ad

नेपालमा थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

सोमबार, जेष्ठ ५ २०७७
image

काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

सोमबार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

मन्त्रालयका अनुसार, बाँकेमा ४६ जना पुरुष र एक महिला गरी ४७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसैगरी, मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना र रौतहट, दाङ र धादिङका एक–एक जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सबै १८ देखि ४६ वर्ष उमेर समूहका रहेको पनि मन्त्रालयले जनाएको छ । यसअघि, सोमबार बिहान पनि ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो । 

पछिल्ला केही दिनदेखि कोरोनाको संक्रमण बढेको नेपालमा संक्रमितमध्ये ३६ जना उपचारपछि घर फर्किसकेका छन् । संक्रमित मध्ये (एक महिला र एक युवक) गरी दुई जनाको ज्यान गएको छ।  

ad
ad ad