'ओशोले मृत्युको अकाट्य सत्य र बुद्ध बन्ने संभावना दुबैलाई महत्व र साधना विधि दिनु भयो'

शनिबार, मङ्सिर १३ २०७७
image

नागार्जुन हिल्स, काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत पेशाले इन्जिनियर हुन्।  कोरोना कहर तथा बन्दाबन्दीको समयमा पनि ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणको रेखदेखमा तपोवनले भर्चुअल माध्यमबाट संसारभरिका साधकहरु लाभान्वित हुने गरी ध्यान शिविरहरु संचालन गरिरहेको छ।  यिनै विषयमा केन्द्रित रहेर ग्लोबल नेप्लिजले स्वामी अर्हतसंग गरेको कुराकानीको सम्पादित अंश:  

कोरोनाले सारा विश्व प्रभावित भएको छ र नेपालमा पनि यसको संक्रमण बढ्दै छ।  तपाईंको विचारमा यो संक्रमणसंग जुध्ने क्रममा नेपालमा के, के कमी कमजोरी रहे ?

कुनै पनि संकट पर्दा संकटलाई बुझ्ने र त्यसलाई नियन्त्रणमा लिने उर्जा, संकल्प र साधनस्रोतको उचित व्यवस्थापनमा देखिने कमी कमजोरी हाम्रो देशका प्रशासकहरुको छ भन्ने कुरा हामीले देखे भोगेकै हो । संकटलाई नियन्त्रणमा लिन संवेदनशीलता शुरु मै भएन । जिम्मेवार, सरकारमा बसेकाहरुले जसरी आउँछ त्यसरी नै जान्छ भन्ने जस्तो बुझेको र हल्काफुल्का कुराहरु गरेको देखियो । अरु देशले कसरी यसलाई नियन्त्रण गरिरहेका छन् भन्ने कुरा सिक्ने, खोज्ने कुरा पनि कमी कमजोरी भए । औषधिको जोहो गर्ने, अस्पताल, जाँच गरी नियन्त्रण गर्ने सामग्री खरिदका कुरामा भ्रष्टाचार भएको कुरा पनि उठ्यो । विदेशमा रहेका नेपालीलाई देशमा ल्याउने कुरामा पनि धेरै संवेदनशीलता देखिएन । पछि पछि त सरकारले नै मौलिक हकको रुपमा रहेको स्वास्थ्यको हकलाई लत्याएर संकटलाई व्यवस्थापन गर्ने बाटोबाट हट्यो र अदालतले सरकारलाई पाठ पढाउन खोजेको पनि देखियो । यसरी हेर्दा कार्यन्वयनको व्यवहारिक पक्षमा कमी कमजोरी रहे ।  

कोभिड-१९ ले मानसिक स्वास्थ्यमा धेरै समस्याहरु थपि दिएको छ।  आत्महत्याका घटनाहरु व्हात्तै बढेर गएका छन् । मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न के गर्नु पर्ला ?

स्वास्थ्यका विविध पक्षहरुमा अहिले व्यापक समस्याहरु देखिएका छन् । हिंडडुल गर्ने स्वतन्त्रतामा ठूलो बाधा परेको, सामाजिक सम्बन्ध सीमित भएको र सानो ठाउँमा लामो समयसम्म एकै  प्रकारका व्यक्तिहरुसँग बस्नु परेको, आर्थिक कृयाकलापमा बाधा परेको र मनुष्यको भविष्य नै खतरामा परेको  आभाषले मानिसलाई हरहमेशा गाँजेको अवस्थामा विकराल मानसिक समस्याहरु देखिएका छन् । भावनात्मक रुपले पनि मानिस आज दुर्वल र संवेदनशील हुँदै गएको छ । यसबाट बच्न भौतिक रुपले सकृय, मानसिक रुपले शान्त र भावनात्मक रुपले खतरा महसुस हुने वातावरणमा कमसेकम रहने जीवनशैली बनाउन जरुरी छ । व्यायाम, ध्यान र सकारात्मक माहोलमा बस्ने वातावरणमा आफूलाई आकर्षित हुने अभ्यास आजको आवश्यकता हो ।     

के ध्यान र योगले मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न मदत गर्छन् ?

