गरीबीको प्रेतयोनिबाट मुक्ति दिलाउने भगीरथको प्रतीक्षा

स्वामी आनन्द अरुण
शनिबार, जेष्ठ १७ २०७७
image

४० वर्ष पूर्व द्वारिका साधना शिविरमा ओशोसंग पहिलो व्यक्तिगत संवादमा उहांले भन्नुभएका दुई कुराको मलाई स्मरण छ, जो मेरो जीवनको मार्गदर्शन बन्न गयो र हजारौं व्यक्तिको जीवनमा परिवर्तनको सूत्रधार पनि ।

ओशोको पहिलो अभिव्यक्ति थियो – नेपाल ठूलो आध्यात्मिक संभावना बोकेको देश हो । तिमीले समर्पित भावले मेहनेत ग-यौ भने पूरै नेपालमा मेरो ध्यानको सन्देश र दर्शन फैलनेछ ।

दोस्रो, उहांले सोध्नुभयो, ‘तिमीलाई जीवनमा आनन्द के कुरामा आउंछ ?’ ‘नयां नयां ठाउंको यात्रा गर्नु मेरो सबैभन्दा रुचिकर विषय हो’ भनी मैले उत्तर दिएं। ओशोले हांस्दै भन्नुभयो, ‘तिमी साधना गरेर लायक बन्यौ भने मेरो सन्देश फैलाउन म तिमीलाई सारा संसार घुमाउंछु ।’

४० वर्ष पूर्व ओशोका यी अभिव्यक्तिमाथि विश्वास गर्ने मसंग न त कुनै आधार थियो न त कुनै आत्मविश्वास । यो कुरा अरुलाई सुनाउंदा अरु पनि हांस्थे ।

अध्ययन सकेर नेपाल फर्केपछि मैले इन्जिनियरिंगको पेशासंगै गुरुको आज्ञाअनुसार तहाचलस्थित आफ्नो सानो घरमै ध्यान केन्द्रको सुरुआत गरें । सुरुका वर्षमा बडो कठिन संघर्ष, तपस्या र विरोधको पर्खाल फोर्दै रोपिएको यो ओशो मुभमेन्टको बीउ आज हुर्किंदै नेपालबाट झागिएर भारत मात्रै होइन विश्वका अनेक महत्वपूर्ण देशमा आफ्नो शाखा प्रशाखा विस्तार गरिरहेको छ ।

ओशोको अर्को अभिव्यक्ति पनि त्यसरी नै फलीभूत हुंदैछ । सुरुका दिनमा नेपालका विभिन्न जिल्लामै ध्यानको प्रचारप्रसारका लागि मैले खुब भ्रमण गरें । यस प्रयासबाट नेपालका विभिन्न भागहरूमा ओशो ध्यान केन्द्रहरू स्थापित भए । आज तिनको संख्या ९० पुगेको छ । यही सिलसिलामा कन्या कुमारीदेखि केदारनाथसम्म र पञ्जाबदेखि आसामसम्म भारतका विभिन्न शहरहरूमा धेरैपटक भ्रमण गरें, सयकडौं ध्यान शिविर संचालन भए, ध्यान केन्द्र तथा आश्रमहरू खोलिए र हजारौंले दीक्षा लिए ।

विश्वको आध्यात्मिक मानचित्रमा ओशो तपोवन देखा पर्न थालेको छ । विश्वका ८० देशका साधकहरू यहां साधना सिक्न आइरहेका छन् । सन् १९९० मा ओशो तपोवनको स्थापनापछि यहां आउने विदेशी साधकहरूको आमन्त्रणले गर्दा हाम्रो यात्रा र कार्यक्षेत्र विश्वभरि फैलिंदो छ । वर्षको धेरै समय मैले विदेश यात्रामा बिताइरहनु परेको छ । यसै क्रममा हामी प्रत्येक वर्ष अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इङ्लेन्ड, इटली, हलेण्ड, स्वीट्जरलेण्ड, नर्वे,  रसिया, मलेसिया, सिंगापुर इत्यादि देशमा पुग्ने गरेका छौं । 

तापनि नयां–नयां मुलुकहरूबाट आइरहेका आमन्त्रण हामीले पूरा गर्न सकिरहेका छैनौं । यसरी ४० वर्ष पूर्व सामान्य झैं लाग्ने गुरुका ती अभिव्यक्तिहरूले ठोस मूर्तरुप लिइरहेका छन् । त्यो बेला मलाई के थाहा बुद्ध पुरुषको मुखबाट जे कुरा निस्कन्छन् ती ब्रह्मवाक्य नै हुन्छन् । मनको सीमाबाट मुक्त भई समष्टि चेतनासंग एक भइसकेको व्यक्तिबाट अस्तित्व नै बोल्दो रहेछ र उनका शब्दहरूलाई अस्तित्वले नै मूर्तरुप दिंदोरहेछ । त्यसकारण संसारका सबै धर्म र संस्कृतिहरूमा सच्चा र निःस्वार्थ साधु र जोगीहरूको आशीर्वाद लाग्ने आस्था त्यसै बसेको होइन ।

