ad

संसद् हल्लाउने एक्ला सांसद् सुवाल

शुक्रबार​, जेष्ठ ३० २०७७
image

काठमाडौँ । संसद्मा सबैभन्दा सक्रिय र जुनसुकै विषयमा बोल्ने सांसद् हुन् प्रेम सुवाल । उनी  प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका एकमात्र सदस्य हुन्। उनले संसद्मा उपस्थित नभएको र नबोलेको सायदै कमै विषय होलान्। नेमकिपाका एक्ला सांसद् भएपनि संसद्मा उनको उपस्थिति  सत्तारुढ दल  र प्रमुख प्रतिपक्षी दलको भन्दा कम छैन।

चाहे संसद्को शून्य समय होस् वा विशेष समय । उनले आफ्नो र पार्टीको धारणा कडा रुपमा राख्छन्। चाहे कैलालीको निर्मला हत्याकाण्ड होस् वा रुकुम पश्चिमको सामूहिक हत्याकाण्ड। उनले संसद्मार्फत सरकारलाई सधैं झक्झकाइ रहन्छन्। अझ राष्ट्रियताको सवालमा कुरा राख्नु पर्दा उनी खरो रुपमा प्रस्तुत हुन्छन्।

संसदमा बजेट माथिको छलफलमा उनले हरेक मंत्रीलाई  एमसीसी सम्झौता राष्ट्रघाती हो भन्दै कडा प्रश्नहरु गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्री हृदयेश त्रिपाठीले त जस्तोसुकै चियामा पनि तुलसीपत्ता राख्ने गाउँघरको चलनसंग तुलना गर्दै सुवालमाथि नै व्यंग्य गरे। तर सुवाल कत्ति पनि हच्किएको देखिंदैनन् । प्रतिनिधिसभामा सुवाल देशभरकै असन्तुष्ट पक्षको जनप्रतिनिधि जस्तै देखिन्छन् ।

सरकारलाई समर्थन पनि नगर्ने र सदाबहार प्रतिपक्षको भूमिकामा रहने सुवाल २०७४ सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ बाट भारी मतले निर्वाचित भएका थिए । त्यसअघि २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।

२०३४ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०३९ र २०४४ सालमा नगरपञ्चायतको वडाध्यक्षमा विजयी भएका थिए। त्यस्तै २०५४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका सुवाल अहिले प्रतिनिधिसभा सदस्य छन्।

मन्त्रीको राजीनामा माग

सांसद् सुवाल सरकारले गरेका कामकारवाही प्रति सन्तुष्ट छैनन्। देश विकासका काम एकातिर छन् भने सरकारको योजना अर्कोतिर । सरकारको यस्तो अवस्थादेखि  उनी चिन्तित छन्। उनले ग्लोबल नेप्लिजसँग कुरागर्दै भने, “अहिलेका मन्त्रीका कुरा सुनेर पनि उदेक लाग्छ। आफ्नो मन्त्रालयका योजना बजेटमा परेन भनेर गुनासो गर्छन्। आफ्नै मन्त्रालयको योजना बजेटमा पार्न नसक्ने मन्त्री किन कुर्सीमा बसिरहनु। त्यस्ता काम गर्न नसक्ने मन्त्रीले राजीनामा दिएर ठाउँ खाली गर्नुपर्छ।”

जनतालाई छलछाम गर्ने, एउटा कुरा भन्ने, अर्को व्यवहार गर्ने दुई जिब्रे मन्त्रीले काम गर्न सक्दैनन् भनेर जनताले बुझिसकेको भन्दै त्यस्ता व्यक्तिले नैतिकताका आधारमा पनि राजीनामा दिनु पर्ने उनको माग छ। “बजेटमा निजी  विद्यालयलाई सामुदायिक विद्यालयको सुधार गर्ने जिम्मेवारी  दिने भनिएको छ, तर यसमा शिक्षा मन्त्री नै असहमत छु भन्छन्," उनले भने, “आफ्नै मन्त्रालयको बजेटका बारेमा बेखबर र असहमत हुने मन्त्री किन मन्त्रालयमा बसिरहने ?”

