ad

कथा : क्यालेन्डर 

शनिबार, मङ्सिर २७ २०७७
image

-नारायण अर्याल     

यसपाली दसैंमा नेपाल जाने हो भने सँगै जाउँ  न ! वर्षौँ भो नभेटेको ।  भेटघाट पनि हुने, नेपाल पनि गइने अनी दसैं पनि मनाइने । के छ ‘प्लान’ ? खबर गर ल ! 

स्कूल पढ्दादेखिको साथी हरिशको म्यासेजले म खुसी र दु:खी एकैचोटी भएँ । नेपाल जाने कुराले कसलाई पो खुसी बनाउदैन र ? त्यसमाथि ऊसँगको भेट ।  मन फुरुंग भयो ।  तर दसैंमा ? झस्किएँ । रेस्पोन्स गरौँ कि नगरौं दोधार भो । सुतेँ ।  

खोई किन हो मलाई दसैंमा नेपाल जान मन लाग्दैन । यहाँ आएपछि ५ वटा दसैं यतै मनाएँ ।  मनाएँ पनि के भन्नु र ! बिताएँ ।  यहाँ के दसैं के तिहार ? ३६५ दिन नै उस्तै ।  असोज लागेपछि  २ महिना नेपाली क्यालेन्डर समेत हेर्न मन लाग्दैन । काठमाडौं हुँदा त दसैंमा गाउँ नजाने मलाई अहिले त हाइसन्चो भएको छ ।  बिर्सिन खोजेको दसैँलाई हरिशले फेरि सम्झाइदियो, मन झस्काइदियो । के मैले दसैँलाई बिर्सन पाउंदिन ? 

.........  

किन खबर नगरेको ? अब एक महिना पनि छैन ।  टिकट पाउन गाह्रो हुन्छ । फोन ‘रिसिभ्’ गर्नासाथ एकै सासमा हरिशले आक्रोश पोख्यो ।  

त्यतिबेला काममा थिएँ, पछि भुलेछु, टार्ने प्रयास गरेँ  ।

नेपाल जान्न भन्न पनि गाह्रो, नजानुको कारण सुनाउन त्यो भन्दा अप्ठेरो ।  आखिर सजिलो त मेरो मेरो पुर्पुरोमै लेखेको रहेनछ ।  

म हतारमा छु, छिटो निर्णय देऊ, अर्को फर्मान जारी गर्‍यो ।  

जति टारे पनि जति  घुमाए पनि आखिर मेरो जवाफ त जान्न भन्ने नै हो ।  कारण त उसलाई सुनाउन जरुरी हुँदैन । तर पनि मैले आलटाल गरेपछि उसले आँफै पनि त कुरा बुझ्नु पर्ने हो ।  

सबै भन्दा ठूलो कुरा मन हो भन्थे बूढापाकाले  । तर मनलाई पनि प्रभावित पार्न सक्ने परिस्थिति रहेछ । परिस्थितिले जस्तो सुकै मनलाई पनि ‘डाइभर्ट’ गरिदिने रहेछ । न आफ्नो परिस्थितिको व्याख्या गर्दै हिंड्नु, न अरुले कुरा बुझिदिनु, आखिर धर्म संकट यसैलाई भन्छन् क्यारे । अब फेरि सोध्यो भने जान्नभनिदिन्छु ।  म निर्णयमा पुगें ।  

‘थ्याङ्क गड’ ऊ नसोधी गएछ ।  उसले काठमाडौं एयरपोर्टको फोटो पोस्ट गरेपछि  मैले थाहा पाएँ, ऊ पुगिसकेछ ।

.........  

हरिश हतारमा हिड्यो । फ्लाइट पाउन गाह्रो छ ।  शायद ऊसंग समय पनि धेरै छैन ।  छोटो बिदामा गएको हुनुपर्छ ।  छिट्टै फर्किने छ र मलाई सोध्ने छ, किन नगएको ? 

छोडेर गएपछि कसरी जानु त ? ओठे जवाफ त फर्काउँला । तर उसले मलाई  त्यत्तिकैमा छाड्ने  छैन । फेरि सोध्यो  भने मैले जवाफ दिनै पर्ने हुन्छ । म जे थाहा दिन चाहन्न उसले त्यही थाहा पाउने छ ।

अचम्म छ दसैं ।  चारो लिन गएका चरी गुँड फर्के जस्तो हुन्छ दसैं । रानो माहुरीको वरिपरि झुम्मिएका कर्मी माहुरीको गोलो जस्तो हुन्छ दसैं ।  त्यसैले त सात समुन्द्रपारबाट पनि फर्किन्छन साथीहरु ।  

सोच्छु, मलाई किन दसैंमा घर जान मन लाग्दैन ? मेरो पनि परिवार छ ।  मेरा पनि त बा आमा छन ।  म जाँदा रमाएर वरिपरि झुम्मिने बच्चाहरु छन ।  रबि  आयो भनेर हल्ला गर्दै पिंढीदेखि आँगनसम्म भरिने साथीहरु छन् ।  अब आउँदा दसैं पारेर आइज है, रमाइलो गर्नुपर्छ भन्ने ती साथीहरु कति खुसी               हुँदा हुन ? 

