ad

वक्षस्थल

admin गोविन्द बेल्वासे
बुधबार, श्रावण २८ २०७७
image

यो निबन्धको प्रसंग वक्षस्थलका बीचको ठाउँ खाली छाडेर बायाँ हातका औलाहरू बाँया भागमा तलदेखि माथिसम्म सल्बलाउने र दायाँ हातका औलाहरू दायाँ तिर चल्मलाउने ब्यक्तिसंग छ । यसमा सिगमण्ड फ्रेउडको दुध चुस्ने बच्चा विषयक oral fixation विश्लेषणको समर्थन तथा उक्त सिद्धान्तका आलोचकको तर्कको समर्थन भन्दा बाहिरै रहेर छलफल गर्न खोजिएको छ । एलजीबीटी (Lesbian, Gay, Bisexual, Transgender/Transexual) समुदाय प्रति कुनै पूर्वाग्रह नराखी त्यस्तो ब्यक्ति पुरूष, महिला केही नभनी ब्यक्तिका रूपमा सम्बोधन गरेर सन्तुलन मिलाउने प्रयासका रूपमा पनि बुझ्न सकिन्छ ।

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमा वक्षस्थलको अर्थ दिइएको छैन । तर 'वक्ष' शब्दको अर्थ लगाउँदै वक्षस्थल शब्दको प्रयोग सिद्धिचरणको कवितामा प्रयोग भएको शब्दका रूपमा अर्थ्याइएको छ । वक्षको अर्थ भने छाती भनिएको छ । उनले उक्त शब्द प्रयोग गर्दै लेखेको

"तिम्रो शीतल वक्षस्थलमा,

यो कविको शैशवकाल बित्यो"

भनि गरेको प्रयोगलाइ नै आधार मानेको देख्दा वक्षस्थलको अर्थ मातृत्वसंग जोड्न खोजेको देखिन्छ । तर, वक्ष त पुरूष तथा अरू ब्यक्तिको पनि त हुन सक्छ । त्यस्तो वक्ष वरिपरिको छातीको भागलाइ नै वक्षस्थल भनेर बुझ्नु पर्ने हुन्छ । मान्छे बाहेकका स्तनपायीहरूको त्यो भागलाइ भने वक्षस्थल नभनेर कल्चौँडो/कचौँडो वा फाँचो भन्ने चलन छ ।

विवेचना

मूल विषय भने १६ वर्षका पेरेज र २१ वर्षका माथ्यू वेभेन नामका यूवाहरूले खेलाएको वक्षस्थलको वरिपरि विवेचना गर्ने प्रयास गरिएको छ । उनीहरूको वक्षस्थल प्रयोगको प्रसंगले निकै ठूलो चर्चा पाएको थियो । (The New York Times–1996/06/24)  उनीहरूका ती चर्तिकलाले गर्दा उनीहरूलाइ बेलायत सरकारले अमेरिकी सरकारलाइ सुपुर्दगी (Extradition) गरेको थियो । सन् १९९६ मा पक्राउ परेका उनीहरूलाइ अदालतले १८ महिनापछि सार्वजनिक सरोकारको विषय अव नरहेको भनेर छाडिदिएको थियो । उलविच क्राउन कोर्ट (यूएस) ले २१ नोभेम्बर १९९७ शुक्रवारका दिन उनीहरूलाइ छाड्ने आदेश गर्यो । उत्तर कोरियाका सैनिक दस्तावेज चोरी गरेका भनिएका ती वक्षस्थल खेलाडीहरूको क्रियाकलापले विश्वयुद्धको खतरा भएको भनेर लगाइएको आरोप भने अन्त्यमा अमेरिकी सरकारको अपब्याख्या प्रमाणित भयो । ती दस्तावेज उत्तर कोरियाको नभइ दक्षीण कोरियाको ठहरिए पछि अमेरिकी सेना तथा गुप्तचर संस्थाहरू पनि मुख थुनेर बसे । आखिरमा विषय भने सरकारी सुरक्षा सम्बन्धी कम्प्यूटरको काम प्राइभेट कम्पनीलाइ जिम्मा दिने चरणमा गएर टुङ्गियो ।

अहिलेको कोरोना भाइरस (कोभिड–१९) का विषयमा चीन र अमेरिका बीचका आरोप प्रत्यारोप र कन्स्पीरेसी सिद्धान्तमा युवा जगतले छलफल गर्नुका पछाडि अमेरिकी सरकारबाट घटाइएका यस्ता घटनाले उर्जा दिएको मान्न सकिन्छ । ती किशोरहरूले प्रयोग गरेको वक्षस्थलको विषय नै यो निबन्धको केन्द्र हो ।