हाम्रो यात्राको उद्देश्य आध्यात्मिक भए पनि भ्रमणका सन्दर्भमा त्यस देशका विभिन्न विषयवस्तुहरू नियालेर अवलोकन गर्न पाइन्छ र उनीहरूको भौतिक प्रगतिको चमत्कार देख्न पाइन्छ । यसै क्रममा आफ्नो देशको अवस्था र दुर्गतिको टड्कारो बोध हुन थाल्छ ।

सुखद आश्चर्य

विदेश गएपछि त्यहां हरेक वर्ष देखिने प्रगतिले आफ्नो देशको यथास्थितिवाद र दिनौंदिन भइरहेको दुर्गतिले पिरोल्छ । फ्रान्समा प्रतिघण्टा ३०० किमी भन्दा तीव्र गतिमा दौडने टिजीभी ट्रेन चढ्दा एक सुखद आश्चर्य लाग्छ । तर त्यो संगै आफ्नो देशको जनकपुर जयनगर रेलवेको याद आउंछ जसले १८ माइलको यात्रा पुरा गर्न २१औं शताब्दीमा ३ घन्टा लगाउदा हांसो र पीडाको मिश्रित अनुभव हुन्छ । टिजीभीमा यात्रा गर्दा म कल्पना गर्छु मेचीदेखि महाकालीको यात्रा ३ घण्टामा पुरा गर्न सकिन्छ । काठमाण्डौबाट रक्सौल पुग्न एक घण्टा पनि लाग्दैन । ५० वर्ष पूर्व हाम्रै हाराहारीमा रहेका चीन र जापानले यो भन्दा पनि तीव्र गतिले चल्ने ट्रेन बनाइसके । भारतले पनि दिल्लीदेखि कोलकाता र मुम्बई ५ घण्टामा पुग्न सकिने ट्रेनको निर्माण योजना गर्दैछ ।

हाम्रो देशमा ५० वर्षदेखि सुन्दैआएको छु रेल चलाउने कुरा । दुनियांमा रेलवेको सन्जाल १९औं शताब्दीमै फैलिसकेको हो । यसमा हामी दुई शताब्दी पछाडि छौं । अहिलेको परिस्थितिमा प्रगतिप्रति कुनै उत्सुकता र आशा पनि देखिंदैन ।

विकसित देशका सर्वमान्य संस्कृति हुन् सफाइ, समयको अनुशासन तथा अरुको स्वतन्त्रताको सम्मान ।

संसारका महानगरहरूमा लाखौं गाडीहरू दौडिन्छन् । मस्को शहरमा मात्रै ६० लाख गाडी दौडिन्छन् । तर हर्न बजाएर कानै चिर्ने गरी आतंकित पार्ने कही चलन छैन । हामी कहां ट्रक, बस र सबै सवारी साधनले पनि थरिथरिका गीतको भाका बोकेका चट्यांगे हर्नहरू बजाउनु उनको अधिकार हो भन्ने रवाफ देखाउंछन् । हाम्रा संवेदनशीलता गुमाउंदै गएका यी गुरुजीहरूलाई यो ध्वनि अनुशासन सिकाउने कुनै टिकाउ प्रयासै हुंदैन । संसारभरि नै सडक दुघर्टनाहरूमा मानिसहरू हताहत हुन्छन् ,तर त्यही कारणले बाटो र बजार भने कहीं बन्द हुंदैन । 

फ्रान्स र स्विट्जरल्याण्डको ट्राफिक व्यवस्था देखेर म दंग परें । त्यहां साइकल चलाउनेले सडकमा प्राथमिकता पाउंछ । व्यक्तिको जीवनको त्यहां त्यति सम्मान छ कि बाटोमा साइकलवालाले पास नदिएसम्म सबै साधनहरू साइकलवालाको पछिपछि तांती लगाएर हिड्नुपर्ने रहेछ । त्यस्तो परिस्थितिमा साइकलवालालाई पेलपाल गरेर ओभरटेक गर्नु अपराध मानिन्छ । त्यहांको ट्राफिक व्यवस्थाको मैले मुक्तकण्ठले प्रशंसा गरेको देखेर फ्रेन्च मित्रहरूले मलाई सोधे, ‘तिमीहरू कहां नियम कानूनहरू कस्ता छन् ? मैले भनें, "नियम कानूनहरू हामी कहां पनि धेरै राम्रा छन् । फरक यति हो हामीकहां कोही पनि नियम कानूनमा बस्न मान्दैन ।’

विदेशमा बाटोघाटोदेखि सार्वजनिक शौचालयसम्म बडो सफा र व्यवस्थित राखिन्छन् । हामी कहां भने पीडा विमानस्थलबाटै सुरु हुन्छ । यत्रो कर र एयरपोर्ट शुल्क लिएर पनि पहिले त एयरपोर्टमा सामान बोक्ने ट्रलीकै खडेरी थियो । गैर आवासीय नेपालीहरूले यो समस्या देखेर आफ्नै तर्फबाट ट्रली उपलब्ध गराइदिएका छन् । अन्य समस्याहरू जहांको त्यहीं छन् । शौचालयमा कहिले पानी हुंदैन, कहिले साबुन हुंदैन, ट्वाइलेट पेपर हुंदैन, ड्रायर बिग्रिएको हुन्छ । यही देखेर एनआरएनका मित्रहरूलाई मैले ठट्टामा भन्ने गरेको छु, अब हाम्रो एयरपोर्टको शौचालयको व्यवस्थापन पनि गैरआवासीय नेपाली मित्रहरूले नै लिनुप-यो अनि मात्र यो अन्तर्राष्ट्रिय विमानस्थल भन्न सुहाउंछ ।

