गणतन्त्र कुनै उपकार होइन !

नारायण गाउँले
सोमबार, कात्तिक १७ २०७७
image

आफ्नो नेताले गणतन्त्र ल्याइदिएर ठूलै उपकार गरेजस्तो केही साथीहरू फुइँ लगाउनुहुन्छ । 
मलाई गणतन्त्रले के उपकार गर्यो भन्नेचाहिँ न मलाई न उहाँलाई नै थाहा छ । 
ए साथी, नारायणहिटीमा ज्ञानेन्द्र हुनु या शीतल निवासमा विद्या भण्डारी हुनुले हामीलाई के फरक पर्छ ?
उहाँको दाँत दुःखे पनि सिङ्गापुरमा उपचार हुन्छ, हामीले महामारीमा उपचार पाउन पनि सिफारिश खोज्न धाउनुपर्छ । हाम्रो एक जोर चप्पल फेर्ने हैसियत नहोला तर मर्सिडीजबाट झर्दा पाउकमलले भुइँ नछोऊन् भनेर उहाँका लागि रातो पिर्का तैयार हुन्छ । दलदास नबनी र त्वं शरणम् नगरी हामी दुबैको पियन पदमा समेत नियुक्ति हुँदैन, तर हाम्रै पसिनाको करले त्यो पिर्का बोकेर हिँड्नेले तलब थाप्छ । 
 
गाड़ी चढ्ने उहाँहरू, एउटै प्रोजेक्टमा सत्तरी करोड़को डिल गर्ने उहाँहरू, राज्यका साधनस्रोत लुटेर मोज गर्ने उहाँहरू, हुँदो खाँदोको एउटा सानो देशलाई सात टुक्रा पारेर बाँडिचुँडी खाने उहाँहरू, जनताले हराए पनि प्रधानमन्त्री बन्न कानुन नै फेर्ने उहाँहरू, हामी हिँड्ने बाटो बन्द गरेर सवारी चलाउने उहाँहरू, हामीले धान र गहुँमा हाल्ने मल किन्न समेत नपाए पनि सर्प पाल्ने नाममा राज्यबाट करोडौं पाउने उहाँहरू, बालुवाटार किन्न सक्ने पनि उहाँहरू अनि सुकुम्बासी बनेर कुम्ल्याउने पनि उहाँहरू ! अनि उपकार चाहिँ हामीलाई ? अकूत भ्रष्टाचार गर्ने पनि आफै, अनि छानबिनको नाटक गर्दै आयोग बनाउने पनि आफै अनि त्यसमा आफ्नै दलबललाई जागिर र भत्ता दिएर कुम्ल्याउने पनि आफै ! उपकारचाहिँ हामीलाई ?

साथीको भाषामा हामी रैती थियौं, उहाँको उपकारले नागरिक भयौं अरे । उसो त जापानिज पनि रैती नै छ । अस्ट्रेलियन होस् या क्यानेडियन, डच होस् या बेलायती, थाई होस् या स्पेनिस, विश्वमा धेरै नागरिक रैती नै रैछन् । र पनि हामीभन्दा स्वतन्त्र छन् र हामीभन्दा खुशी नै छन् । शासकले पाउने सुविधा तिनले नपाउलान्, तर हामीजस्तो पियन पदलाई सिफारिश खोज्न या काखे छोराको उपचारका लागि समेत टोले नेताकहाँ धाउनुपर्ने अवस्थामा ती पक्कै छैनन् ।

ए साथी, अरू त परको कुरा, रैती हुँदासम्म तिम्रो र मेरो बुबाबीच ऐँचो-पैँचो र सरसापट चल्थ्यो । जन्ती र मलामी चल्थ्यो । अहिले तिमी र मबीच विदेशी कुहिएको सिद्धान्तले पर्खाल ठड्याएको छ । म तिमीलाई भन्दा पहिले तिमीले दिने भोटको रङ्ग हेर्छु । रङ्ग मिल्यो भने सबै मिल्छ, रङ्ग फरक पर्यो भने सबै भत्किन्छ । मानवता, छिमेक, नाता, गुणको के अर्थ ? र यही आयातित रङ्गमा सर्वाङ्ग रङ्गिएर, टुक्रिएर म 'वैदेशिक उपनिवेश मुर्दाबाद' भन्छु !  रटाइएका केही अनूदित शब्द उच्चारण गर्छु र आफूलाई विश्वकै क्रान्तिकारी सोच्छु ! 

साथी अब त बिउँझिन मन लाग्छ, र भन्न मन लाग्छ, त्यो रातो पिर्का उपकार होइन, हुँदै होइन, कत्ति पनि होइन ! तिमी नै भन, इतिहासकै सङ्कटको यो घड़ीमा, महामारीविरुद्धको यो कठीन सङ्घर्षमा, सिंहदरबारदेखि बालुवाटारसम्मको त्यो रत्यौली कसरी उपकार हुन सक्छ ?

ad
ad