कोरोना भ्याक्सिनका विषयमा ब्यापारिक योजना, झुठको खेल र दूरगामी त्रासको ब्यापार जस्ता योजनाका चर्चाहरू सवैभन्दा बढी युवा र  किशोरहरू बीचमा चलेको छ । गएको मे महिनामा गरिएको एक सर्वेक्षणमा अमेरिकाका बासिन्दा मध्ये ३१ प्रतिशत मानिसले कोभिड–१९ को भ्याक्सिन उपलब्ध भएमा आफूले लगाउने कि नलगाउने भन्ने दोधारमा रहेको बताएका थिए । एशोसिएट प्रेश (NORC Center for Public Affairs Research) ले गरेको उक्त सर्वेक्षणमा २५ प्रतिशतले त त्यस्तो भ्याक्सिन आफूले लगाउँदै नलगाउने बताएका थिए ।

अहिलेको परिस्थितिलाई  हेर्दा वक्षस्थल खेलाडी ती केटाहरूलाई वाहियातमा फसाउने खेल खेलिए जस्तै अर्को कडी हुँदै होइन भनेर पुष्टि गर्ने आधारहरू क्षीण रहेका छन् । त्यसैले पनि विश्व स्वास्थ्य संगठनलाइ कोभिड–१९ नियन्त्रण गर्न समस्या हुने जनाइएको छ । अहिले मात्र होइन यस्ता भ्याक्सिनका विषयमा हुने चर्चा परिचर्चा कोभिड–१९ अघि पनि चलिरहेकै हुन् । यस्ता शङ्का र आशङ्काका कारण सन् २०१९ मा विश्वका प्रमुख दश स्वास्थ्य संकटमध्ये एउटा संकट यस्तै भ्रमात्मक चर्चा–परिचर्चा रहेको डब्ल्यूएचओले नै घोषणा गरेको छ ।

छट्टु गोठालोकाे कथा

विश्वभरि फैलिरहेको कोभिड–१९ र यसैका कारण मृत्यू भैरहेको तथ्याङ्कलाइ केलाउँदा भने 'बाघ आयो भनेर छक्याउँदा, एक दिन साच्चै आएको' कथा चरितार्थ हुन पनि बेर छैन । एउटा छट्टु बाख्रो गोठालो जङ्गलबाट 'बाघ आयो, बाघ आयो' भन्दै कराएको सुनेर गाउँलेहरू उसको स्वर जताबाटआएको थियो त्यहाँ पुगे । तर, गोठालो केटाले ठट्टा गरेको भनेर गाउँलेलाइ छक्क पारेर पठाएछ । अर्को दिन पनि त्यसै गरी गाउँलेहरू फक्कैमा समय वर्वाद भयो भन्दै फर्किए । एक दिन सांच्चै बाघ आयो । त्यो केटो 'बाघ आयो, बाघ आयो' भन्दै करायो । तर, त्यस दिन गाउँले कोही पनि सहयोग गर्न गएनन् । फेरि पनि छक्याउन करायो भन्ठाने । परिणामस्वरूप बाघले बाख्रा र गोठालो दुवैलाइ मारेछ ।

दुनियाका चटकी सत्ता मालिकहरूले अठ्ठा पप्लु नपरोस भनेर खेल खेल्ने गर्छन् । त्यस्ता चटकहरू मध्येको चटक कुनै न कुनै दिन गोठालाको कथा जस्तै परिणाम बोकेर आउन पनि सक्छ । अठ्ठा पप्लु पर्न त सत्ता पल्टन पर्छ भन्ने विम्ब देखाउने मूल पात्र भने 'थाहा' अभियन्ता तथा प्रवर्तक रूपचन्द्र विष्ट हुन् । पञ्चायतको शासन हुँदा सत्ता पल्टाउने कुरा गर्न सम्भव थिएन । त्यसैले उनले मञ्चबाट अठ्ठा पप्लु पार्ने कुरा गरेका थिए । जसको अर्थ सत्ता पल्टनु पर्छ भन्ने लाग्छ भनेर बुझ्नेले बुझिहाले । उसबेलाका अरिङ्गालका झुण्ड भने झुक्किए । रूपचन्द्रको त्यो भनाइ विरूद्ध बोल्नै सकेनन् ।

