कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र दिन निर्देशन

मङ्गलबार, कात्तिक १८ २०७७
image

काठमाडौं : बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दावी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकले बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दावी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि भुक्तानी दिने निर्णय गरेको हो ।

बैठकले रकम भुक्तानीको समन्वय र अनुगमन बीमा समितिले गरी दावी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । सो क्रममा अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दावी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तै बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीका गुनासा सम्बोधन गर्न हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले गर्ने भएको छ । बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको सहभागिता थियो ।

यसैबीच बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना बिमाको दावी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको छ । अर्थमन्त्रालयले समितिलाई कोरोना बीमाको दावी भुक्तानी नरोक्न निर्देशन दिएपछि बीमा समितिले पनि कोरोना बीमाको दावी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको छ । 

“अर्थ मन्त्रालयबाट अएको पत्र अनुसार हामीले बीमा कम्पनीहरुलाई कोरेना बिमाको दावी भुक्तानी ७ दिनमा नै  गर्न भनेका छौं,” बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । अब कोरोना बीमा मादण्डमा भएको व्यवस्था अनुसार प्रक्रिया पुरा गर्नेले ७ दिनमा नै दावी भुक्तानी पाउने उनले बताए । 

ad
ad