लकडाउन पछि सुनसान लुम्बिनी !

बिहीबार, जेष्ठ ८ २०७७
image

लुम्बिनी ।  पर्यटकको मुख्य आकर्षण केन्द्र मानिने लुम्बिनीमा लकडाउनपछि पर्यटकको चहलपल शून्यप्रायः भएको छ ।

मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति स्तूपा, सेन्टर क्यानल, ग्रेट लोटस स्तुपा विभिन्न देशका नामका स्तुपालगायत क्षेत्रहरु अहिले सुनसान भएको लुम्बिनी बिकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म १५ लाख ५८ हजार पर्यटकको आगमन भएको लुम्बिनीमा यो सिजनमा लगभग १ लाख भन्दा बढी पर्यटक आउने गरिएको थियो । पर्यटकीय चहलप नभएपनि यस क्षेत्रमा आश्रित परिवारको दैनिकी कठिन भएको छ ।

पर्यटनसँग जोडिएर १ सय २० होटल, ३० ट्राभल, १ सय ६० रिक्सा र १ सय ९० हेन्डिक्राफ्टका पसलहरु लुम्बिनी क्षेत्रमा चल्दै आएकामा ती प्रभावित भएको लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन कुमार श्रेष्ठले बताए।

गुम्बाहरुमा बस्ने बुद्ध धर्म गुरुहरुले भने विश्वशान्तिका कामनासहित कोरोना भाइरसको त्रासको अन्त्यका लागि दैनिक पूजा पाठ र ध्यान गरिरहेको स्थनीय पत्रकार प्रल्हाद यादवले बताए । सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी अहिले संसारभरका बुद्धधर्मालम्बीको आस्थाको केन्द्र बनेको छ ।

लुम्बिनीसँग जोडिएका बुद्धको शाक्यवंश ऐतिहासिक दरबार तिलौराकोट, कपिलवस्तु, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, बुद्धको अस्तुधातु रहेको रामग्राम, बुद्धको मावली देवदह, क्रकुन्छन्ट बुद्धको जन्मस्थल गोटिहवामा कुनै चहलपहल छैन । 

ad
ad