ad

कविता – “आलु पुराण”

नारायण प्रसाद बराल/पोखरा
बुधबार, जेष्ठ ७ २०७७
image

कविता 

“आलु पुराण”

यो कवि मनको भाव, भावनाले बुझाउँछ ।
सुन्नुहोस् कविता आज, आलु पुराण् सुनाउँछ ।।१।।

उसिन्यो आलुको दाना, बोक्रा भने निकालियो ।
डोबेर नुन खुसार्नी, खाँदा कति मजा भयो ।।२।।

यो आलु सवको साथ, आलुमै सव मित्रता ।
तर्कारी सवमा मिल्ने, भेटिन्छ गुण एक ता ।।३।।

तर्कारी बन्नमा एक्लै, सामाथ्र्य राख्छ एसले ।
थपेमा आलुमा झोल, रसिलै दिन्छ एसले ।।४।।

सिलाम, अत्तसी, भाँगो, तोरी या तिलको फल ।
मिसाए छोप भूटेर, अचार बन्छ अब्बल ।।५।।

पाकेका आलुका टुक्रा, दही सँग मिसाउँदा ।
झानेर तेलले तेस्मा, मीठा–जिरा मिसाउँदा ।६।।

देख्दैमा रसना जाग्ने, अमिलो पनको तर ।
चुकौनी नाम तर्कारी, पाल्पामा बन्छ अब्बल ।।७।।

मसिना आलुका टुक्रा, तेल राखी पकाउँदा ।
भूजिया नाम तर्कारी, मिठो हुन्छ चपाउँदा ।।८।।

लामु लामु गरी आलु, काटेर तीन अंगुल ।
भूटियो तेलमा खासा, बन्छ यो आलु फिङ्गर ।।९।।

आलुका सँगमा जीरा, आलु–जिरा बनाउँछन् ।
आलुका टिकिया साथै, आलु पुरी बनाउँछन् ।।१०।।

आलुका पतला टुक्रा, काटी घाम सुकाउँछन् ।
फुरायो तेलमा फेरी, आलु चिप बनाउँछन् ।।११।।

पानीको पन सुक्नाले, हलुका हुन्छ ओजन ।
आलु चिप भयो यस्तो, सबैको प्रिय भोजन ।।१२।।

आलु र प्याजको साथ, पकौडा पनि बन्दछ ।
आलुको ममको साथैऽ समोसा पनि बन्दछ ।।१३।।

यी भए आलुका यस्ता, मूल रुप प्रयोजन ।
तर्कारी अरु नै किन्तु, आलु थप्ने प्रयोजन ।।१४।।

बन्दा वा फूलकोपी वा,साग सिमी पकाउँदा ।
करेला, बरेला,काँक्रा, भेण्टा, भिण्डी, पकाउँदा ।।१५।।

चना मटरका कोसा,च्याऊ पनिर् पकाउँदा ।
कुरिलो, निउरो, टूसो, हुन्छ आलु मिसाउँदा ।।१६।।

सुकेको कर्कलो गावा, सुकेके सागमा तर ।
अमिलो छ भने गुन्द्रुक् आलुमा बन्छ जब्बर ।।१७।।

केराऊ, भटमास् बोडी,चना वा राजमा फल ।
यिनमा मिसिए आलु, तर्कारी बन्छ अब्बल ।।१८।।

फर्सीको लहरा, लौका, चिचिण्डो अनि ईस्कुस ।
यिनमा आलुको मात्रा, “खाजाको रुप विस्कुट” ।।१९।।

नेपाली घरमा मिल्ने, मस्यौरा सँगको रस ।
मस्यौरा आलुको झोल, भान्सामा बन्छ अद्भुत ।।२०।।

तामा वा कर्कलो जस्तो, आलुको हुन्न औजस ।
तर्कारीमा मिसे आलु, मिल्ने छ घरमा जस ।।२१।।

शित वा सम–शीतोष्ण, उष्णमा पनि फल्दछ ।
जहाँ देख्यो त्यही राम्रो, असाध्य फल लाग्दछ ।२२।।

खाध्यका रुपमा हामी, ऐले छौ पर–निर्भर ।
आलुनै मात्र होस् किन्तु, बन्नु छ आत्म निर्भर ।।२३।।
ईति ।

कवि नारायण प्रसाद बराल – लाली गुराँसटोल, पोखरा

ad
ad
ad