कोरोना महामारीका बीच तिहार र छठ पर्व कसरी मनाउने ?

आइतबार​, कात्तिक ३० २०७७
image

  • डा. गेहेन्द्र महरा

अहिले देशमा कोरोनाभाइरसको संक्रमण अत्यधिक मात्रामा बढ्दै दुई लाख भन्दा माथि पुगेको छ भने दैनिक १५-३० जनाको दरले मृत्यु हुंदै अहिलेसम्म कोरोनाको कारणले १,२१५ नेपालीले ज्यान गुमाइसकेका छन्।  त्यसमा पनि काठमाडौँ उपत्यकामा त झन् डरलाग्दो तरिकाले बढ्दैछ, PCR गर्ने संस्थाहरुको संख्या बढेको छ, तथापि टेस्टिंग र ट्रेसिंगको मात्र बढाइएको छैन।  त्यसैले अहिले जांचेको  मध्ये २०-३० प्रतिशत मान्छेमा संक्रमण देखिएको छ। यसको मतलब कोरोना संक्रमण समुदायस्तरमा पूर्णरुपमा फैलिसकेको छ। संक्रमण पुस्टि भइसकेका  व्यक्तिहरु पनि जथाभावी बजारतिर, साथीहरुसंग मजाले घुमफिर, अनि रेस्टुरेन्ट तिर पनि निस्फिक्रीका साथ  हिंडीरहेको कुरा बाहिर आएको छ, जुन एकदमै डरलाग्दो अवस्था हो। 

चाडपर्वमा जनस्वास्थ्य मापदण्डलाई ख्याल गरिएन भने स्पेन, इटाली, अमेरिका जस्तो नहोला भन्न सकिंदैन। जसको कारण अस्पतालहरुमा बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुनेछ भने अर्कोतिर दैनिक रुपमा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएको कारणले बिरामीहरुले  उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने छ। 

नेपालीहरुको महान चाड तिहार र छठ पर्व पनि भित्रिएको छ । यस्तो अवस्थामा कोरोना महामारीले कस्तो रुप लिनेछ भन्ने सर्वत्र चासोको विषय बनेको छ । यस कारण यसपालिको तिहार र छठ पर्व मनाउंदा ख्याल गर्नु पर्ने कुराहरु

१. अहिले जो जहाँ छ तेही बसेर नै चाड पर्व मनाउने। देउसी भैलो जस्तै समूहमा   रमाइलो गर्ने काम अहिले नगरौ।  भिडभाडले गर्दा कोरोनाको संक्रमण बढने एकदमै ठूलो सम्भावना हुन्छ। 

२. दिपावली र छठका लागि पसलमा वा साना-साना खुद्रा पसलमा सामान किनमेल गर्दा हुने भिडभाडको कारणले  सबै व्यक्ति लाई कोरोना सर्ने सम्भावना हुन्छ। 

३. घरमा भएका बुढापाकाहरुलाई संक्रमण हुने खतरा अत्यधिक हुन्छ। यसरि आफु लगायत घरमा भएका अन्य सदस्यहरुलाई खतरामा पारेर चाडपर्व मनाउनुको कुनै अर्थ हुदैन। ज्यान बचे पछि अर्को बर्ष फेरी चाडपर्व मनाउन सकिन्छ। 

४. अहिलेको दीपावलीमा फलफूल र मिठाई किन्न बजारमा धेरै भिड नगरौ ।

५. कोरोना संक्रमण को समयमा चाडपर्वका लागि शपिङ्ग मल अथवा भिडभाड हुने ठाउमा गएर सपिङ्ग नगरौ।  डिपार्टमेन्ट स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट सामान किनेर बाहिरिने काम गरौ । लामो समय बिताउनु हुँदैन ।

६. कोभिडको कारण दैनिक लगभग दोहोरो अंकमा संक्रमितको मृत्यु भैरहेको छ भने  सयौं बिरामी आईसीयू र भेन्टिलेटरमा जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेका छन् । त्यसैले अति आवश्यक नपरेसम्म घर बाट बाहिर नजाऔ ।  घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दूरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने गरौ ।

७. अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन, आईसीयू प्याक भएका छन्, भेन्टिलेटरको पालो कुर्दा ज्यान गएको छ, सिकिस्त बिरामीलाई दश भन्दा धेरै अस्पतालमा चहार्दा बाटोमै मृत्यु भएको छ त्यसैले समयमा नै विचार गरौ।

८. सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा अनिबार्य लगाउने गरौ । स्यानिटाइजरले हात सफा गरिरहने र साबुन पानीले हात धुने र बिशेष सतर्क रहौ।