ध्यानले विचारलाई शान्त र भावनालाई नियन्त्रित गर्न सिकाउन र त्यसको प्रत्यक्ष अनुभूति दिलाउंछ । योग र ध्यानले सन्तुलन, बल र शान्ति प्रदान गर्छ जसले गर्दा त्यसै भाव दिने हर्मोनहरु शरीरमा उत्पन्न हुन्छन् र प्रत्येक कोशिकाहरु पनि त्यही दिशामा कार्य गर्ने पथमा लाग्छन् र हामीलाई त्यसको समग्र अनुभूतिले नयाँ उत्साह र भर प्रदान गर्छ र आफैप्रतिको आत्मविश्वास बढाउँछ ।  यसलाई आज विज्ञानले पनि पुष्टि गरेको छ ।    

व्यस्त मानिसहरुको लागि ध्यान कसरी उपयोगी हुन सक्छ ? उनीहरुले कस्तो किसिमको ध्यान गर्न सक्छन् ?

व्यस्त मानिसलाई आज सबै भन्दा बढी ध्यानको आवश्यकता छ । हाम्रो जीवन व्यस्तता र विश्रामको सम्यक सन्तुलनमा मात्र सुखी र सृजनात्मक हुन सक्छ । बाहिरी जीवनमा हामी सृजनात्मक हुनुपर्छ र आफुभित्र सुखको अनुभूतिको स्रोत पनि पहिल्याउनुपर्छ । हामीभित्रका अनेक मानसिक तनाव, विशाद, हतासा, दुःख, चिन्ताको मुख्य कारण खाली मनलाई दौडाउने एकोहोरो जीवनशैलीको परिणाम हो । हामीले आन्तरिक विश्रान्तिको कला सिक्नै सकेनौं । अनिंदोपन पनि यसैको परिणाम हो । राति सारा प्रकृति गहन विश्राममा भएको बेला पनि हाम्रो मन चलिरहेकै हुन्छ र हामी सुत्न सक्दैनौं । यो भन्दा खराब स्थिति के हुन सक्छ ? यदि हामीले ध्यानका प्रयोगहरु दैनिक रुपले गर्न थाल्यौं भने हामी यी समस्याहरुबाट मुक्त हुन सक्छौं । दिनभरीको कामबाट थाकेको हाम्रो शरीर र मनलाई ध्यानको सचेतन प्रयोगले तुरुन्तै उर्जावान स्थितिमा फर्काउन सकिन्छ । श्वासप्रश्वासका प्राणयामका विधिहरु, रेचन विधिहरु, विचारलाई साक्षी भएर ध्यान लगाउने विधिहरु, भजनकीर्तनले आध्यात्मिक जागरणलाई बढाउन र दुःखबाट मुक्तिको बाटो पहिल्याउन मद्दत गर्छन् ।  

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान गर्दै आउनु भएको छ।  एउटा अर्को राष्ट्र संघीय दिवस किन चाहियो ?

विगत ३ वर्षदेखि स्वामी आनन्द अरुणले बैशाख पूर्णिमालाई नेपालले विश्व ध्यान दिवस मनाउने संकल्प प्रस्तावको राख्नु पर्ने आवश्यकताको पक्षमा बोलिरहनु भएको छ । नेपालले संयुक्त राष्ट्र संघमा यो प्रस्तावको मस्यौदा गर्दा विश्व भरी रहेका  बुद्ध धर्म मान्ने देशहरुलाई सह–प्रस्तावको रुपमा यो प्रस्तावको समर्थन जुटाउन सक्छ । बुद्ध धर्मलाई मान्ने मानिसहरुको बाहुल्यता रहेका १४ देशहरु तथा  अन्य मुलुकहरुलाई पनि यसका लागि मनाउन नेपालले सकृय भूमिका खेल्न जरुरी छ । भारत र चीनले यसमा तुरुन्तै समर्थन गर्न सक्छन् । योगले सबै किसिमका मानिसलाई स्वस्थ जीवन शैलीमा मद्दत पुग्ने  कुरा प्रमाणित भए झै ध्यानले पनि अनेकौं मानसिक बिरामीलाई निको पार्न मद्दत गर्छ भन्ने कुरा पनि मनोवैज्ञानिक र मनोचिकित्सकहरुले मानिसकेका छन् । मनलाई शान्त, सृजनात्मक र खुसी राख्न ध्यानले ठूलो भूमिका खेल्न सक्छ । तनावबाट बच्नका लागि डाक्टरहरुले ध्यान गर्न सिफारिस र सल्लाह दिन थालेका छन् । २१ औ शताब्दी तनाव, डर, अनिदोपन, मानसिक विशाद र अनेकौं मनोरोगले गाँजिएको शताब्दीमा परिणत भएको छ । चीनमा गरिएका प्रयोगहरुमा ध्यानले अनुवाशिंक रोगहरुबाट मुक्त हुन सहयोग गर्ने पनि देखिएको छ ।  