होइन । मनले भन्छ, हेर रबि अब तलाई दसैं दसैं रहेन ।  तेरो लागि त दसैं पीडा हो पीडा ।  यो त तेरो दशा हो । अब तँसँग दुई वटा मात्रै ‘अप्सन’ छ ।  कि रमितालाई बिर्सिनु कि दसैं बिर्सिनु ।  

बिडम्बना ! न म दसैं भुल्न सक्छु न रमिता ।  

भन्छन् नि प्रीय मान्छेले पर्व समात्छ रे ।  पर्व समात्ने मान्छेलाई  भुल्नै पाइदैन । घर व्यवहारले बिर्सिन थालियो भने पनि पर्वले सम्झाइदिन्छ ।  

म रमितालाई भुल्न चाहन्छु ।  तर ठ्याक्कै दसैं आइदिन्छ, सोलीभरी उसैको याद बोकेर । अनि उसको सम्झनाको अगाडि  दसैं त सबै कुरा फिक्का फिक्का देख्छु ।  

के रमिताको चाहनामा यो सबथोक भयो ? के रमिता त्यति  निष्ठुरी थिइन् ? के उनीमा सान्सारिक चेत थिएन ? के उनले बिगतका सबै वाचा भुलेकी हुन ? के उनले मायाले पोतिएको त्यति सुन्दर कल्पनाको घर भत्काएकि हुन ? 

होइन ।  कदापी होइन ।  उनको यसमा एकरति पनि दोष छैन ।  उनलाई त परिबन्दमा पारिएको हो ।  उनलाई वाध्य बनाइएको हो ।  उनी आँफैले यो सब गरेको भए मैले सहन्थे ।  बुझ्थें अनि  स्वीकार गर्थेँ । रमिताले आफ्नो खुसीको लागि त्यसो गरिन् अब उनी सुखी र खुसी रहनेछिन् भनेर चित्त बुझाउने थिएँ । 

किनभने म आफू भन्दा उनी बढी खुशी भएको देख्न चाहन्थें । उनको खुशीमा म रमाउथें ।  

फेरि त्यही दिन सम्झिएँ, घटस्थापना । घर घरमा जमरा राख्ने दिन ।  हामीले पनि त्यही दिन जिन्दगीको जमरा राख्ने निधो गरेका थियौं  ।  स्कुलदेखि कलेजसम्मको मायामा अंकुरण् गराउने निश्कर्षमा पुगेका थियौं । अनि सप्तमीमा फूलपातीसङ्गै रमितालाई मेरो घरमा भित्र्याउने योजना बनाएका थियौं ।

घरमा दसैंको टीका लगाएर उनी माइती जाने अनि म ससुराली जाने योजना पनि बनिसकेको थियो । हाम्रो यो सब योजनामा रमिताको परिवारको  संलग्नता त थिएन तर असहमति पनि थिएन ।  असहमति नहुँदा हामी उत्साहित थियौं ।  

फूलपातीमा जन्तीसहित भेट्ने वाचा गरेर छुटिएका हामीमा एक दिन अगावै बज्रपात आइलाग्यो । बज्रपातको सूचना रमिताले नै दिइन् ।  

प्रीय रबी ! 

हामीलाई सँगै हुन लेखेको रहेनछ । हाम्रा योजना  र तयारी निरर्थक रहे ।  कम्तीमा  जिन्दगीको एक कालखण्ड कल्पनामा बिताउन सक्यौं ।  भविष्यका कैयौं योजना कोर्यौं ।  त्यसमा मैले सक्दो सहयोग गरेँ । तर जिन्दगीको योजना कोर्न भन्दा परिवारको जन्जिर तोड्न गाह्रो हुने रहेछ । यसलाई मेरो बाध्यता भनेर बुझिदिनु ।  सप्तमीको दिन घरमा फूलपाती भित्र्याउनु । पहिले चुपचाप बसेको मेरो परिवारले बिहेको तयारी त गर्‍यो तर एक दिन अवागै मलाई अन्यत्रै अन्माइदियो ।  मलाई माफ गर्नु, तिमी खुशी रहनु ।  

उही रमिता 

झण्डै दश वर्षदेखिको प्रेम अचानक भरङ्ग हुँदाको क्षण सम्झिदा अझै पनि मेरो मन पोल्छ । चाहेर पनि यसलाई म भुल्न सक्दिन ।  के यो मेरो कमजोरी हो ? यदि यो मेरो कमजोरी हो भने पनि म स्वीकार्न तयार छु । प्रेमलाई साकार पार्ने योजना सहित दसैं मनाउन घर पुगेको म टीकाको २ दिन अघि झोला टिपेर काठमाडौं फर्किएको हिजो जस्तो लाग्छ । त्यसयता कुनै पनि दसैंमा घर पुगेको छैन । र, त्यतिबेलादेखि नै हो मैले दसैंको क्यालेन्डर केर्न थालेको ।  

.........  

