कोरोनाविरुद्धको खोप प्रयोगका लागि फाइजरले दियो आवेदन

शनिबार, मङ्सिर ६ २०७७
image

एजेन्सीहरू : फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोरोना भाइरस विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा आवेदन दिएको छ । खोप निर्माताहरुले अमेरिकाको खाद्य तथा औषधि प्रशासन ‘एफडीए’ समक्ष प्रयोगको अनुमति माग्दै आवेदन दिएका हुन् ।

‘एफडीए’ ले सो खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय गर्नेछ । अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । डिसेम्बरको आधासम्ममा स्वीकृति पाएमा केही घण्टाभित्रै खोप वितरण गर्न तयार भएको खोप निर्माता कम्पनीले बताएका छन् ।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन विश्वलाई कोरोना भाइरसको खोप दिने यात्रामा एउटा कोसेढुङ्गा भएको बताए । सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा 'सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन' (सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्ने बताइएको छ ।

बेलायतले सो खोपको चार करोड मात्रा मगाइसकेको छ । दैनिक दुई हजार भन्दा बढी संक्रमितको मृत्यु भैरहेको अमेरिकामा खोपको ठूलो माग रहेको छ । अन्तिम चरणका परीक्षणका तथ्यांकले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९५ प्रतिशत जोगाउने देखाएको छ । यसको प्रभावकारिता सबै उमेर समूहमा एकरूपता देखिएको छ ।

अमेरिकी कम्पनी मोडेर्नाले बनाएको खोपले पनि ९५ प्रतिशत सुरक्षा दिने देखिएको छ । अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेका खोप पनि परीक्षणकै क्रममा राम्रो नतिजा देखाएको छ । चीन र रुसमा अरू खोपहरू पनि परीक्षणको अन्तिम चरण छन् ।

ad
ad