नेपालीलाई पेन्सन बुझ्न झुलाघाट नाका ५ दिन खोलिने

शनिबार, मङ्सिर ६ २०७७
image

बैतडी : नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण (पेन्सन) बुझ्न समस्या भएपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । सो नाका पाँच दिनका लागि खोल्न लागिएको हो । 

मंसिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, ‘नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौँ ।’ जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको होे ।

कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । यसअघि तीन दिनका लागि नाका खोलिए पनि सबैले निवृत्तिभरण बुझ्न पाएका थिएनन् ।    

नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताए । उनले भने ‘खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामका लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ ।’

जिल्लामा करीब एक हजार २००  भारतीय निवृत्तिभरणधारी  रहेको बताइएको छ ।  नाकामा निवृत्तिभरणधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने  प्रशासनले जनाएको छ ।

निवृत्तिभरणधारीले दुई महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोलिन लागिएको हो । उनीहरुले निवृत्तिभरणबापतको पैसा भारतीय बैंकमार्फत बुझ्ने गरेका छन् । 
 

ad
ad