केन्द्रबाट जिल्ला पुग्यो नेकपा विवाद, चितवनमा सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा अवरोध

ग्लोबल नेप्लिज संवाददाता
शनिबार, मङ्सिर ६ २०७७
image

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद केन्द्र हुँदै जिल्ला तहसम्म पुगेको छ । दाहाल–नेपाल पक्षीय नेकपा नेता सुरेन्द्र पाण्डे सहभागी एक कार्यक्रममा ओली पक्षीय कार्यकर्ताले अवरोध गरेका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा सहभागी स्थायी  समिति सदस्यविरुद्ध ओली पक्षीय कार्यकर्ताहरुले नाराबाजी गर्दै अबरोध गरेका हुन् । पाण्डेले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नाराबाजी गरेका थिए । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न उनीहरुको चेतावनी थियो । 

नाराबाजीका कारण केहीबेर कार्यक्रम अवरुद्ध भएको थियो । नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले पनि केही सहभागीहरुले अवरोध सिर्जना गर्न खोजेको जानकारी दिए । 

माधव नेपालको आपत्ति

यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार  नेपालले नेता पाण्डे सहभागी कार्यक्रममा गरिएको अवरोधप्रति आपत्ति जनाएका छन् । नेपालले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेका छन् । वरिष्ठ नेता नेपालले घटनामा संलग्नहरुलाई हदैसम्मको कारवाही गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

यसअघि गत महिना नेकपाका दुई समूहबीच झडप हुँदा पर्सामा एक जनाको मृत्यु भएको थियो ।

ad
ad