ad

कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

आइतबार​, जेष्ठ ४ २०७७
image

काठमाडौँ-- बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।

मृतक युवक वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएका उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको स्वाब परीक्षणको  रिपोर्ट पोजिटिभ आएको छ । ‘यसबारे थप विवरण आउन बाँकी छ । अहिलेलाई हाम्रो देशमा दुईवटा निधन कोभिड–१९ कै कारण भएको पुष्टि भएको छ’, मन्त्रालयका प्रवक्ता देवकोटाले भने । 

बाँकेको नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसेका दुई सय ६३ जनाको स्वाब शनिबार संकलन गरिएको थियो । मृतकका आफन्तले समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको बताएका छन् । कोरोनाकै कारण नरैनापुरमा युवकको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ नेपाली सेनालाईसमेत सुरक्षामा खटाइएको छ । उनको शवसमेत अहिले क्वारेन्टाइनमै रहेको छ । शव व्यवस्थापनकाे विषयमा छलफल भइरहेको बताइएको छ ।

 

ad
ad ad