नेकपा अध्यक्षद्वयको पत्र सवाल जवाफ: अब सैद्धान्तिक रुपमै विमतिको सुरुवात

-- नारायण अर्याल
शुक्रबार​, कात्तिक २८ २०७७
image

काठमाडौं -- नेकपाका दुई अध्यक्षबीच आन्तरिक विवादलाई लिएर पत्रमै सवालजवाफ सुरु भएको छ । सचिवालयका पाँच सदस्यले बैठकको माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र र त्यसको जवाफमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएको जवाफ तथा दाहालले ओलीलाई पुनः लेखेको पत्र सार्वजनिक भएपछि नेकपामा अब सैद्धान्तिक रुपमै विमतिको सुरुवात भएको यो विवादलाई नजिकबाट नियालेका विश्लेषकहरुको ठम्याइ छ ।

वाम विश्लेषक श्याम श्रेष्ठ विगतमा कार्यगतरुपमा देखिएको विमति अब लिखित रुपमै देखिनु शुभ नभएको बताउँछन् । “पहिले पनि मिलेका थिएनन्,  तर मौखिक थियो,’ ग्लोबल नेप्लिजसँग कुरा गर्दै श्रेष्ठले भने, ‘अब त लिखितरुपमै विमति सार्वजनिक भयो जुन पार्टी एकताका लागि शुभ होइन ।”

कार्यकारी भनिएका अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल,  झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गर्दै ओलीलाई पत्र लेखेपछि सुरु भएको पत्राचार क्रम तीन चरणसम्म पुगेको शुक्रबारको बैठकमा सार्वजनिक भएको थियो ।

लामो समयसम्मको रस्साकस्सीपछि शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिव चालीस मिनेट लामो बैठकमा अध्यक्ष दाहालले नै दाहाल–ओली पत्र संवादसहितको प्रतिवेदन पेश गरेपछि बैठक बस्नुअघि नै अधिकांश विषयमा सवाल जवाफ भइसकेको सार्वजनिक भएको हो ।

विभाजनको संकेत

"पार्टी न पहिले मिलेको थियो, न अब मिल्ने संभावना देखिन्छ,’ श्रेष्ठले भने, ‘कम्युनिष्ट पार्टीमा यसरी लिखित रुपमा आरोप प्रत्यारोप आउनुले विभाजनको संकेत गर्दछ ।"

बैठक आह्वानका लागि आग्रह गर्दै लेखिएको दाहालको पत्रको जवाफमा ओलीले गत भदौको अन्तिम साता सम्पन्न स्थायी समितिको बैठकमा भएका निर्णय, त्यसपछिका सचिवालयका बैठकका निर्णय र पटक पटक दाहालसँग भएका सहमति र छलफललाई कोट्याएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन, विभिन्न पदमा गरिएका राजनीतिक नियुक्ति र राजदूत नियुक्तिसम्मका प्रसंगमा ओलीले दाहालसँगको सहमतिमा आफूले गरेको निर्णय भन्दै आफ्नो बचाउ गरेका छन्, जुन, दाहालले पटक्कै स्वीकार गरेका छैनन् ।

ओलीले पार्टी एकताको आधारमाथि नै प्रहार गरेको, संगठनात्मक विधि र पद्धतिको बेवास्ता गरेको, सरकार सञ्चालनमा अनुत्तरदायी भएको तथा पछिल्लो पटक स्थायी समिति बैठकको निर्णय उपेक्षा गरेको दाहालको दावी  छ ।

तर, ओलीले आफ्नो  पत्रमा आफू स्थायी समितिको निर्णय अनुसार नै अगाडि बढ्दै गर्दा दाहालले भाँजो हालेको तर्क गरेका छन् । सबै काम सहमतिमै गरेको छु, तैपनि कमरेड प्रचण्ड खुसी हुनुहुन्न, दाहाललाई संबोधन गरी सचिवालयका अन्य चार जना सदस्यलाई समेत पठाइएको पत्रमा ओलीले उल्लेख गरेका छन् । निर्णयको उपेक्षा गरी गुटगत भेलालाई प्रश्रय दिँदै आफूमाथि दबाब दिएको ओलीको आरोप छ ।

दाहाल–ओली लिखित सवाल जवाफ सार्वजनिक भएपछि विश्लेषक मुमाराम खनालले दुवै अध्यक्षलाई कटाक्ष गर्दै ट्वीट गरे । उनले ट्वीटरमा लेखेका छन्, "आफ्ना अन्ध समर्थक बाहेक कसैलाई विश्वास नगर्ने र मौका नदिने ओलीको विशेषता हो भने अन्धसमर्थकलाई भन्दा आफूलाई धम्क्याउने व्यक्तिबाट डराउने र उसैलाई मौका दिने प्रचण्डको विशेषता हो । उनले थपेका छन्, ओलीको रणनीति सही रहेछ, रामबहादुर लेखराज, हरिबोल, टोपबहादुर जस्ता पात्रहरु ओली गुटमा छैनन् ।"

नेकपाका नेताहरु दुई धारमा लागेर वाद प्रतिवादमा उत्रिरहेका बेला गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा भने कुनै पनि धारमा देखिएका छैनन् । आफ्नो पत्रमा ओलीले अर्का अध्यक्ष दाहालले आफ्ना निकट सहयोगी इश्वर पोखरेल मात्रै हैन,  पूर्व माओवादी नेता थापालाई पनि मन्त्रिपरिषद्बाट हटाउन सिफारिश गरेको खुलासा गरेका छन्।  यद्यपि नेकपाभित्रको शक्ति सन्तुलन मिलाउन ओलीले थापाको ठाउँमा वामदेव गौतमलाई ल्याउने तयारी गरिरहेको जानकारहरु बताउंछन्  । गौतम सहमत भए ओलीले उनलाई उपप्रधानसहित गृहमन्त्री बनाएर सिंहदरबार भित्र्याउन सक्छन् ।  त्यसको चपेटमा थापा नै पर्ने देखिएको छ । यद्यपि  गौतमले ओलीको उक्त प्रस्तावमा भने सहमति जनाइसकेका छैनन् ।

मंसिर ३ को प्रतीक्षा

शुक्रबारको बैठकमा पेश भएका पत्र सवालजवाफमा उठेका विषयमाथि भने आउँदो बुधबार (मंसिर ३ गते) को  बैठकमा मात्रै छलफल हुने भएको छ ।

प्रवक्त नारायणकाजी श्रेष्ठका अनुसार समस्या खुलस्त रुपमा आएका छन् र छलफल पनि खुलस्त नै हुने छ । मंसिर ३ मा हुने छलफलपछि समाधान निकाल्न सजिलो हुने उनको दावी  छ । यद्यपि अन्तरिक तथा वाह्य चलखेलका बीच दुई अध्यक्षबीच बढ्दो दूरी कम गर्ने सूत्र प्रवक्ता श्रेष्ठ वा अन्य नेताहरुसंग देखिंदैन।   

ad
ad