पोखरामा एक हातले सवारी चलाउँदै आएका थेबे, लकडाउनले खोसियो रोजिरोटी

बुधबार, जेष्ठ २८ २०७७
image

पोखरा । लकडाउनको मारले थिचेका एक प्रतिनिधि पात्र हुन् खेमराज थेबे । उनी सवारी चालक हुन्। त्यो पनि अपाङ्ग । अपाङ्ग भएर पनि उनले कहिले ट्याक्सी त कहिले माइक्रो चलाएर आफ्नो गुजारा चलाउँदै आएका थिए। तर लकडाउनले उनको पेसा मात्र हैन, रोजिरोटी पनि खोसेको छ। 

सवारी चलाएर आफ्नो पेट पाल्ने मात्र हैन पूरै परिवारको जिम्मा पनि उनकै थाप्लोमा छ। सवारी चलाएरै उनले ७ जनाको परिवार पाल्दै आएका थिए। तर लकडाउनले गर्दा उनले आफ्नो काम सञ्चालन गर्न पाएका छैन्। काम नभएपछि आम्दानी हुने त कुरै भएन।

अहिलेसम्म त पहिलेदेखि अलि अलि जोगाएर राखेको खर्चले उनको जीविका चल्यो। तर अझै लकडाउन खुलेको छैन। कोरोना संक्रमण झन् झन् बढ्दै गएको छ। कोरोना जतिजति बढ्दै जान्छ, भोलि कसरी परिवार पाल्ने भन्ने चिन्ताले उनलाई उति उति सताउँदै जान्छ।

उनी भन्छन्, “अपाङ्ग भए पनि अहिलेसम्म त राम्रैसँग परिवार पालेको थिएँ। तर अब पनि लकडाउन बढ्दै गयो भने रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ताले सताउँछ।“ ताप्लेजुङबाट पोखरा आएको पनि लामो समय भइसक्यो । यही बीचमा उनले पोखरामा एउटा सानो घर बनाएका छन्। तर स्थिर रोजगार नहुँदा उनको ऋण पनि छ। लकडाउनमा आम्दानीको बाटो रोकिंदा ऋणको किस्ता तिर्ने त कुरै छोडौँ, उनलाई खानै धौँ धौँ भएको छ।

“राहत माग्न जाउँ भने पोखराकै स्थानीय गाडी साहु भन्छन्, नजाउँ भने घरमा चुलो बाल्न गाह्रो छ। जति गाह्रो भएपनि अहिलेसम्म भने राहत लिन कतै गएको छैन। अझै लकडाउन लम्बिने हो भने त भोकैले मरिन्छ जस्तो छ,” थेबेले भने।

तोरीको मिलमा हात गुम्यो

विस २०५६ सालमा ताप्लेजुङमा तोरी पेल्ने मिलमा परेर खेमराजको एउटा हात गुम्यो। तोरी पेल्नका लागि अरुको मिलमा गएको बेला दायाँ हात गुमेको हो। कुइनादेखि तलको हात गुमाएपछि सपाङ्ग मान्छे अपाङ्ग बन्न पुगे। हात गुमेपछि उनको जीवनमा ठूलो बज्रपात पर्यो। तर उनले जीवनमा हार खाएनन्। हात गुमेपनि जीवन त गुमेको छैन नि भन्ने सोच मनमा आयो। त्यसपछि आफैले जानेको सीप ड्राइभिङ पेसालाई अङ्गाल्ने अठोट गरे। धन्न उनले हात गुमाउनु अगाडि नै चारपाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिइसकेका थिए। हातमा लाइसेन्स भएका कारण पनि उनलाई सवारी चलाएरै जीवनयापन गर्छु भन्ने हौसला मिल्यो। 

एक हातमा लाइसेन्स भएपनि अर्को हात नहुँदा उनले अरुको सवारी चलाउन पाउने त कुरै थिएन। त्यसको एउटै विकल्प थियो आफैले सवारी किन्ने र चलाउने। हात गुमाउनु अघि नै दुखले पोखरामा जोडेको सानो टुक्रा जग्गा बेचेर उनले ट्याक्सी किने । खेमराज एउटा हातले ट्याक्सी चलाउने सम्भवतः नेपालका एक मात्र ट्याक्सी चालक हुन्।

