घर फर्कंदै नेपाली, तर जानकार छैनन् सरकारी कार्यक्रमबारे

बिहीबार, श्रावण १ २०७७
image

लन्डन -- एउटा सर्वेक्षणले नेपाल सरकारले वैदेशिक रोजगारी गुमाएका कारण स्वदेश फर्कने नेपाली कामदारहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु घोषणा गरेको भए पनि प्रवासमा रहेकामध्ये ७० प्रतिशत कामदारलाई यसबारे जानकारी नै नरहेको देखाएको छ ।

एउटा गैर सरकारी संस्था, नेपाल पलिसी इन्स्टिच्युट, ले माइग्रेसन ल्याब नामक संस्थासंगको सहकार्यमा गरिएको सर्वेक्षणमा सहभागी २ प्रतिशतले मात्रै त्यस्ता योजनाको बारेमा थाहा भएको जनाए । सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले स्वदेश फर्केर केही उद्यम गर्न आफूहरूसँग पुँजीको अभाव रहेको बताए ।

कोभिड–१९ संक्रमणका कारण स्वदेश फर्किन चाहेकाहरुमध्ये झन्डै ८० प्रतिशत कामदारले नेपाल फर्केपछि कृषि वा गैरकृषि क्षेत्रमा स्वरोजगार बन्ने योजना रहेको बताए  । बाँकीले कृषि वा गैरकृषि क्षेत्रमा ज्यालादारी गर्ने योजना रहेको जनाए  ।

अध्ययनमा कतिपय कामदारहरुले चाहिं महँगो हवाइ भाडा, गुणस्तरहीन क्वारेन्टीन र त्यहाँ बस्दाको खर्च, नेपालमा जारी लकडाउनले गर्दा पनि स्वदेश फर्किन नचाहेको बताएका थिए ।

खाडीस्थित नेपाली दूतावासहरूमा मात्रै झन्डै एक लाख नेपाली श्रमिकहरुले स्वदेश फर्किनका लागि नाम टिपाएका छन्,  तर सरकारले अहिलेसम्म महँगो चार्टर्ड उडानहरुद्वारा झन्डै २५ हजार नेपालीलाई मात्रै स्वदेश भित्र्याएको छ।

नेपाल पलिसी इन्स्टिच्युट, का अध्यक्ष खगेन्द्र ढकालले बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेबिया, युएइ, मलेसिया र भारत गरि नेपाली श्रमिकहरुका आठ ओटा प्रमुख गन्तव्य मुलुकहरुमा रहेका ६०० भन्दा बढी कामदारहरुसंग कोभिड-१९ पछि उत्पन्न परिस्थितिबारे कुराकानी गरेर रिपोर्ट तयार पारिएको बताए।

इन्स्टिच्युटले सरकारी निकायसंग दर्ता न भै विदेश गएका तर उच्च जोखिममा रहेका नेपाली महिलाहरुलाई उद्धार गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ।  त्यस्तै स्वदेश फर्किएका नेपालीहरुसंग रहेको सामाजिक विप्रेषणको पहिचान गरी त्यसलाई  राष्ट्र निर्माणमा लगाउन उपयुक्त नीति तथा कार्यक्रम ल्याउन पनि सरकारलाई आग्रह गरेको छ।

 

सर्वेक्षणको पूर्ण विवरण यो लिंकमा गएर हेर्न सकिन्छ:  

https://nepalpolicyinstitute.org/releasing-the-report-of-rapid-assessment-on-the-impact-of-covid-19/