लण्डन -- मनोक्रान्ति युकेका संयोजक नगेन्द्रराज नेम्बाङ्गले कोरोना महामारीसंगै अनलाइन जुम मार्फत योग साधना सिकाइ रहेका छन्। गएको २ दशकदेखि योग साधना गरिरहेका नेम्बाङ्गले पूर्वी नेपालको धरानमा जमिनमुनि खाल्डो खनी ९ दिन ९ रात भूतपस्या गरेर आफुलाई योग साधनामा खारेका थिए।
योगी विकासानन्दले शुरु गर्नु भएको मनोक्रान्ति योग साधना बेलायतमा निरन्तर फैलाई रहेका नरेन्द्र नेम्बाङ्गले डा. योगी बिकासनन्दको प्रत्यक्ष उपस्थितिमा योग सिविर पनि सम्पन्न गराई सकेका छन् ।
बेलायतमा ड्राइभिङ्ग स्कुल संचालन गरिरहेका नेम्वांगले योग साधनाले जीवनमा राम्रो प्रभाव पारेको र योगमा लागे देखि कुनै ठूलो शारीरिक समस्या भोग्नु नपरेको अनुभव ग्लोबल नेपालीलाई बताए।
महामारीसंगै डर, त्रास र मानसिक तनावमा समाजका सदस्यहरुलाई त्यस बाट मुक्त गर्न थोरै भएपनि केहि गर्न सकिन्छ कि भनेर अनलाइन योग कक्षाको सुरुवात गरेको उनी बताउंछन् ।
अनलाइन कक्षाबाट राम्रो प्रतिक्रिया पाएको र धेरै नयां साथीहरुले योग गर्न थाल्नु भएको उनले बताए। धेरैले लाभ लिनु भएकोकुरा फोन म्यासेजबाट बताइ राख्नु भएकोछ । यसबाट आफुलाई आत्मसन्तुष्टि मिलेको नेम्ब़ाङ्गले बताए ।
“यो महामारीमा योग गरेपछि हाम्रो इम्युन सिस्टम बलियो हुने, खाएको खाना पच्ने, निन्द्रा लाग्ने, शारीरिक तन्दुरुस्ती बढ्ने साथै मानसिक रुपमा पनि स्वस्थ रहन यसले मद्दत गर्ने हुँदा निरोगी रहन र रोगब्याधि बाट बच्न योग साधनाको महत्व बढीरहेको छ,” उनले भने ।
योगा अभ्यास अनलाइन भिडियो हेरेर पनि सिक्न सकिन्छ, तर प्रभावकारी हिसाबले सिक्नको लागि प्रत्यक्ष योग प्रशिक्षकबाट कम्तिमा पनि ३ साता सम्म सिक्न सके आफै पनि घरमा अभ्यास गर्न सकिने नेम्बांगको राय छ । योगका आफ्ना आफना स्टायल हुने र बिबिध आसनहरु हुने तिनलाई आफ्नो आवस्यकता अनुसार गर्न प्रशिक्षकबाट सिक्न उत्तम हुने उनि बताउंछन् ।
मनोक्रान्ति अभियान
“नेपालमा योगको क्रान्ति ल्याउन डा. योगी बिकासानन्दको अभियानले धेरै योगदान पुराएको छ । मनोक्रान्ति अभियानले प्रवासमा छरीएर रहेका नेपालीहरु माझ पनि योग, ध्यान र शारीरिक र मानसिक स्वास्थ्यका लागि ठुलो भूमिका खेलेको छ । फेसबुक संजाल, अनलाइन क्लासहरुले धेरै राम्रो गरेको छ । योगी बिकासानन्दको अभियानमा योग मात्र नभएर सफलता शास्त्र , सुपर लर्निङ्ग, रेकि ध्यान इत्यादी रहेको छ,” नेम्वांगले भने।
अन्तर्रास्ट्रिय योग दिवस (२१ जुन) को अवसरमा समुदायका सम्पूर्णलाई शुभकामना दिंदै निरन्तर योगमा लाग्न र आरोग्य प्राप्त गर्न रोग लागेपछि शारीरिक दुख पाउनु भन्दा रोग लाग्न नदिन नियमित निशुल्क रुपमा गर्न सकिने योगाभ्यास गरेर जीवनमा सबै भन्दा ठूलो धन स्वस्थ रहन उनी सुझाउंछन् ।