ट्याक्सी किनेपछि उनको दैनिकी राम्रैसँग चल्दै आएको थियो। १२, १३ वर्षसम्म ट्याक्सी चालक बनेर पूरै परिवार पाल्दै आएका उनले केही महिनाअघि मात्रै उक्त ट्याक्सी बेचे। ट्याक्सी बेचेर उनले माइक्रो चलाउने निर्णय गरे। भर्खरै माइक्रो किनेर चलाउन थालेका उनको माइक्रो किन्दाको खर्च नउठ्दै नेपालमा लकडाउन शुरु भयो। लकडाउनसँगै उनको रोजीरोटी पनि धरापमा परेको छ। माइक्रो किन्दाको बैँकको किस्ता एकातिर छ भने अर्को तिर परिवारको भार । लकडाउनसँगै उनका साथीहरु गाउँतिर हानिए। तर उनको परिवारै पोखरामा भएका कारण गाउँ जाने कुरै भएन। 

उनी भन्छन्, “अब पनि लकडाउन लम्बियो भने त यहाँ कसरी बस्नु र ? हिँडेरै भएपनि गाउँतिर जानुपर्ला।“ गाउँमा गएर पनि गुजारा चलाउन त उनलाई पक्कै सजिलो छैन। एउटा हात गुमाएका उनी गाडी चलाउन त बानी परिसकेका थिए। तर गाउँमा एउटा मात्रै हातले काम गर्न फेरि धेरै संघर्ष गर्नु पर्नेछ। 

हात गुमाउनु अघि बिहे

बिहे गरेको दुई वर्ष जस्तै भएको थियो। मिलमा परेर उनको दाँया हात गुम्यो। हात गुमेपनि परिवारको साथ र सहयोग उनलाई राम्रै मिल्यो। श्रीमती र आमाबाबुको माया, ममताका कारण उनले आत्मबल बलियो बनाए। आफूलाई सम्हाले र संघर्षमा जीउन सिके । ३ छोराछोरीका बाबु समेत बनेका थेबेले उनीहरुलाई पनि पढाइरहेका छन्।

उनी भन्छन्, “अहिले छोराछोरी सानै छन्, काम गर्ने उमेर भएकै छैन्। उनीहरुलाई पढाउँदा र परिवार चलाउँदा खर्च बढी छ। त्यसमा बैँकको ऋण पनि । काम गर्न नपाएपछि यी सबैको भार म एक्कैले कसरी थेग्ने ?”

धेरै संघसंस्थाबाट सम्मान

एक हातले ट्याक्सी चलाएर एक दशक बिताएका थेबेको परिचय नै फेरिएको छ । उनलाई पोखरामा प्राय: सबै सवारी चालकहरुले (किराँत) गुरु भनेर चिन्दछन् । ट्याक्सी चलाएर धेरै ठाउँ पुगेका उनलाई पोखराका विभिन्न संघसंस्थाले सम्मान पनि गरेका छन् । जीवनमा अपाङ्गता भएका र केही गर्न सकिन्न भन्नेहरुका लागि खेमराज एक उदाहरणीय पात्र हुन् । 

‘अपाङ्ग भएँ भनेर हात र मन बाँधेर नबस्नु’

आफुले एउटा हात गुमाएर पनि सवारी चलाउने पेसा अपनाएर जीवन चलाउँदै आएका थेबेले सबैले आफुले सकेको काम गर्नुपर्ने बताए । उनले भने, “कसैले पनि आफु अपाङ्ग भएँ भनेर हात बाँधेर बस्नु हुँदैन, आफुले जे सकिन्छ त्यही गर्नुपर्छ । आँट गर्यो भने केही न केही गर्न सकिन्छ । सक्ने काम गर्दा माया र सम्मान पनि पाइन्छ ।“  

ad
ad