लन्डन -- झन्डै ७४ वर्ष अघि श्री ३ महाराजा पद्म शमशेरले देशवासीहरुलाई धूमपान नगर्न अनुरोध गर्दै एउटा संदेश प्रकाशित गरेका थिए।
उक्त संदेशमा उनले चुरोटको आयात गर्न मुलुकबाट वर्षेनी ५०-६० लाख रुपियाँ बाहिरिने गरेको र मानिसहरुले चुरोट पिउन छाडेमा त्यो रकम जोगाउन सकिने उल्लेख गरेका थिए।
रमाइलो कुरा त महाराजा पद्म शमशेर आफैले दिनमा ५०-६० खिल्ली चुरोट तान्दा रहेछन् । आफ्नो संदेशमा उनले भने, "पहिले म पनि प्रति दिन ५०-६० ओटा चुरोट खान्थें । मैले चुरोट छोडी दिएको तीन वर्ष भयो । त्यस पछि मैले बराबर तमाखु मात्र खाने गरेको छु।“
तर चिकित्सकहरुले चुरोट मात्रै हैन, तमाखु, गुटका जस्ता सबै सूर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक भएको बताउंदै आएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार सूर्तीजन्य पदार्थको प्रयोगले गर्दा मुटु, फोक्सो, क्यान्सर, मधुमेह, उच्च रक्त चाप जस्ता रोग हुने र त्यसबाट वर्षेनी ८० लाख मानिसहरुको ज्यान जाने गरेको जनाएको छ ।
त्यस्तै विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानका कारण नेपालमा वर्षेनी २७,००० जना भन्दा बढीको ज्यान जाने गरेको छ।
विश्व धूमपान विरोधी दिवस
आज ३१ मे -- विश्व धूमपान विरोधी दिवस। कोरोना भाइरसको संक्रमणबाट बच्न अधिकांश विश्व लकडाउनमा रहेका बेला विश्व स्वास्थ्य संगठनले धूमपान नगर्न वा धूमपान गरिरहेकालाई धूमपान त्याग्न अपील गरेको छ। यो वर्ष उसले धूमपान दिवसका अवसरमा खास गरी ठूला चुरोट उत्पादक कम्पनीहरुले चुरोट पिउन किशोर किशोरी र युवाहरुलाई प्रोत्साहित गरिरहेको भन्दै यसको खराबीकाबारे अभियान चलाउने जनाएको छ।
हुन पनि “धूमपानले लिन्छ ज्यान” भन्ने वैज्ञानिकरुपमै प्रमाणित भै सकेकाले पनि महाराजा पद्म शमशेरले भने झैँ छाड्ने हैन त चूरोट पिउने बानी ?
(फोटो सौजन्य: पत्रकार सुशील गौतमको फेसबुकवालबाट)