सबैभन्दा अपमानको बोध त्यति खेर हुन्छ जब अरु देशका मानिसहरू खुरुखरु गइरहेका हुन्छन्, तर नेपाली हरियो पासपोर्ट देख्ने बित्तिकै विदेशी अध्यागमन र भन्सारले नेपालीलाई अनावश्यक केरकार गर्न सुरु गर्छन् ।

आधा शताब्दी पूर्व हाम्रा छिमेकी र दुनियांका अधिकांश मुलुकहरूको आर्थिक र सामाजिक विकासको अवस्था हाम्रो जस्तै थियो । विगत केही वर्षहरूमा एशियाकै हाम्रै छिमेकी केही देशहरूका विकासप्रेमी नेताहरूको प्रयासले ती देशहरू अविकसित देशको श्रेणीबाट एकैचोटि विकसित मुलुकको स्तरमा फड्को मारिसके ।

चीनका देङ्ग स्याओ  पिंगले माओको कठोर साम्यवादलाई, लि क्वान युले मानव अधिकारका धारणालाई, मलेशियाका महाथीर मोहमदले इस्लामिक आकांक्षाहरूलाई, मनमोहन सिंहले भारतले वर्षौदेखि पेवा राखेको समाजवादलाई नेपथ्यमा थन्काई आर्थिक विकासलाई प्रमुख मुद्दा बनाई निरन्तर लागिरहे । अनेक विरोध खेपे तर खुट्टा कमाएनन् । आर्थिक प्रगतिका यी संवाहकहरूले आफ्नै देशका अनुदार यथास्थितिवादीबाट अनेक विरोध खेपे तर जनताले गरिबी र पछौटेपनबाट केही उन्मुक्ति र आर्थिक समृद्धिको सुख पाई सकेपछि यी सबै नेताहरूले देशमा मात्र इज्जत कमाएनन्, विश्व परिदृश्यमा आफ्नो नौलो र साहसिक पहिचान कायम गरे । सैद्धान्तिक र राजनीतिक विवादलाई थाति राखी तीव्र विकासका मौलिक मोडेलहरूको प्रयोग गरेर देशलाई प्रगतिको केही खुडकिलो चढाएपछि मात्र अरु कुरा निकाल्नुपर्छ भन्ने कुरा हामीले सिक्नैपर्छ ।

यी ५० वर्षमा हामीले विकासको सचेतन प्रयास गरेनौं । खाली राजनीति ग-यौं । आज पनि हाम्रा राजनेताहरूको भनाइ र व्यवहार हेर्ने हो भने विकास उनीहरूको प्राथमिकतामा पर्दैन । उनीहरूमा खाली अरुको खोट र गल्ती निकाली जनता उत्तेजित गर्ने, विकास र आर्थिक प्रगतिका लागि समय नखर्ची खाली सैद्धान्तिक मतभेदमै समय बिताउने बानी छ । 

नेपाल जस्तो प्रकृतिले सुन्दर र समृद्ध बनाएको देशलाई पनि गरीब बनाइ राख्ने राजनेताहरूको क्षमता देखेर विदेशीहरू छक्क पर्छन् । हामी गरिब कुनै आर्थिक संभावना नभएको भएर होइन, हामी गरीबीको दर्शनले डसिएका र गरीब मनोविज्ञानले पीडित छौं । हामी पनि समृद्ध हुन सक्छौं भन्ने हाम्रो ह्याउ नै टुटिसकेको छ । देश चलाउने नेताले समृद्ध नेपालको खाका कोर्नुको सट्टा सानातिना विषय लिएर मुस्किलले चलिरहेका कलकारखाना, उद्योग, यातायात बन्द गराउनमै आफ्नो पुरुषार्थ देख्छन्  ।

जसरी भगीरथले आफ्नो त्याग र तपश्चर्याले स्वर्गमा लुकेकी गंगालाई पृथ्वीमा उतारेर आफ्ना हजारौं पुर्खालाई मुक्ति दिए। त्यस्तै समृद्धिको गंगालाई नेपालमा उतारेर दरिद्रता, अपमान र आत्महीनताको यो दुष्चक्रमा फंसेका हामी २ करोड ८० लाख नेपालीलाई दरिद्रताको प्रेत योनिबाट मुक्ति दिलाउने भगीरथको पर्खाइमा नेपाल आमा छिन् ।

स्वामी अरुण नागार्जुन, काठमाडौंस्थित ओशो तपोवनका संस्थापक हुन् । यो लेख उनको "सन्त गाथा" पुस्तकबाट लिइएको हो । सं.

 

ad
ad