजिलै निकास निस्कने  कुरा हो । तर केन्द्रदेखि एनसिसि लेभलसम्म अहंकारले काम गरीरहेको छ । हाम्रा विरुद्द चुनाव लडेको हैनस् ? तैंले भनेको किन सुन्ने ? भन्ने मानसिकता हावी छ । लोकतन्त्रात्मक अभ्यासलाई पचाउन नसकिएको हो कि जस्तो आशंका हुन्छ । सामान्य लोकतांत्रिक अभ्यासमा उभिएकाहरुलाई यिनी हाम्रा विरोधी हुन् भनिने, हेरिने गरिएको छ जस्तो लाग्छ जुन विल्कुलै अलोकतान्त्रिक विचार हो । अझैपनि सबै पक्ष वसेर समस्या समाधान गर्नु पर्ने हो । दुरुपयोग भएको छ भने त्यस्को जिम्मेवार त्यसैलाई  बनाउनु पर्छ जो गैरज़िम्मेवार बनेको छ । कोहि पनि निर्दोषलाई विना ठोस आधार दोषी तुल्याइनु हुंदैन र दोषि छ भने मिलाउने नाममा त्यतिकै छोड्न पनि हुन्न। सामाजिक संस्थामा कसैलाई पनि ग़ैरज़िम्मेदार हुने हक पनि छैन, छुट पनि छैन। 


गैर आवासीय नेपाली संघको छवि बचाएर राख्नको लागि र भावीपुस्तालाई संघप्रति आकर्षण बढाउन के कस्ता सुधार जरुरी देख्नुभएको छ ?
  एउटै देशमा रहेकासंग मात्र हैन एक देशमा रहनेलाई अर्को देशमा रहनेसंग समेत जोडेर राख्ने अभियान हो योे । देशको समृद्धिमा सामूहिक रुपमा सहभागी हुने यसको सुन्दर पक्ष हो । यसको स्थापनाकालमा संस्थापकहरुले जुन उद्देश्य र लक्ष्य राख्नु भयो, विस्तारै डिट्याच हुदै गैरहेको अनुभुति भइरहेको छ । केही मान्छेहरु व्यक्तिगत र राजनीतिक स्वार्थमा लागेर हिडेको देखिएको छ । वाहिर देखाउने एउटा र भित्रै गर्ने अर्कै पनि भइरहेको छ । एकले अर्कोलाई आक्षेप लगाउने मात्रै काम भइरहेको छ ।

अहिले आएको फ्रि मेम्बरसिप र डेटावेसको कुरामा पनि यो देखिएको छ । आखिर यो किन भइरहेको छ ? गम्भीररुपमा बहस छलफल गर्न जरुरी छ । तर अहिलेको नेतृत्व अरु त के कुरा, बहुमत केन्द्रीय  सदस्यहरुकै प्रस्तावमा छलफल गर्न तयार देखिदैन । अदृश्य शक्ति र सिन्डिकेटहरुको निर्देशनमै नेतृत्व रमाइरहेको त छैन भन्ने शंका गर्न थालिएको छ। दोस्रो पुस्तालाई देशसंग जोड्ने नेशनल र इन्टरनेशनल लेभलमा केही प्रयास भएका पनि छन् । तर, पर्याप्त छैनन् । त्यसैले पुरानो पुस्ताले सुरु गरेको अभियानलाई नयाँ पुस्तासम्म पुर्याउन र दोश्रो पुस्तालाई देश चिनाउन एनआरएनले धेरै काम गर्नुपर्ने छ । यसप्रति आकर्षण वृद्धि गर्नुपर्ने छ । त्यसका लागि कार्यक्रम ल्याउनुपर्छ । हामीले गर्नुपर्ने छ, नेतृत्वले गर्नुपर्ने छ र सरकारले पनि सोच्नुपर्ने बेला आएको छ । 

नेपाली काँग्रेसको पुरानो योद्धाको हैसियतले कांग्रेस पार्टीका कमी कमजोरीलाई कसरी सुधार्ने र अबको बाटो कस्तो हुनुपर्छ जस्तो लाग्छ ?