९. कोरोना मलाइ सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दूरी कायम गर्नु पर्दैन, यो त अरुले गर्नुपर्छ भन्ने गलत धारणा लाई हटाऊ ।

१०. सामान्य रुघा खोकी र अरु लक्षण देखिएमा घरका अरु सदस्य भन्दा अलग बसौ।

११. बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरुलाई बिशेष ध्यान दिनु पर्छ।  उहाहरुसंग बस्दा पनि व्यक्तिगत दूरी कायम गरौ । कुरा गर्दा मास्क लगाऔ।  

१२. आफन्त, छिमेकी, साथी, सहकर्मी आदिसँग हामीले मास्क नलगाइ कुरा नगरौं, सँगै बसेर चिया, खाजा, खाना पनि अर्को व्यवस्था भए सम्म बन्द गरौ । हामीलाई भ्रम छ कि कोरोना सर्ने नचिनेका व्यक्तिबाट हो । कोरोना संक्रमण आफन्तबाट सर्छ, अनि आफन्तलाई नै सारिन्छ । तसर्थ हामीहरुले आफन्तसँग पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्दछ।

१३. पसलबाट लिएको हरेक सामानहरुलाई राम्रो संग सर-सफाई गरि संक्रमणरहित बनेर मात्र प्रयोग गरौ ।  चाडपर्वमा मासु खानैपर्छ भन्ने छैन । घरमै बनाउन सकिने परिकारहरू खानुहोस् । किन्नैपर्ने अवस्थामा नजिकैको पसलमा मात्रै जाने ।आफूलाई एलर्जी हुने खानेकुरा नखाने र चिल्लोपिरो धेरै खान हुँदैन । 

१४. होटल, रेस्टुरेन्ट, चियापसल, कफीसप तथा पसलमा साथीहरु सँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, एउटै  बिएरको बोतलबाट सबैले पिउने, जहाँ पायो तेही थुक्ने नगरौ। 

१५. अघिल्लो बर्षको तिहार जस्तो अहिलेको चाडमा जुवा, तास, कौडी , पिङ्ग लगायत समूहमा खेलिने वा समूहमा रमाइलो गरिने कुनै पनि कार्यमा भाग नलिऔ किनकी कोरोना समुदायमा फैलिइसकेको छ।  

१६. कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा नहुने हुनाले हरेक व्यक्तिसंग सुरक्षित ब्यवहार गरौं ।

१७. रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गरौं । बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ । त्यसैले आफु सुरक्षित भइ अरुलाई पनि सुरक्षित बनाऊ। 

१८. बाहिरबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडाआदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र घरका परिवारसंग सम्पर्कमा रहने गरौ विचार गरौ मान्छे आफ्नो हुन्छ रोग आफ्नो हुदैन ।

१९. हामीले देशको सरकारको भर नपरौं । आफ्नो ज्यान आफैं बचाउनको लागि पहल गरौ। हामी सुरक्षित ठाउँमा बसौं । घरभित्र नै बसौं । खतरायुक्त ठाउँबाट सुरक्षित ठाउँमा जानु हरेक प्राणीको नैसर्गिक स्वभाव हो । 

२०. हामी अहिले अत्यन्तै विषम परिस्थितिमा छौं । यो अवस्थामा हरेक नागरिक जिम्मेवार भएर आफ्नो शरीरमा, आफ्नो घरमा तथा आफ्नो समाजमा संक्रमण नल्याउन हरेक पल सतर्क हुनु जरुरी छ । मास्क किन्न नसक्ने निम्न आय भएका व्यक्तिलाई हामी सबैले मास्क वितरण गरौ । सही तरिकाले मास्क लगाउन अनुरोध गरौ । 

२१. ज्वरो आएमा, सुख्खा खोकी लागेमा तथा स्वाद र वासनामा तलमाथि भएमा तुरुन्तै परीक्षण गर्न जाऔ । पोजेटिभ रिपोर्ट आयो भने घरमा छुट्टै बसौ, अरुको सम्पर्कबाट अलि टाढा बसौ।  तागतिलो खाने कुरा खाऔ, नियमित ब्यायाम गरौ।  

२२. हामी सबैले जनस्वास्थ्यका मापदण्डहरुलाई पूर्ण रुपमा अवलम्वन  गरौ  जसले गर्दा संक्रमण घट्दै जानेछ र हामीहरु पनि सुरक्षित हुनेछौ ।

(डा. महरा  राष्ट्रिय स्वास्थ्य र पर्यावरण संस्थान, काठमाडौंका उपाध्यक्ष तथा जनस्वास्थ्य विशेषज्ञ हुन्।)

ad
ad