हेल्थ फाउण्डेसन नेपालको नयाँ समिति: जनस्वास्थ्य सुधारका लागि सहयोग र समन्वयलाई प्राथमिकता

बिहीबार, कात्तिक २७ २०७७
image

अमेरिका -- अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरुको संस्था, हेल्थ फाउण्डेसन नेपाल, ले वार्षिक साधारणसभा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्य समिति गठन गरेको छ ।
भर्चुअल साधारणसभामा अमेरिका र नेपालबाट गरी एक सय २० भन्दा बढी फाउण्डेसनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
साधारणसभाले २०२१–२२ का लागि डा. अशोक देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. मनोज भट्टराई र मुना तिम्सिना छानिनु भएको छ भने महासचिवमा द्रोण पाण्डेय तथा कोषाध्यक्षमा बिमला देवकोटा चयन हुनु भएको छ ।
त्यस्तै, कार्यकारी सदस्यहरुमा आरती पौडेल, आदित्य जोशी, गगन न्यौपाने, झबिन्द्र घिमिरे, मानस्वी संग्रौला, खगेन्द्र दाहाल, मनोज भण्डारी, शरिना राजभण्डारी, डा. श्रीधर पौडेल, रजनी भारती, समीर आचार्य र सुजना राजकर्णिकार छानिनु भएको छ । त्यसैगरी सुशान्त गुरुङ, सुश्रुशा अज्र्याल, यज्ञ भट्टराई र यशश्वी पोखरेल पनि  कार्यकारी सदस्यमा छानिनु भएको छ ।
साधारणसभाले फाउण्डेसनको कार्यकारी निर्देशनमा बिनिता अधिकारी र उपकार्यकारी निर्देशकमा खगेन्द्र दाहाललाई नियुक्त गरेको छ ।

नेपालका अति विपन्न तथा सीमान्तीकृत क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सन् २०१२ मा स्थापित संस्थाले सन् २०१३ देखि लक्षित वर्गमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । पूर्वदेखि पश्चिमसम्मका ३० जिल्लामा सेवा प्रवाह गर्दै आइरहेको फाउण्डेसनले पछिल्लो समयमा दाङ, चितवन, बैतडी, काठमाडौं, ललितपुर र नुवाकोटमा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

आगामी योजना
साधारणसभामा आगामी योजना प्रस्तुत गर्दै अध्यक्ष डा. अशोक देवकोटाले लक्षित वर्गमा स्वास्थ्य सेवा पुर्याउन अन्य सरकारी, गैरसकारी तथा सामुदायिक संस्थाहरुसँग सहयोग, सहकार्य र समन्वयलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँका अनुसार, फाउण्डेसनले हाल मातृशिशु स्वास्थ्य तथा पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगको उपचार, स्वास्थ्य तथा कम्प्युटर साक्षरता, खानेपानी तथा सरसफाइ र सामुदायिक स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले फाउण्डेसनका कार्यक्रम सञ्चालनका लागि नेपालको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद, पपुलेसन सर्भिसेज  इन्टरनेशनल, तथा क्यानेडियन रेडक्रससँग पनि सहकार्य गरिएको जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन गरिएको साधारणसभाको पहिलो दिन फण्ड रेजिङ कार्यक्रम अन्तर्गत सांगीतिक तथा मनोरन्जनमूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा महसञ्चारद्वारा निर्मित चर्चित हास्य कलाकार हरिवंश आचार्यको अभिनय रहेको ‘गेडाबहादुर’ नामक दृश्य सन्देश प्रस्तुत गरिएको थियो । करिव २६ मिनेट लामो उक्त दृश्य सन्देशमा फाउण्डेसनले सञ्चालन गरेका कार्यक्रमसँगै विश्वव्यापी रुपमा फैलिएको महाव्याधी कोरानाबाट जोगिने र त्यसको उपचारको संदेश समेटिएको छ । फाउण्डेसनकै लागि उक्त दृश्य सामग्री निर्माण गरिएको हो ।

त्यस्तै, प्रसिद्ध गायक स्वरुपराज आचार्यसहित नेपाल र अमेरिकाका थुप्रै कलाकारको प्रस्तुती रहेको कार्यक्रमबाट करिव २४ हजार अमेरिकी डलर संकलन गरिएको फाउण्डेसनले जनाएको छ । 

ad
ad