बेलायतको दशैँ : सेल्फी टिका, भर्चुअल आशिर्वाददेखि श्रीमतीको हातबाट टिका थाप्नेसम्म

जीएनएन
बुधबार, कात्तिक १२ २०७७
image

लण्डन (जीएनएन) -- नेपाली समुदायको बाक्लो उपस्थिति संगै बेलायतमा पनि विभिन्न कार्यक्रमहरु गरेर भब्य रुपमा दशैं मनाउने चलन बढेर गएको थियो । सम्भवतः नेपालीहरुको उच्च बसोबास रहने प्रवासको मुलुक भएर पनि बेलायतमा दशैंसंगै धेरै कार्यक्रमहरु हुने गर्थे । कोरोना महामारीसंगै यसपालि अधिकांशको दशैं  घरभित्र मात्र सीमित बनेको छ ।  नेपाली दूतावासमा दशैंसंगै भब्य कार्यक्रम आयोजना हुने गर्थ्यो । यसपाली आफ्नो कार्यकाल पुरा गर्न लागेका राजदूत डा. दुर्गा बहादुर सुवेदीले एम्बेसीका परिवारलाई मात्र टिका लगाईदिएर दशैं सम्पन्न गरेका छन् । 

दशैंमा बेलायत अल्डरसटस्थित नेपालीहरुद्वारा स्थापना गरिएको शिव कल्चरल सेन्टरमा पुजा आराधना हुने गर्दथ्यो।   यो पालि भने आधिकारिक सूचना निकालेर संस्थाका महासचिव बिक्रम भट्टराईले कार्यक्रम स्थगित भएको घोषणा गरे । विजया दशमीको दिन सोमबार प्लमस्टिडमा अवस्थित पशुपतिनाथ मन्दिरमा नेपालीहरुका लागि पन्डितहरुले टीका, जमरा वितरण गरेका थिए भने दशैंभर हरेक दिन नवदुर्गापूजा, चन्डीपाठ, आरतीसहित घटस्थापना, फूलपाती लगायतका महत्वपूर्ण पूजा सम्पन्न भएको जनाईएको छ । 

दशैंमा हुने विभिन्न जिल्ला, जातीय, सांस्कृतिक समूह लगायतका  चियापान र भेटघाटका कार्यक्रम पनि बन्द रहे  । कोरोना कहरका बीच पनि अधिकांशले आआफ्नो घरमा दशैंको टिका लगाएर, सामाजिक संजालमा फोटो राखेर दशैं मनाएको जनाउ दिए ।

समय परिस्थिति अनुसार दशैं मनाउनु पर्ने वाध्यताले गर्दा यसपाली आफुले पनि कोहि पाहुनालाई नबोलाई घरका सदस्यसंग मात्र दशैं मनाएको गैरआवासीय नेपाली संघका अभियन्ता तथा पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले बताए । आचार्यले आफ्नो मात्र सुरक्षाको मात्र नभै आमाबुबाहरुको सुरक्षाको पनि प्रश्न रहेको कारण ८७ वर्षीय आमाबाट भर्चुअली जुमबाट आशिर्वाद थापेको बताए ।

नेप्लिज नर्सिङ्ग संघ युकेकी पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघ बेलायतकी महिला संयोजक प्रसुना कडेलले सबैलाई सुरक्षित दशैं मनाउन अनुरोध गर्दै नेपालमा पनि घुइंचो नगर्न र सुरक्षित रहन आग्रह गरिन् । उनले फोनमा माता पिताको आशिर्वाद लिंदै गरेको तर आफु भने काममा रहेको तस्विर सार्वजनिक गरेकी थिइन् ।

प्रवासमा नेपालमा जस्तो दशैं नहुने भन्दै अधिकांश बेलायतवासी नेपालीहरु टिकाको दिनपनि काममा नै गएको पाइयो ।  कसैले काम सकिएर फुर्सतमा टिका थापे, कसैले आफैले आफैलाई टिका लगाएका फोटो सार्वजनिक गरेका थिए ।  गोर्खा ब्रिगेडको सातौँ बटालियनले पनि धुमधामसंग फूलपाती भित्र्याएको देखि टिकासम्म बिबिध कार्यक्रम गरेर दशैं मनाएका तस्विरहरु सार्वजनिक गरेको छ  ।

The Second Battalion, The Royal Gurkha Rifles celebrated ‘Phulpati’ on the seventh day of Dashain, over in Brunei.#dashain #gurkhas #britisharmy #Brunei pic.twitter.com/vtm2WH8ssh

— Gurkha Brigade (@Gurkha_Brigade) October 24, 2020

गैरआवासीय नेपाली संघ भूतपूर्व गोर्खा कार्यदलका संयोजक लेफ्टेनेन्ट चन्द्र गुरुङले असत्य माथि सत्यको विजयको रुपमा मानिने यो चाडमा सबै नेपालLले न्याय पाउन्, सबैमा खुसी, शान्ति र समृध्दि मिलोस्, भगवानका नाममा लाखौं पशुपन्छि माथि गरिने हत्याहिंसा  तुरुन्त रोकियोस् भन्दै परम्परा अनुसार टिका लगाएको परिवारको तस्विर फेसबुकमा सार्वजनिक गरेरै  शुभकामना ब्यक्त गरे ।

 बेलायतस्थित अर्का समाजसेवी राज श्रेष्ठले श्रीमतीको हातबाट टिका ग्रहण गरेको फोटो राखेर श्रीमानबाट मात्र टिका लगाउने श्रीमतीबाट लगाउन नहुने विभेदको अन्त्य हुनु पर्ने सन्देश दिएका छन्  ।

प्रवासमा एक्लै बस्ने विद्यार्थी तथा अत्यावश्यक सेवाकर्मीहरुले दशैंमा आफैले टीका  लगाएको सेल्फी, फोटो र भिडियो सार्वजनिक गर्दै सामाजिक संजाल मार्फत मातृभूमि  र बाल्यकालको दशैंको सम्झना गरेका छन्  ।

ad
ad