ad

ओलीजी, तपाईंको मुटु दुख्दैन ?

नारायण गाउँले
शनिबार, मङ्सिर ६ २०७७
image

ओलीजी, 
तपाईं त प्रचण्डलाई जवाफ लेख्न व्यस्त हुनुहुन्छ, के पढ्न भ्याउनुभो होला र ? तर पोखराकी धनमाया गुरुङ्ले हिजो छ वटा अस्पताल धाउँदा पनि भर्ना नपाएर एम्बुलेन्समै तड्पिएर ज्यान गुमाएको खबर सरकारबाहेक सबैको मुटु कँपाउने र लाज लाग्ने खालको छ । सास फेर्न गाह्रो भएर छटपटाई रहेकी उनलाई मेट्रो सिटी भन्ने हस्पिटलले एम्बुलेन्सबाट झार्नै मानेन, गण्डकी मेडिकल कलेजले बेड छैन भन्यो, चरकदेखि फिस्टेलसम्म कसैले भर्ना लिन मानेनन् । अन्तिममा मणिपाल हस्पिटलमा बेड त भेटियो तर कोरोनाभाइरसको शङ्कामा धरौटी राख्ने रकम भेटिएन । भोलि जम्मा गर्छौं भन्ने बिन्तीले काम गरेन । उनले चरम पीड़ामै अन्तिम सास लिइन् !

धनमायाको ठाउँमा एउटा नेता वा उच्च पदस्थ व्यक्तिको यसरी मृत्यु हुन्थ्यो भने पक्कै सरकारलाई बिझाउँथ्यो होला । तर एउटा निरीह नागरिक मर्नु र बाँच्नुले के अर्थ राख्छ र ?

धनमाया एक्ली होइनन् । उपचार परको कुरा, बेड नै नपाएर एम्बुलेन्समै ज्यान गुमाउनु परेका खबर दिनहुँ आइरहन्छन् । एउटा जनउत्तरदायी सरकारका लागि यो निकै संवेदनशील र आपत्कालीन विषय हो । 

एउटा नेता या पहुँच भएको व्यक्तिका लागि रोजेको हस्पिटलमा रोजेको बेड खाली हुन्छ । सर्वसाधारणका लागि अस्पतालमा भर्ना पाउनु पनि युद्ध जितेजस्तो हुन्छ । 'माथि' का मान्छेलाई सोर्सफोर्स नलगाई र न गिड्गिडाई अस्पतालमा भर्नासम्म पाइन्न भन्ने निर्मम यथार्थले कसैलाई पोले जस्तो देखिन्न । त्यहाँका मुख्यमन्त्रीलाई पनि धनमायाको भन्दा बामदेवलाई फकाउने चिन्ता बढ़ी छ । 

हेर्नुस् त, यतिबेला सर्वसाधारणका निम्ति बेड खाली छैनन् । जहाँ बेड पाइन्छ, त्यहाँ धरौटी राख्ने पैसा पुग्दैन । कोभिड़को कहर बढ्दो छ तर कहीँ भेन्टिलेटर खाली छैनन् । आजीवन टीचिंग हस्पिटलमा काम गरेका कर्मचारीले टीचिंगमैं भेन्टिलेटर नपाएर ज्यान गुमाउनु पर्यो । बर्दियाको क्वारेन्टीनमा जोधीप्रसादले पानी पिउनसम्म नपाएर ज्यान गुमाएको घटना होस् या जनकपुरमा एक दलित किशोर राजु सदाले इमरजेन्सी वार्डमा सिटामलसम्म नपाएर मृत्युवरण गरेको घटना होस्, सभ्य समाजका लागि यी अक्षम्य अपराध थिए ।

यस्तो संवेदनशील विषयमा तपाईंले कतिवटा चिट्ठी ककसलाई लेख्नुभो ? धरौटी नभएको नाममा भर्ना लिन नमान्ने कति हस्पिटल कारवाहीमा परे ? सिंहदरबारमा कतिवटा बैठक यो ज्वलन्त समस्याका विषयमा केन्द्रित भए ? नबिर्सिनुहोस्, जनताको रगतपसिनाको कमाइ हो, तपाईंहरूले बुझ्ने तलब । 

काम गर्दा गर्दै नहुनु अलग हो, तपाईंको ध्यान त कुर्सी र पार्टी फोड्ने षड्यन्त्रभन्दा माथि उठेन । त्यो दुर्भाग्य हो । कम्तिमा  एउटा प्रदेशका अस्पताललाई एउटा सिस्टममा ल्याउन त सकिन्छ नि ! एक क्लिकमा कुन अस्पतालमा कति बेड खाली छ भन्ने पारदर्शी तथ्याङ्क त्यहाँ देख्न सकिन्छ । मन्त्रालय, मन्त्री, विभाग, हाकिम..कति हो कति खर्च केका लागि ?  बिरामी पुग्नुअघि नै मेडिकल सुविधा तयार पार्ने वातावरण बनाउन सकिन्छ । तपाईंहरू बिरामी हुँदा त्यो हुन्छ पनि । तर जनता चाहिँ एक हस्पिटलबाट अर्को हस्पिटल चहार्दा चहार्दै मर्नुपर्ने किन ? बेड नै नभएको हस्पिटलमा रिफर हुने किन ? 

दुर्भाग्य के भने, पार्टीको बैठक बस्ने कि नबस्ने, कहिले बस्ने, कुन एजेन्डामा बस्ने, कसरी छल्ने, कसलाई कसरी फकाउने, कस्ले कसलाई खुइल्याउने..यत्तिमै तपाईंको कार्यकाल बित्ने देखियो । आफूलाई समाजवादी भन्ने तपाईं सर्वोच्च अदालतले निःशुल्क उपचार गर्नु भनेर दिएको आदेशलाई बदर गर्न आफै अदालत पुग्नुभो । यसभन्दा ठूलो दुर्भाग्य अर्को के होला ? 

ओलीजी, बालुवाटार बाहिर पनि देश छ । तपाईं त मासिक बीस लाखको पत्रपत्रिका नै पढ्ने मान्छे, धनमाया गुरुङ्ले माथिल्लो मान्छे चिनेको भए या धरौटी राख्ने पैसा जुटाएको भए बाँच्न सक्थिन् भन्ने लाग्दैन ? यो मृत्यु नभएर एउटा हत्या हो जस्तो लाग्दैन ? के यस्ता घटनाले तपाईंको मुटु दुख्दैन ? यो सबै संयन्त्रको प्रमुख हुनुले यस्तो विसङ्गतिमा अलिकति लज्जाबोध हुँदैन ? के एउटा चिट्ठी यस्तो विषयमा पनि लेखौं लेखौं लाग्दैन ? 

ad
ad
ad