सदाशिव, पतञ्जली, गोरख र ओशोले ध्यानको विकासमा मौलिक योगदान दिएका छन् । यसमा ओशोको नव–संन्यासको आधार नै ध्यान हो । कुनै नियम नथोप्ने ओशोले पनि एउटा नियम आफ्ना संन्यासीलाई दिए – दिनमा कमसेकम १ घण्टा ध्यान गर्नै पर्ने । ओशोका ध्यानहरु यो शताब्दीको मनुष्यलाई छिटो रुपान्तरण गर्ने आधुनिक विधिहरु हुन् । श्री श्री रविशंकर र जग्गी वासुदेव जस्ता गुरुहरुका पनि आफ्नै ध्यानका विधिहरु छन् । स्वामी रामदेवको योगमा ठूलो योगदान भएपनि ध्यानमा त्यति महत्व दिएको देखिदैन । तर त्यसको पनि आफ्नै सामाजिक महत्व छ । मानिसको रोगको मूल उसको मनमा हुन्छ । सात शरिर भएको मनुष्यको मनस् शरीर स्वस्थ्य भएन भने त्यो विकारले मनुष्य भित्री रुपले रोगी नै रहन्छ । ध्यानले मनस् शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले यो स्वास्थ्यको सबै भन्दा निरापद उपाय हो । यसले हामीलाई भित्रीरुपले यो जगतसंग पनि जोड्छ । ह्दयलाई आह्लादित र करुणापूर्ण बनाउंछ । 

हामीले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने संकल्प र तयारी अहिले नै गर्नुपर्छ । बुद्ध नेपालमा जन्मेको भनेर हल्ला मात्र गर्नु भन्दा बुद्धको जन्म, संबोधि र महापरिनिर्वाण सबै एकै दिन परेका बुद्ध जयन्ती हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मनायौं भने हजार शब्दले बोलेर नगरेको कार्य ध्यानमा बसेको मौनले गर्न सक्छ ।  

के आजको विश्वका लागि ओशोको संदेश अझै सान्दर्भिक छ ? छ भने कसरी ?

योग जस्तै अहिले ध्यानको लहर पनि विश्वव्यापी भएको छ । ओशोले विगत शताब्दीमा के भन्नुभयो भने मनुष्यले सामान्य जीवन जिउन या त लागूपदार्थ, मद्यपान या अन्य औषधिको सहारा लिनुपर्छ या त ध्यान गर्नु पर्छ, अन्य विकल्प छैन । उहाँको एक प्रख्यात वचन छ – मेडिटेशन अर मेडिकेशन । त्यसैले उहाँले सबै किसिमका मानिसहरुलाई अनुकूल र उपयुक्त हुने ६ सय ध्यानका विधिहरुको र करिब २ हजार छोटा ध्यानका विधिहरुको सृजन गर्नुभयो । नृत्य, उत्सव, ध्यान, मौन, संगीत सबैलाई लिएर अनेकौं सुन्दर ध्यानका विधिहरु ओशोले दिनुभयो ।  त्यस्तै अत्यन्त गहन थेरापी टेक्निक पनि दिनुभयो । उहाँलाई थाहा थियो कि २१ औ शताब्दीको मनुष्य आफै अशान्त, चिन्तित मनको शिकार हुनेछ र उसलाई ध्यान अत्यन्तै जरुरी हुनेछ । त्यसैले ओशोले सांसारिक तथा आध्यात्मिक जीवन दुबैलाई समग्ररुपेण स्वीकार गर्नुहुन्छ । उहाँले ‘जोर्बा द बुद्ध’ को सम्पूर्ण जीवनशैलीको व्याख्या गर्नुभयो, त्यसरी नै जीवन जिउन सिकाउनु भयो । मानिसले संसारलाई पनि महत्व दिनुपर्छ र तर त्यहीं हराउने पनि होइन, हामीले आफूभित्रको बुद्धलाई पनि जगाउनुपर्छ । संसारमा वासनाको कुनै अन्त छैन । कुनै एक दिन हामीले सबै छोडेर जानुपर्छ ।  यदि हामीले आफूभित्रको बुद्धलाई जगाउने साधना र ध्यान गरेका छौं भने हामीले सबै छोडेर जाने बेलामा हामीलाई पीडा हुँदैन । नत्र हाम्रो अन्तिम क्षण पनि वासना र प्राणको लडाईं मै बेहोसीमा बितेर जानेछ । ओशोले मृत्यको अकाट्य सत्य र बुद्ध बन्ने संभावना दुबैलाई महत्व र साधना विधि दिनुभएकोले ओशोको महत्व आज झन सान्दर्भिक भएर आएको छ ।  

