महासंघ निर्वाचन : प्रज्ञा भवनमा मत गणना, राति नै नतिजा आउने 

शनिबार, मङ्सिर १३ २०७७
image

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार दिउँसो भएको मतदानपछि साँझबाट मतगणना शुरु भएको छ । तीन वटै केन्द्रबाट मतपेटिका संकलन गरिएपछि साँझ ६ बजेबाट मतगणना थालिएको हो । 
महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म काठमाडौंका तीन वटा केन्द्रमा मतदान गरिएको थियो । 
प्रज्ञा प्रतिष्ठानमा जिल्ला र नगर, बबरमहल कार्की ब्याङ्क्वेटमा एसोसिएट र महासंघको सचिवालय टेकुमा वस्तुगतको मतदान केन्द्र बनाइएको थियो । निर्वाचनमा शत प्रतिशत मत खसेको छ । जिल्ला र नगरमा १०५, एसोसिएटमा ९०४ र वस्तुगतमा १०१ मत खसेको छ ।

महासंघको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको नयाँ कार्यसमितिको लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावमा उम्मेदवारी दिएका थिए ।

महासंघमा कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । 
निर्वाचन समितिले रातभर मत गणना गरिने र राति नै नतिजा सार्वजनिक गरिने जनाएको छ । 
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार आगामी कार्यकालमा शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

 

ad
ad