ad

कविता – ‘म क्वारेन्टाइनमा बस्न सक्दिन’

बुधबार, जेष्ठ ७ २०७७
image

कविता

‘म क्वारेन्टाइनमा बस्न सक्दिन’

म क्वारेन्टाइनमा बस्न सक्दिन
म बिपत्संग लड्छु
समस्यासंग जुध्छु
रोगसंग पैंठे जोरी खेल्छु
तर महोदय
भोकसँग लड्न सक्दिन
म क्वारेन्टाइनमा बस्न सक्दिन
मेरैसाथ मेरा बालबच्चाको पेट छ
बूढा बा आमाको पेट छ
जहानको पेट छ
सबैको पेटलाई त्रासले
आश्वासनले पुट्टा पार्न सक्दिन
त्यसैले सरकार म क्वारेन्टाइनमा बस्न सक्दिन।

एक दिनको पसिना
दुईछाकमा बेच्ने मान्छे
अब मलाई लठ्ठी नहान्नु
चौकी न लानु
म निस्कनु पर्छ सरकार
मैले तिम्रो आदेश मान्न सक्दिन ।

मेरो पेट त तिम्रो राहतको आशाले अघाउला
प्याकेज पाउने सोचमै अघाउला
बूढा बा-आमाको पेटमा त केहि दाना अन्न नै पर्नु पर्छ
राहत पाउन पनि
मतदातामा नाम छैन
वडाले चिन्न पनि
न कुनै कनेक्शन छ
न कुनै आफन्त
श्रीमान
मलाई कामको खोजीमा निस्कनु छ
बिरामी हुने त फुर्सदै छैन
सरकार
खोल्देउ लक्डाउन
म क्वारेन्टाइन बस्न सक्दिन

मैले परिवार हेर्नु छ
कोरोनाले त के गर्ला
भोकमरीले बच्चा
अनि, बूढा बा आमा लाला जस्तो छ ।

‘बैकुण्ठ बैभव’
बालुवाखानी, कपन काठमाडौँ

ad
ad
ad

अन्य

news

कविता – “आलु पुराण”

बुधबार, जेष्ठ ७ २०७७
news

ट्राफिक लेडीसँग एक घण्टा

बिहीबार, जेष्ठ ८ २०७७