कम्प्युटर इन्जिनियरको रुपमा काम गरिरहेको तपाईं कहिले देखि र कसरी ओशो अभियानमा सहभागी हुनु भयोरु बताई दिनोस् न ?

मैले सन् १९९७ मा रूसबाट कम्प्युटर इन्जिनियरिंग पास गरेर आएँ । नेपाल विद्युत प्राधिकरणमा काम गरेँ । त्यसपछि एक बैंकमा सिस्टममा काम गरें । यसै सिलसिलामा म विराटनगरमा रहंदा स्वामी आनन्द अरुणसँगको भेट भएपछि मेरो जीवनमा नयाँ अन्तस् आयामको प्रस्फुटन भयो । उहाँले तपोवनमा आएर बस्ने र तपोवनले गरिरहेको कार्यमा सहयोग गर्ने वातावरण बनाइदिनुभयो । म भित्र पनि खोजको सुषुप्त अग्नि रहेछ । त्यसको आभाषले मलाई छोडेन र तपोवनको ध्यान शिविरले मलाई पल्टा खुवायो, साधनामय जीवनशैली र साधकहरुको साथमा बस्नु नै अब मेरो नियति हो भन्नेमा मलाई कुनै शंका,  भय भएन र २००२ देखि म तपोवनमा स्वामी आनन्द अरुणको सान्निध्यमा छु  ।   

तपोवनमा गएको ८ महिना कस्तो रह्यो ? संसारभरि रहेका ओशो सन्न्यासीहरुसंग कसरी जोडिइ रहनु भएको छ ?

शुरुमा के गर्ने भन्ने भयो । हामी लकडाउनमा थियौं । तर विस्तारै हामीले अनलाईन कार्यक्रमहरु संचालन ग-यौ र त्यो क्रम अहिलेसम्म जारी छ ।   

अब नेपाल भरिका ओशो आश्रमहरु कहिले देखि खुल्छन् ?

सामूहिक भेला हुने ठाउँ अलि बढी संवेदनशील क्षेत्र हुन् । विस्तारै जीवनशैलीमा आएको परिवर्तनले हामीलाई पनि असर गरेको छ । अब कोरोनाकै समयमा पनि विस्तारै मानिसहरुको आवतजावत खुला भइरहेको छ । सरकारले निर्णय गरेर धार्मिक स्थलहरु खुलाउने कदम चालेमा हामी पनि सार्वजनिक रुपले सबैका लागि खुल्ला हुनेछौं । 

अन्त्यमा, हाम्रो मनमा सकारात्मक भाव जगाइ राख्न के गर्नु पर्छ ?

सकारात्मक रहन सकारात्मक हुने भाव जगाउने माहोल चाहिन्छ । त्यसको पहिलो स्थान हाम्रो शरीर हो । शरीरले रसायनको स्रावले सकारात्मक या नकारात्मक अवस्था पैदा गरिरहेको हुन्छ । हाम्रो मनमा खेल्ने विचार र त्यसले उत्पन्न गर्ने भावले हामीमा भविष्यप्रतिको भरोसा निर्मित गरिरहेको हुन्छ । विचारलाई शान्त बनाउने उपाय भयो भने मात्रै हामी सकारात्मक हुने बाटो खुल्छ । नत्र धन, पद, अरुले दिएको जति सुकै मान र इज्जतले पनि हामीलाई एकै प्रकारका नकारात्मक भाव उत्पन्न गर्ने विचारको अनवरत प्रवाहबाट बचाउन सक्दैनन् । आज धनी देखिइएका देशहरुमा यही भईरहेको छ । त्यसैले आज शारीरिक व्यायाम, योग, ध्यान सिक्ने, अरुलाई सिक्न सक्ने वातावरण बनाइदिने र त्यसले उत्पन्न गर्ने राम्रो माहोल आजको आवश्यकता हो ।

ad
ad