राजनीतिक अवस्था परिवर्तनका क्रममा कांग्रेसले कहीँ कतै गल्ती गरेको छैन । सैद्धान्तिक रुपमा कांग्रेस विजयी हुँदा हुँदै पनि संख्यात्मक रुपमा अहिले यो केही कमजोर देखिएको छ ।

पछिल्लो निर्वाचनमा पराजित हुनुको पछाडि नियत र निष्ठाको अभाव हुंदै गइरहेको जस्तो लाग्छ । पार्टी भित्र नीति र नेताको अभाव छैन तर त्यसको कार्यान्वयनमा निष्ठा र नियतको खडेरी नै परेजस्तो लाग्छ । बीपीले परिकल्पना गरेको प्रजातांत्रिक समाजवाद कार्यान्वयनमा ल्याउन बलियो इच्छाशक्ति भएको नेतृत्व आवश्यक छ । २०४६ पछि सार्वजनिक पदमा बसेका नेताहरुको सम्पत्तिको पार्टी भित्रैबाट छानबिन गर्ने र अनुचित आर्जन भेटिए कारबाहीका लागि अग्रसरता लिनुपर्छ । यति गर्न सक्ने हो भने जनताको मन र भरोसा जित्न सकिन्छ र यहीँबाटै आकर्षण वृद्धि गर्न सकिन्छ । सुधारका लागि अन्य थुप्रै उपाय पनि छन् । अब केवल दृढ इच्छा शक्ति भएको नेतृत्व चाहिन्छ ।

अनि, बेलायतमा तपाईंको अहिलेको दैनिकी कसरी चलिरहेको छ ?
मेरो के कुरा भनौं खै उठे देखि सुत्ने बेलासम्म कानमा नेपाल गुन्जन्छ, मनमा नेपाल बोल्छ,  मुटुमा नेपाल धड्कन्छ, दिमागले नेपाल सम्झन्छ, औलाले नेपाल लेख्छन्, ओठले नेपाल गुनगुनाऊंछ।  ज़्यादातर समय नेपाल र नेपालीकै बारेमा सोच्दै जान्छ।  कसरी नेपालीका लागि नेपाली र यिनका दुख र दर्दमा साथ दिन सकिन्छ भन्ने मात्र चिन्ता रहन्छ ।

जेजति सकिन्छ साथीभाइले भनेको र परेको बेलामा सानोतिनो  सहयोग गर्ने गरेको छु।  स्थानीय स्तरमा पनि आफु बसेको देशको समाजमा पनि आफ्नो र खासगरी बुढापाका गोर्खा समुदायलाई एडप्ट र इन्टिग्रेट  कसरी गराउने भन्ने चिन्ता पनि गरिरहेकै हुन्छु।  त्यसकालागि केहि प्रेरणात्मक  सल्लाह सुझाव दिने र बुताले भ्याएको गर्ने पनि गरेको छु। आफ्नो जीविकोपार्जनकालागि  लागि व्यवसाय त चलाएकै छु, तर भाइहरुले व्यवसाय हेरिदिएका कारण मलाई धेरैनै कम्फ़र्टेवल छ।  तर पनि नेपाल जाऊं नलागेको क्षण छैन।  २२, २३ वर्ष भयो युनिभर्सिटिमा पढ्न आएको पढाई सकेर तुरुन्तै फर्कन्छु भन्ने थियो।  तर पढाई सकेपछि के ले मन घुम्यो थाहा भएन हिम्मत गरेर स्याठ्ठ फर्कन पर्ने थियो जस्तो लाग्छ, तर हुतिहारा भैयो देश फर्किएन।  अहिले सम्म बेलायतको नागरिकता लिएको पनि छैन, कुनै कुनामा देश फर्कने हो भन्ने भएर नै होला । होलिडेमा देश जाने र आउने काम मात्र भयो तर देश फर्किएन । यहां एऊटा नियति भोगिरहेछु जस्तो लाग्छ।
 

ad
ad ad