कोरोनाविरुद्ध अर्को खोप आयो : मोडेर्नाले विकास गरेको खोप '९५ प्रतिशत प्रभावकारी'

मङ्गलबार, मङ्सिर २ २०७७
image

काठमाडौँ : अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको सो कम्पनीले जनाएको छ।

यसअघि फाइजर तथा बायोएनटेकले बनाएको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको समाचार गत साता सार्वजनिक भएको थियो ।

तेस्रो चरण अर्थात विस्तारित तहको मानवीय परीक्षणमा कोरोना भाइरस विरुद्ध सम्भावित खोपहरु सुरक्षितसँगै प्रभावकारी सावित भएपछि विश्वभर आस पलाएको छ।

मोडेर्नाको खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएसँगै विश्वलाई ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारी विरुद्ध  प्रभावकारी विकल्पको आस  पलाएको हो।

फाइजर र मोडेर्ना दुवैले खोप विकासका लागि विल्कुल नयाँ र प्रयोगात्मक विधि अपनाएका हुन्। मोडेर्नाले खोप प्रभावकारी देखिनु अति उत्कृष्ट रहेको बताउँदै प्रयोगका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया आउँदो केही हप्तामै थाल्ने उल्लेख गरेको छ।

अमेरिकामा परीक्षणमा सहभागी भएका ३० हजार मानिसमध्ये आधालाई खोपका दुई डोज चार हप्ताको फरकमा दिइएको थियो । बाँकी आधालाई डमी खोप दिइएको थियो।

९५ जनाको नतिजाको विश्लेषण गरिएको हो । कोरोना भाइरसको संक्रमण देखिएका मध्ये मात्रै पाँचजना खोप दिइएका रहेको र अरु ९० जना डमी खोप दिइएका मानिस रहेको मोडेर्नाले जनाएको छ।

यसरी हेर्दा खोपले ९४.५ प्रतिशत मानिसलाई संक्रमणबाट रोकेको छ । नतिजा अति उत्साहजनक र आशादायी रहेको मोडेर्नाका  चिफ मेडिकल अफिसर ताल जाक्सले बताएका छन् ।

ad
ad