मूल प्रसंगको वक्षस्थलको मेरो अनुभूति भने किशोर अवस्था तथा कलेज पढ्दाको समयबाट हुन्छ । शैशव कालको सितलता त सम्झना छैन । कल्पना गर्ने मात्र हो । तर, किशोर अवस्थाको अनुभूति रोमाञ्चक पनि छ । प्रसंग भने काठमाण्डूको पद्मकन्या क्याम्पस अगाडि एउटा टाइपिङ इन्स्टिच्यूट थियो त्यहीँबाट सुरू हुन्छ । विहानको कक्षा सकेर डेरामा पुगेर खाना खाएपछि रोमाञ्चक हुँदै हत्तपत्त म त्यो कोठामा पुग्थेँ । बाटामा र कलेजको गेटबाट छिर्ने र निस्कने गेरू वष्त्रधारीहरू जहिले जहाँ पुगे पनि मलाइ त्यो कोठामा पुग्नु थियो । त्यहीँबाट सुरू हुन्थ्यो वक्षस्थलको चर्तिकला । मलाइ बायाँ र दायाँ हात राखेको बीचको भागमा औँला राख्न अनुमति थिएन । अक्कलझुक्कल औँलाले त्यो बीचको भागमा छुनु वा घोँचिनुमा आपत्ति छैन भनिएको थियो । म पनि बताइएको नियम पुरै पालन गर्थेँ । लक्षमा पुग्न मैले नियम पालन गर्नै पर्छ भन्ने बुझेको थिएँ ।

मलाई रूपसंग मतलव थिएन । दायाँपट्टि निस्किएको दाह्रालाइ म धकेली दिन्थे । त्यसो गर्दा आवाज नै निस्किए पनि कहिल्यै आपत्ति भोग्न परेन । वक्षस्थलमा भने औँलाहरू खुवै चल्मलाउँथे । घोच्थें, रोमाञ्चक वातावरण रमाइलो लाग्थ्यो । समय वितेको थाहा नै हुन्थेन । तर, घर जाने बेला भै हाल्थ्यो ।

छ महिनापछि त्यो कोठाबाट सम्बन्ध टुट्यो । बाह्र वर्ष पछि खोला फर्कन्छ भन्छन् । त्यस्तै भयो । बाह्र वर्षपछि एउटी कलौटी भित्राइयो । लामो समय वितेकोले पुरानो रोमाञ्चक अनुभव विर्सिपनि सकेको रहेछु । तर, बीचको भाग छाडेर दायाँ र बायाँ भागमा मात्र औँला राख्न पाइने नियम भने पुरै सम्झिएको थिएँ । त्यो नियम भने खुवै काम लाग्यो । केही दिन त खुबै रमाइलो भयो । ती कलौटीसंग समय वितेको त थाहा नै नहुने । उनको चुलठी दायाँ हातले सुम्सुमाउँथे । यो नियम भने कडा थिएन । वायाँले चलाउने अप्सन त थियो । तर, म भने दायाँ हात बढि चल्ने हुनाले क्रसर चलाउने चुलठी पनि हल्लाइ दिन्थे । पुरानो पीके अगाडिकी रेमिङ्टन गाउन वालीको त चुल्ठो नै थिएन । कहिले काहीँ भावनामा बग्दा भने पहिले वालीको दाह्रो र पछिल्लीको चुल्ठो उस्तै मान्न पुग्थेँ । मनै त हो, कहिले काहीं बहकि पनि हाल्छ ।

भाइरसको हल्ला

उसबेला पनि भाइरसको खुवै हल्ला थियो । त्यसैले ती नेपालगञ्जवालीलाइ १७ हजार नेपाली रूपैँया खर्च गरेर ल्याएको थिएं । माया लाग्थ्यो । त्यसैले भाइरस र धुलोबाट बचाउन कपडाले ढाकेर राख्थे । भनौ घुघट औढाएर । तराइमा घुंघट ओढेर तथा ओढाएर बस्ने राख्ने चलन परम्परादेखि नै चलि आएको हुनाले अनौठो कुरो पनि भएन । मलाइ भने अरू कुराको भन्दा पनि उनलाइ भाइरस पो लागि हाल्छ कि भन्ने खुवै डर लाग्थ्यो ।

अहिले बैज्ञानिकहरूले कोभिड–१९ को भाइरसका विषयमा नबुझे जस्तै भाइरसको विषयमा उतिबेला मलाइ केही थाहा नै थिएन । हुन पनि जिल्ला भरि नै वक्षस्थलवाली कम्प्यूटर भित्राउने पहिलो वकिल थिएं म । वक्षस्थलवालीलाइ लाग्ने भाइरस कोभिडै हो कि अरू के हो मलाइ के थाहा !! भाइरस लागेर मरिहाले त वित्यासै पर्छ भन्ने डर त हो । अहिले भाइरसको जस्तो डर छ, उसबेला पनि उस्तै डर लागेको थियो । फरक अहिले आफूलाइ नै भाइरस लाग्ला भन्ने पिर छ उसवेला वक्षस्थलवालीलाइ लाग्ला भन्ने पिर थियो । पहिलाकी पीके अगाडिवालीलाइ भने भाइरसको डर भएको कहिल्यै थाहा पाइन । उनको इम्यून सिस्टम नै कडा भएर लाग्दै नलाग्ने भएर त होला । हुन पनि यो भाइरसको हल्लाले बन्दाबन्दीको अवस्था भोगेको जीवन मै पहिलो पटक न हो ।

