ad

भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा दुई अर्बको ठेक्का रद्द

सोमबार, जेष्ठ ५ २०७७
image

काठमाडौँ । बन्दाबन्दी (लकडाउन) का कारण भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ। दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि गरिएको रु दुई अर्बको टेण्डर रद्द भएको हो। 

पाँचवटा कम्पनी प्रतिष्पर्धामा इच्छुक भए पनि बन्दाबन्दीका कारण काम हुने सम्भावना नदेखेपछि जलस्रोत तथा सिँचाइ विभागले उक्त टेण्डर रद्द गरेको जनाइएको छ।

आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले बन्दाबन्दीका कारण काम नहुने तर ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने भएकाले ठेक्का रद्द भएको जानकारी दिए ।

“अहिले सिभिल निर्माणको काम भइरहेको छ, हाइड्रोमेकानिकलको काम पनि सँगसँगै हुनुपर्ने हो”, उनले भने, “लकडाउनले गर्दा सिभिलको काम पनि सोचेजस्तो गतिमा हुन सकेको छैन, बर्खा अघि सक्नुपर्ने महत्वपूर्ण काममात्र भइरहेको छ, लकडाउनले हाइड्रोमेकानिकलको कामलाई असर पार्ने देखियो।”

सम्झौता हुँदा ठेकेदारले काम नभए पनि क्षतिपूर्ति दाबी गर्ने भएकाले राज्यलाई अनावश्यक आर्थिक दायित्व पर्न नदिन ठेक्का रद्द गरिएको उनको भनाइ छ। 

विसं २०७६ साउनदेखि आयोजनाको दोस्रो चरणका काम शुरु गरिएको थियो। दोस्रो चरणअन्तर्गत हेडवक्र्स, सर्जसाफ्ट, पेनस्टकलगायत बाँध (ड्याम) र विद्युत् गृह (पावर हाउस) निर्माणका कार्यहरु पर्छन्। 

हाइड्रोमेकानिकलसम्बन्धी दुई ठूला ठेक्का रद्द भएपछि आयोजनाको काम लम्बिने भएको छ। सूचना अधिकारी उपाध्यायले ८–९ महिनादेखि तयारी गरिएको काम रद्द भएपछि निर्माण अवधि लम्बिने निश्चित भएको बताए।

चार वर्षभित्र निर्माण पूरा गर्न आयोजना व्यवस्थापनलाई कठिन हुने उनले बताए। बाँधस्थलमा पुलसहितको ६ वटा गेट र पेनस्टक पाइप निर्माणका लागि गरिएको टेण्डर रद्द भएपछि पुनः लागत मूल्याङ्कन गरेर टेण्डर गर्न समय लाग्नेछ। 

ad
ad
ad