दुई अध्यक्षका दुई प्रतिवेदन, अब समानान्तर छलफल 

शनिबार, मङ्सिर १३ २०७७
image

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन पेश गरेपछि नेकपा सचिवालयमा पेश भएका प्रतिवेदनको संख्या दुई पुगेको छ । यसअघि नै अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए । 
अघिल्लो बैठकमा प्रतिवेदन तयार पार्न समय मागेपछि सचिवालयले ओलीलाई दश दिनको समय दिएको थियो । सोही अनुसार शनिबार बसेको बैठकमा ओलीले ३८ पृष्ठ लामो ५३ बुँदे प्रतिवेदन पेश गरेका हुन् ।
सचिवालयमा दुई अध्यक्षले फरक फरक प्रतिवेदन पेश गरेपछि अब समानान्तर छलफल हुने भएको छ । मंसिर १६ गते बैठकमा प्रतिवेदनहरुमाथि छलफल शुरु हुने छ । 
प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयमा प्रस्तुत भएका दुवै दस्तावेजमाथि आगामी बैठकमा छलफल हुने जानकारी दिए । 
यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई दोषारोपण गर्दै प्रतिवेदन पेश गरेका थिए । ओलीले शनिबार पेश गरेको प्रतिवेदन त्यसैको जवाफ हो । शनिबारको बैठकमा ओलीले सचिवालयका सबै सदस्यहरुलाई लिखित प्रतिवेदन दिँदै मौखिक रुपमा चर्चा गरेका थिए । ओलीले यसअघिको दाहालको प्रतिवेदनलाई कुण्ठा र कृत्रिम आरोपको संगालोको संज्ञा दिएका छन् । ओलीले दाहालको प्रतिवेदनलाई लक्षित गर्दै आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘प्रतिवेदन तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो रहेछ,’ ।
अध्यक्ष दाहाल खेमामा रहेका प्रवक्ता श्रेष्ठले ओलीले जस्तोसुकै दावी गरेपनि प्रतिवेदन पेश गर्नु सकारात्मक रहेको बताए । उहाँले के उल्लेख गर्नु भएको छ भन्ने भन्दा पनि उहाँले प्रतिवेदन ल्याउनु भयो, यो राम्रो हो, उनले भने, उहाँको प्रतिवेदनमा जति बुँदा छन्, त्यति नै हाम्रा असहमति छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार दुबै अध्यक्षका प्रतिवेदन अब सचिवालय, स्थायी कमिटी र केन्द्रीय समिति हुँदै तल्लो तहसम्म बहसमा लगिने छ । सचिवालय बैठक भने मंसिर १६ गते नेकपा कार्यालय धुम्बाराहीमा बस्ने छ । 

 

ad
ad