आफ्नो मन्त्रालयको के काम आफूले गर्नुपर्छ भन्ने थाहै नहुने मन्त्रीबाट अरु  अपेक्षा गर्न नसकिने उनको तर्क छ। त्यसैले उनले  केही दिनअघि मात्रै ससद्मा एकै पटक ४ जना मन्त्रीको राजीनामा माग गरेका थिए।

१८ वर्ष माथिकालाई अनिवार्य सैनिक तालिम

केही दिनअघि मात्रै नेपाल मजदुर किसान पार्टीले १८ वर्ष पुगेका नागरिकहरुलाई अनिवार्य सैन्य तालिम दिने संवैधानिक व्यवस्थाको माग गर्दै संसद् सचिवालयमा गैरसरकारी विधेयकको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो। आत्मरक्षा, स्वास्थ्य र अनुशासनका लागि १८ वर्ष माथिका सबै नेपालीलाई अनिवार्य सैन्य तालिमको आवश्यकता रहेको सुवाल बताउँछन्।  

उनी भन्छन्, “सैनिक तालिम स्वास्थ्य, अनुशासनसँगै आत्मरक्षाका लागि पनि महत्वपूर्ण छ। १८ वर्ष माथिका सबैलाई अनिवार्य तालिमको व्यवस्था गर्दा उनीहरु स्वस्थ र अनुशासित त हुन्छन् नै, जहाँ गएर जे काम गर्न पनि सक्षम हुन्छन्। देश विकासका लागि यो निकै महत्वपूर्ण छ।”

संसद्मा सुवालले राख्छन् देशभरका नेता कार्यकर्ताको सुझाव

सुवाल नेमकिपाका एक्ला सांसद् भएपनि प्रतिनिधिसभामा उनले सिंगो पार्टीको प्रतिनिधित्व गरेका छन्। उनले संसद्मा जे बोल्छन्, आफ्नो भनाइ मात्र राख्दैनन्, देशभरका नेता कार्यकर्ताको सुझावलाई पनि समेटछन्। संसद्मा बोल्नका लागि उनको छुट्टै तयारी समूह भने छैन। उनलाई संसद्मा उठाउने विषयवस्तु र देशभर भएका घटनाका बारेमा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुले सुझाव पठाउने गर्दछन् । सुवालले तिनै सुझावलाई समेटेर संसद्मा प्रस्तुत गर्छन् ।

उनी भन्छन्, “संसद्मा तयारीका लागि मेरो कुनै समूह छैन्। देशभर रहेका नेता कार्यकर्ता नै मेरा समूह हुन्। म सबै नेता कार्यकर्ताको सुझाव सुन्छु र संसद्मा त्यही विषय राख्छु। यसले मलाई संसद्मा बोल्न निकै सहज भएको छ।”

किसान परिवारको जेठो छोरा

बाबुआमाका जेठा छोरा समेत रहेका सुवालका ४ दिदी बहिनी र दुई दाजुभाइ छन्। किसान परिवारमा जन्मिएका उनले सरकारी विद्यालयबाटै आफ्नो अध्ययन थालेका थिए। सुवालले व्यवस्थापन संकायमा शंकरदेव क्याम्पसबाट एमबीएस गरेका छन्। बाल्यकालमा भक्तपुरका फाँटहरुमा खेल्दै र दौडदै हुर्किएका सुवाल अहिले त्यही फाँटका जनताको जनप्रतिनिधि बनेका छन्। क्रान्तिकारी पार्टीको राजनीति गरेपनि मागी विवाह गरेका सुवालका अहिले दुई छोरा र एक छोरी छन्।