 

‘हिडिङ टु लिस्बन’ फेसबुक  स्क्रोल गर्दै थिएँ, हरिशले स्टाटस अपडेट गर्‍यो काठमाडौं एयरपोर्टको ताजा फोटोसहित । ऊ यतै पो आउन लाग्यो ।  फेरि मेरो मनमा बेचैन थपियो ।  एक्कासी किन ? भित्तामा हेरेर टोलाउंदै थिएँ, मेसेन्जरमा नोटिफिकेसन आयो ।  हेरेँ ।  हरिशको  थियो ।  ‘आई विल ल्याण्ड एट टेन एएम एट लिस्बन एयरपोर्ट, क्यान यु बि दियर’ ? आई ह्याभ मोर वन विक होलिडे विल यु गिभ मि कम्प्यानी ? 

‘स्योर’ रेस्पोन्स गरेँ ।  

ऊ कसरी अचानक आउँदै छ ? मसँग भेट नभएको लामो समय भएकोले भेट पनि हुने बिदा पनि मनाउने उसको चाहना होला ।  स्कुलदेखि कलेजसम्मको साथी मलाई पनि भेट्न मन नभएको त कहाँ हो र ? कलेज छुटिएपछि भेट भएको छैन । केहीबेर पुराना याद ‘रिकल’ भो ।  

हरिश आएपछि सोध्ने प्रश्नले नै मलाई गिजोल्न थाल्यो ।  उसले फेरि सोध्ने छ ।  यहीं आएपछि  त मैले पक्कै जवाफ दिनुपर्छ ।  उसले छाड्ने छैन ।  

भित्तामा  झुण्डिएको क्यालेन्डर हेरेँ ।  आधा कोरिएको छ ।  होमवर्कको कुनै कपी कोरिएको हुँदैनथ्यो मेरो ।  त्यो उसलाई थाहा छ ।  कोरेको क्यालेन्डर देखेर उसले पक्कै केही भन्ला ! यसलाई हटाउँ ?  

सोचें, यही क्यालेन्डर नै मेरो जवाफ हुनेछ ।  क्यालेन्डर सँगै पुरानो डायरी  पनि राखें ।  थप सोध्यो भने डायरी हेर भनुँला ।  

.........

हाई  रबि ! हाउ आर यु ? एयरपोर्टमा देख्नासाथ उसले चिच्यायो, इट्स सर्प्राइज फर यु ! पुरानो हाउभाउ र अमेरिकी शैली मिसाएर चिच्यायो ।  ‘गुड, वेलकम इन लिस्बन’ उसलाई मनपर्ने ढाकाको खादासहित स्वागत गरेँ ।  संयोग हरिश ढाका कपडाको कोट लगाएरै निस्केको थियो ।  

गम्लङ्ग अँगालो हाल्यौं ।  न्यास्रोले आँखा रसायो ।  पुछेर उसलाई गाडीसम्म पुर्याएँ ।  

तँ किन नेपाल नगएको ? तेरो दसैं थिएन ? गाडी गुड्न नपाउँदै प्रश्न तेर्स्यायो । 

बिदा मिलेन, औपचारिक जवाफ दिएँ ।  

ऊ अझै रोकिएन । वर्षौँदेखिका प्रश्न सोध्न लाग्यो, टिभीमा अन्तर्वार्ता  लिए जसरी ।  

चुप लाग न्, घर पुगेपछि  सबै कुरा गरम्ला, मैले टार्ने उपाय निकालेँ ।  

मिटिङ रुममा लगेज राख्नसाथ भित्तामा झुण्डिएको नेपाली क्यालेन्डर देखेर ऊ छक्क पर्‍यो । 

नेपाली क्यालेन्डर पनि हुन्छ यहाँ ? उसले सोध्यो, किन केरेको त ? 

हेर्दै जा न थाहा पाउँछस् ।  

केरिएको क्यालेन्डर पछि सँगै रहेको डायरी पल्टायो र एकछिनपछि मलाई हेर्यो । मेरो आँखा रसाएका थिए ।  @aryalsyangja 

ad
ad
ad