कमिला र कम्युनिज्म

बिहीबार, मङ्सिर ४ २०७७
image

-डा. उत्तमबाबु श्रेष्ठ

प्रख्यात जीवशास्त्री, दुई पटक पुलिट्जर विजेता, लेखक एडवार्ड विल्सन विश्वकै कमिलाको बिरलाकोटी अध्येता हुन् । उनले कमिलाको आनीबानी अध्ययन गर्दा रेडियो एक्टिभ चीनी कमिलाको गोलमा छरेर हेर्दा के पाए भने कामदार कमिलाहरूले एक अर्कासँग खाना साटासाट गर्थे ।

त्यो साटासाटको परिमाण र दर यति उच्च हुन्थ्यो कि अन्त्यमा सबै कामदार कमिलाको पेटभित्र उत्तिकै मात्रामा खाना (चीनी) हुन्थ्यो । एक प्रकारको पूर्ण साम्यवाद (सबैले बरावर खाने, कोही बढी पनि नखाने कोही कम पनि नखाने, सबै बाँडेर खाने । त्यसलाई उनले साम्यवादी भूँडी भनेका छन् ।

तर मान्छेको जैविक चरित्रको कारण त्यो असंभव छ । हाम्रो प्रजनन कमिलाको जस्तो सामूहिक होइन, व्यक्तिगत हुन्छ। मान्छेमा आफूलाइ वा आफ्नो बच्चालाई  हेर्यो भने उसको जीन (वंशाणु) वातावरण अनुकुल हुँदै जान्छ। अर्थात भनौं आफ्रनो स्वार्थ हेर्दा त्यसले मान्छेमा डार्विनियन फिटनेस बढ्छ।

तर, कमिला जस्ता सामाजिक प्राणीमा व्यक्तिगत जीनले गरेको योगदान कोलोनीको सामाजिक जिनमा परिणत हुन्छ । त्यसैले विल्सनले साम्यवादी सिद्धान्तलाई यसो भनेका छन् – कार्ल मार्क्सले दिएको साम्यवाद एउटा अद्भुत विचार हो तर, यो सिद्धान्त मान्छेमा होइन कमिलामा लागू हुन्छ ।

नेकपाको दुई अध्यक्षको लडाईंले पुष्टि गरेको छ - साम्यवाद कमिलामा लागू हुने सिद्धान्त रहेछ, मान्छेमा होइन । उनीहरूले त्यो सिद्धान्तको लागि एक जनाले १४ वर्ष जेल बसे अर्कोले भूमिगत जीवन, जनयुद्ध लडे । मलाई  लाग्दैन शुरूमा कम्युनिष्ट हुँदा दुवैलाई  एकदिन प्रम हुन्छु भन्ने लागेको थियो ।

तर, अहिले यी दुवैले मान्छेको त्यो स्वाभाविक चरित्र देखाएका छन् किनकि  उनीहरू कमिला होइनन् । बाँडीचुँडी बराबर खाने गुण त कमिलाको पो हुन्छ त, मान्छेमा त पाएसम्म एक्लैले बजाउने, आफू र आफ्ना सन्तान शक्तिशाली भइराख्ने र स्रोतमा कब्जा गरेर डार्विनियन फिटनेस बढाइ राख्ने ।

त्यसकारण नेकपामा अहिले कोही साम्यवादको रूमानी सपना देखेर लागिरहनु भएको छ भने त्यो पार्टी छोड्नु्स् । तर लप्टाउनको लागि त्यसमा लागेको हो भने त त्यो जतिको राम्रो ठाँउ अरू कुन छ र हालको लागि ?  सकेसम्म बजाउनुस् । म यहाँ बरालिएर आग्रह गर्न पुगेछु, सरी ।

कार्ल मार्क्सले मानिसको आर्थिक सामाजिक चरित्र, केही ऐतिहासिक कुरा मात्रै बुझे र व्याख्या गरे । तर, उनले मानिसको प्राग इतिहास र जैविक गुणलाई  पूरै नजर अन्दाज गरे जस्तो लाग्छ, मेरो सीमित बुझाइमा ।

आजको मान्छेलाई बुझ्न हाम्रो मान्छेको पूर्खाहरूको बारेमा बुझ्नु पर्छ । हामी कहाँबाट आयौं र कसरी शक्तिशाली भयौं भनेर बुझ्नु पर्छ । हाम्रो पुर्खाहरूको बारेमा बुझ्न मानिसको जैविक बनोट बुझ्न जरूरी छ । राजनीति बुझ्न जीव विज्ञान बुझ्न जरूरी छ ।

(युवा वैज्ञानिक श्रेष्ठ काठमाडौँस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसीप्लिनरी स्टडिज़का निर्देशक हुन् । यो आलेख उनको ट्विटर @uttambabu बाट लिइएको हो । सं.)

ad
ad