विजुक्छेको विरासत थामेका सुवाल

सुवालले पछिल्लो निर्वाचन अर्थात २०७५ सालको चुनावबाट पार्टी अध्यक्ष नारायणमान विजुक्छेको विरासत थामे। वि.सं. २०४८ सालको निर्वाचनदेखि विजुक्छेले भक्तपुर १ मा लगातार पाँच पटकसम्म चुनाव जित्दै आएका थिए। तर वि.सं. २०७५ सालको निर्वाचनदेखि अध्यक्ष विजुक्छेले नयाँ पुस्तालाई अवसर दिने भन्दै भक्तपुर १ मा प्रेम सुवाललाई आफ्नो उत्तराधिकारी बनाए। नेमकिपाको राम्रो पकड भएको भक्तपुरमा प्रेम सुवाल भारी मतले विजयी भए। वाम र लोकतान्त्रिक दलहरुले आ–आफ्नो गठबन्धन बनाएर चुनाव लडिरहँदा एक्लै निर्वाचनमा होमिएका सुवालले निकटतम प्रतिद्वन्द्वीलाई १५ हजार बढी मतअन्तरले हराएका थिए । अहिले बागमती प्रदेश सभामा नेपाल मजदुर किसान पार्टीका २ सांसद् रहेका छन् ।

चुनाव पैसा बाँड्ने र भोज खुवाउनेका लागि मात्रै

यसअघिका निर्वाचनमा देशका विभिन्न जिल्लाबाट जनप्रतिनिधि छानिएको नेमकिपा अहिले भक्तपुर जिल्ला त्यसमा पनि भक्तपुर एकमा मात्रै खुम्चिन पुगेको छ। अन्य जिल्लामा पार्टी बलियो नभएर प्रतिनिधि आउन नसकेको नभइ चुनावी परिपाटीका कारण आफ्नो दलले धेरै क्षेत्रमा विजय हासिल गर्न नसकेको सुवाल बताउँछन् ।

उनी भन्छन्, “नेपालमा चुनावको तरिका नै ठिक छैन । अहिलेको चुनाव भनेको पैसा बाँड्ने र भोज खुवाउनेका लागि मात्रै हो । सामान बाँड्ने, सामान्य सर्वसाधारण जनतालई भ्रममा राख्ने, सिद्धान्तको कुरै नगर्ने, घोषणापत्रमा आकर्षक योजना राख्ने सरकारमा गएर कामै नगर्ने परिपाटी छ । हामी सिद्धान्तमा राजनीति गर्ने पार्टीका योद्धा, हामी जनतालाई भ्रममा राख्न सक्दैनौँ, करोडौँको भोज र पैसा बाँड्न सक्दैनौँ त्यसैले हाम्रो चुनावी परिणाम कम देखिएको होला । तर हामी सैद्धान्तिक रुपमा सही छौँ ।”

नेपालमा गलत पार्टी र गलत नेता अगाडि भएको सुवालको तर्क छ । उनी यो हुनुमा बुद्धिजीवी र पढेलेखेका नागरिक पनि जिम्मेवार भएको ठान्छन् । जुन सत्तारुढ दल छ त्यसैको गुणगान गाउने, गलत कामलाई गलत भन्न नसक्ने प्रवृत्तिका कारण नेता र पार्टीहरु बिग्रिएको सुवालको बुझाइ छ ।

राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौँ

केही दिन अघि प्रतिनिधिसभाबाट परिमार्जित नेपालको नक्सा समेटिएको संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । यसमा सत्तारुढ दल र प्रतिपक्षी सबै दलले समर्थन जनाएका छन् । जुन दल र जुन सरकार भएपनि राष्ट्रियताको सवालमा झुक्न नहुने सुवाल बताउँछन् । उनी भन्छन्, “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै भूमि  हो । यसमा कुनै दुई मत छैन । ढिलै भएपनि सरकारले आँट गर्यो । हामी सँधै राष्ट्रियताको सवालमा सरकारसँगै छौँ र रहन्छौँ।”  

ad
ad
ad