लकडाउनमा बेलायतबाट लाइभ गीतसंगीत पस्कंदै गायक सपन राई

बुधबार, जेष्ठ १४ २०७७
image

लन्डन --  कोरोन महामारी फैलनबाट रोक्न सरकरले नै  ‘स्टे एट होम’ (घर मै बस्नोस्) भन्ने निर्देशन दिए पछि तपाईं हामी मध्ये धेरै आ-आफ्नै घरमै सीमित रह्यौं। सामाजिक भेला, भेटघाट गरि रहनु पर्ने नेपाली समुदायलाई घरमै समय बिताउन गाह्रो पनि भयो । यस्तो परिस्थितिमा पनि लाइभ गीत संगीतको माध्यमबाट दर्शक, श्रोताहरुलाई  मनोरंजन दिलाउन अगाडी आए बेलायतका चर्चित नेपाली कलाकारहरु ।

दैनिक लाइभ आएर अन डीमाण्ड गीतसंगीत प्रस्तुत गर्ने गायकहरुमा सपन राई, शर्मिला बर्देवा, दिपक थापा लगायतका कलाकारहरु छन् ।

नियमित रुपमा लाइभ गीत संगीतले मनोरंजन दिईरहेका सपन राईले कोभिड १९ ले घरमा बसीबसी डिप्रेसन नहोस्, दर्शक, श्रोताको जीवनमा आनन्दको आभास होस् भन्ने उदेश्यले आफुले लाइभ  गरिरहेको  बताए ।

लन्डन नजिकै फार्नबरोमा बसोबास गर्ने सपनले २७ र २८ मार्चमा पहिलो पटक अनलाइन गरेपछि प्रत्येक हप्ता आइतबार लाइभ गर्ने योजना थियो । २ साता सम्म हरेक दिन लाइभ पनि गरे   । लक डाउन अलि कम भएपछि फेरी सातामा एकपटक लाइभ आउने गरेको बताए ।   सपनले हालसम्म झन्डै ४५ घण्टा दर्शक, स्रोताहरुको माग अनुसार ३५० जति नेपाली तथा हिन्दी गीत गाईसकेको  बताए ।  यसरी लाइभ गर्दा संसार भरिबाट हेरेर मनोरंजन मिलेको भन्दै दर्शक, श्रोताले  धन्यवाद दिने गरेका छन्।  यसले आफुलाई पुण्य मिलेको आभास हुने राई बताउंछन् ।

नेपाली समुदायलाई लाइभ संगीतबाट मनोरंजन दिलाउनुको अलावा जुम मार्फत इन्डियन समुदायमा व्यावसायिक गायन, बर्थ डे एनिभर्सरी लगायतमा गीत, संगीतको माग आउने गरेकोले पनि आफु ब्यस्त रहेको सपनले बताए  ।

सपनको सपना

काठमाडौँ, महाराजगन्जमा हुर्किएका सपन १९८९ मा  १९ बर्षको कलिलो उमेरमा बेलायत आएपछि आफ्नो हृदयको आवाजलाई सुन्दै जाँदा गीत सांगीतिक मोहले १९९३ देखि गाउन र कार्यक्रमहरु गर्न थाले । बेलायतको परिपक्व  समाज र स्रोताहरुसंगको निरन्तरको भलाकुसारीले संगीतमा  व्यावसायिक यात्रा सुरु गर्न सफल भए उनी  । यसै क्रममा वरिष्ठ  संगीतकार शिला बहादुर मुक्तानसंग संगीतको तालिम लिएर खारिने काम पनि गरे । तर सानो नेपाली समुदाय माझ गीत संगीतको पेशाले टिक्न गाह्रो थियो।

भारतीय संस्कार र गीत संगीतको बजारसंगै नेपाली गीत संगीतलाई पनि जोडेर पस्किंदै आफ्नो व्यावसायिक बाटो पहिल्याउन सफल भएको आफ्नो लामो अनुभव ग्लोबल नेप्लिजसंग साटदै सपनले बताए ।  प्रवासमा गीत संगीतलाई नै पेशा बनाएर सकृय जीवन बिताई रहेका नेपालीमा सायद सपन राई नै पहिलो व्यक्ति हुन् । प्रवासको सानो समुदायमा पूर्णकाल ब्यावसायिक रुपमा नै रहेर टिक्न चानचुने कुरा छैन, राईले भने ।

राईले हाल सम्म २० भन्दा बढी नेपाली गीतहरु रेकर्ड गरिसकेका छन् । पाश्चात्य -याप गीतलाई जोडेर सन् २००० मा एक गीत रेकर्ड गरेर -याप र नेपाली फ्युजन गर्ने पहिलो नेपाली आफु नै भएको राईको दावी छ ।

राईका धेरै उत्कृस्ट गीतहरु मध्ये किरण खरेलका शब्दहरुले भरिएको “पिरतीको उमेर हुन्न, जात हुन्न” भन्ने गीत धेरै रुचाइएको छ । उक्त गीतमा प्रसिद्द संगीतकार सचिन सिंहको संगीत रहेको छ । 

सपनले हाल सम्म १०० भन्दा बढी नेपाली कलाकारहरुलाई बेलायतमा ल्याएर नेपाली गीत संगीतको सिमाना बढाएका छन् भने कला र संगीतको ब्यावसायिकरणमा ठूलो योगदान गरेका छन् ।  कानुनी रुपमा नै कारोबार गर्ने उनको सपन इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट, साउण्ड सिस्टम लगायतका सेवा पनि उपलब्ध गराउने गर्दछ ।

आफु र श्रीमती मन्जु मिलेर आफुले सकेको, जानेको कुरा समुदायमा सहयोग गर्न पाउँदा सधै खुशी र आनन्द महसुस गर्ने गरेको  र यसरी समाज र समुदायको सेवा गरेर सबै संग दुखसुख साटेर बाँच्नमा नै जीवनको आनन्द महसुस हुने राई बताउंछन् ।  क्यान्सर रोगलाई परास्त गरेर नव जीवन पाएकी राईकी श्रीमती मन्जु हाल कोरोना पीडितहरुलाई सेवा गर्न एनएचएसको फ्रन्ट लाइनमा सेवारत छिन् ।

ad
ad