अमेरिकामा रहेका गायक लम्सालले 'सकेनन् देश भुल्न...'

बुधबार, मङ्सिर ३ २०७७
image

काठमाडौं : अमेरिकाको कोलोराडो निवासी गायक बसन्त लम्सालले 'सकिँदैन देश भुल्न' बोलको गीत सार्वजनिक गरेका छन् । अध्ययनका लागि सन् २००६ मा अमेरिका गएका गायक लम्सालले गीत संगीतलाई निरन्तरता दिइरहेका छन् । विदेशी भूमिबाटै उनले राष्ट्र प्रेम झल्किने गीतहरु पस्किरहेका छन् ।

२०५१ सालतिर रेडियो नेपालमा स्वर परीक्षा पास गरेर संगीतकर्मीको परिचय बनाएका लम्साल नेपालबाट विभिन्न कारणले पलायन भएर संसारभर जहाँसुकै रहेपनि तथा विभिन्न कारणले अहिले विदेशी नै हुन गएपनि मौलिकरुपमा आफु नेपाली नै रहेको बताउँछन् । उनले हालै सार्वजनिक गरेको ‘सकिँदैन देश भुल्न’ बोलको गीतमा पनि सोही सन्देश समेटिएको छ ।

अझैपनि नेपाल अनि नेपालीलाई संसारभर चिनाउन सक्ने नेतृत्वको खाँचो रहेको सन्देश गीतमार्फत गायक लम्सालले दिएका छन् । गायक लम्साल भन्छन्, 'नेपालमा हुने हरेक गतिविधि, धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक आदि विषयमा हाम्रो पनि चासो रहनु स्वाभाविक नै हो । देशमा हुने हरेक सुखद वा दु:खद घटना-दुर्घटनाहरुमा हामीपनि संवेदनशील हुन्छौं नै । तर स्वदेशमा बस्ने वा बसिरहनुभएका आम नेपालीको जस्तै हाम्रो पनि मुख्य आग्रह वा गुनासो अझैसम्म पनि एउटा आशालाग्दो राजनैतिक नेतृत्व भेट्न सकिएन भन्ने हो ।"

नेपाल र नेपालीलाई संसारभर पहिचान दिलाउन सक्ने सक्षम नेतृत्वको अभावका कारण संसारभर छरिएर रहेका नेपालीहरुले 'नेपाल' वा 'नेपाली' मात्र भनेर गर्वका साथ आफुलाई चिनाउन अझै नसकेको सन्देश गीतमा छ । विदेशमा रहेका नेपालीले आफुलाई चिनाउन या त सगरमाथा, या गोर्खाली, वा बुद्धको देश भनेर थप स्पष्टिकरण दिनुपर्ने अवस्था रहेको गीतमा दर्शाइएको छ ।

गायक लम्सालको आफ्नै रचना र संगीत रहेको सो गीतलाई एस राज वाग्वेले निर्देशन गरेका हुन् । एस राज र संजय कार्कीद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोमा नेपालदेखि अमेरिकाको क्यालिफोर्नियाका लोकप्रिय स्थान र समुद्रको दृश्यलाई समेटिएको छ । किरण कंडेलले एरेन्ज गरेको उक्त गीतलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

दाङमा जन्मिएका गायक लम्सालले यसअघि पनि थुप्रै लोकप्रिय गीतहरु दर्शकमाझ ल्याइसकेका छन् । उनको 'छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो' पहिलो गीत हो । सो गीत रेडियो नेपालमा रेकर्डिङ गरिएको हो । उक्त गीतमा रमेश 'क्षितिज' को रचना र नारायण रायमाझीको संगीत रहेको छ ।

त्यस्तै उनको 'सानो होला मेरो घर, मेरा लागि संसार हो', 'धरतीमा आएँ एकलै', 'भन्छौ रे देश छोडेर जाने', 'सम्भावना भए गाउँमै गरी केही खाने' लगायतका लोकप्रिय गीतहरु बजारमा आइसेका छन् ।

ad
ad