अहिलेको यो भाइरसको हल्लामा सवै भन्दा ठूलो खेल भने नेपालका अदालतमा देखियो । मार्च २३ गते देखि यताका मुद्दा केलाउने हो भने सवै भन्दा बढी भाइरसका विषयमा भएका आदेश भएका छन् । रञ्जन कोइरालाका रोमान्चक फैसलाका विषयमा बरू परिचर्चा सुनिए, तर सार्वजनिक महत्वको विषय भनेर गरिएको कुर्सीको दुरूपयोग विषयमा बोल्ने कसैले हिम्मतै गरेनन् । सर्बोच्च अदालतको वेवसाइटमा कोभिड–१९ विषयका आदेश भनेर ४५ वटा राखिएका छन् । ती आदेश गर्ने न्यायाधीश मध्ये एउटा पनि चिकित्सा विज्ञान पढेका मान्छे हुँदै होइनन् । न त ती मध्यै कुनै एक पनि वैज्ञानिक नै छन् । नत उनीहरूले वैज्ञानिकहरूको राय मागेर बुझेका छन् । नेपालका कालोकोटवाला कानूनचीहरूले दुनियाका वैज्ञानिकहरूले नबुझेको र भ्याक्सिन पनि बनाउन नसकेको विषयका ज्ञाता भएर सार्वजनिक महत्वको विषय बनाएर माग गर्ने र चोचो मिलाएर आदेश दिने । झण्डै दुर्इ दिनमा एक आदेशका रूपमा कोभिड–१९ का आदेश । यही होला कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेको । अझ तल्ला तहका अदालतको फेहरिस्त त यी ४५ आदेश भित्र पर्दैनन् ।

कोभिड र आदेश

कोभिड विषयमा आदेश गर्दा सिमानामा थुनिएका नागरिक बचाउने आदेश गर्न नसक्ने अदालत छ। जनतन ढिलै पनि पस्न दिनु भन्ने आदेश गरेर नागरिक अधिकारका विषय उठान के गरेको थियो सरकारले पालन नै गरेन । झर्रो शब्दमा भन्दा धोती लगाइदियो ।

हो, यो भाइरसको खेल मैले नेपालगञ्जबाट किनेर ल्याएको कम्प्यूटरमा लाग्ला भनेर डराएर कपडाले ढाकेर राखेको थिए । वास्तवमा त्यो कम्प्यूटरमा लाग्ने भाइरस त किटाणु नै हैन रहेछ, कम्प्यूटरको बाइट्स तथा भाषा शब्द रहेछन् । पीके अगाडिका कोठामा की बोर्डका बीचका G - H अक्षर वारिपारि औँला विछाएर टाइपराइटरले कागजमा टाइप गर्ने चलनमा यो भाइरसको भूमिका नै रहेन छ ।

चिकित्साशाष्त्र र बिज्ञानको विषयलाइ दार्शनिक विषय बनाएर गरिएको समयको बर्वादी देख्दा वुद्धि विलासिता र जनसेवा बीचको फरक बुझे जस्तो लाग्दै छ । कम्प्यूटरको कि–बोर्डलाइ वक्षस्थल जसरि रोमाञ्चकारी खेल ठहराउनु हुँदैन । गम्भीर विषयमा बौद्धिक विलासिता गर्नु अदालतको जनविरोधी काम ठहरिने छ । रोग तथा भाइरसको विषय विज्ञान र चिकित्सा शाष्त्रको विषय हो, बोकाहा रिझाउने विषय होइन ।

माथि उल्लेख गरिएका विचरा वेभेन र पेरेजलाइ कम्प्यूटरको किबोर्ड स्कूलबाट घर पुगेपछि अविभावकसंग लुकीलुकी रातिराति खेलाएका थिए । अमेरिकी सरकारले सुरक्षा संयन्त्रका कम्प्यूटरमा उनीहरूले भाइरस पठाएर ह्याक गरेको भन्दै विलासिता देखायो । त्यहाँको अदालतले भाइरसको खेल सार्वजनिक महत्वको विषय होइन भनेको थियो । अहिले हाम्रा अदालतले भाइरसको खेललाइ वुद्धिविलासको खेल बनाएका छन् ।

अधिवक्ता बेल्वासे बेलायतको पिटरबरोमा बसोबास गर्छन्।

 

ad
ad
ad